१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पर्यटक लोभ्याउँदै झोलुंगे पुल

प्रत्येक शनिबार र नयाँ वर्षमा नुनथर क्षेत्रमा ठूलो संख्यामा भारतीय पर्यटक घुम्न आउँछन् । यहाँ आउने पर्यटकको रूचि मोटरबोटमा जलयात्रा गर्ने र बागमतीमाथिको झोलुंगे पुलमा सेल्फी खिच्ने हुन्छ
शिव पुरी

रौतहट — भारतको बैरगनियाका सोनुकुमार सिंह शनिबार बेलुकी वाग्मतीको नुनथरमा रहेको झोलुंगे पुलमाथि बसेर सेल्फी लिंदै थिए । उनले पहिलो पटक यस्तो पुल देखेका हुन् । पुलबाट तल र वरपरका मनमोहक दृश्य देखेपछि उनी लोभिए । केही समययता यो पुलले पर्यटकलाई लोभ्याउन थालेको छ।

पर्यटक लोभ्याउँदै झोलुंगे पुल

पहाडको भौगोलिक बनोटलाई मध्यनजर गरेर चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथरमा निर्माण गरिएको झोलुंगे पुल पर्यटक लोभ्याउने माध्यम बनेको छ ।

भारतीय पर्यटक सिंह साथीसँग रौतहट घुम्न आएका हुन् । प्रत्येक शनिबार नुनथर क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्छ । उनीहरू रौतहट, सर्लाही जोड्ने झोलुंगे पुलमाथि बसेर सेल्फी लिन रुचाउँछन् । ‘यस्तो रमणीय ठाउँ र झोलङे पुल पहिलो पटक देखेको हुँ,’ सिंहले भने, ‘पुलले साँच्चिकै सबैको मन लोभ्याएको छ ।

यत्तिको रमाइलो पुल भारतीय सीमाक्षेत्रमा छैन ।’ साताको शनिबार र नयाँ वर्षमा यहाँ ठूलो संख्यामा भारतीय घुम्न आउँछन् । उनीहरू नुनथर पुग्नासाथ पुलमाथि चढ्छन् र तस्बिर लिन तँछाड मछाड गर्छन् । पुलबाट वरपर रमाइलो दृश्य देख्न सकिन्छ ।

पूर्वपश्चिम राजमार्गबाट झन्डै डेढ किलोमिटर पहाडी क्षेत्रमा तीन वर्षअघि झोलुंगे पुल निर्माण गरिएको हो । यसले पर्यटकलाई निकै लोभ्याएको छ । पर्यटकीय स्थल जोड्ने उद्देश्यले वाग्मतीमा पुल निर्माण गरिएको नुथर विकास क्षेत्रका अध्यक्ष एवम् सभासद रामकुमार भट्टराईले बताए । ‘पुलले पर्यटकलाई लोभ्याउन थालेको छ ।


यहाँ आउने पर्यटक सबैभन्दा पहिले पुलमै पुग्छन्,’ उनले भने, ‘चारैतिर पहाड र चुरेक्षेत्र भएकाले धार्मिक तथा पर्यटकीय रूपमा विकसित हुँदै गएको छ ।’ नुनथरमा पर्यटकलाई घुमाउन मोटरबोट राखेपछि झनै भीड बढेको अध्यक्ष भट्टराईले सुनाए । अहिले त्यस क्षेत्रमा मोटरबोटले पर्यटकलाई जलयात्रा गराउँछ ।

धार्मिक तथा पर्यटकीय स्थल भएकाले नुनथर घुम्न आउनेको आकर्षणको केन्द्र बन्दै आएको छ । चन्द्रपुरकै गैंडाटारको चाँदी नदी, रतौली खोला र फूलबारीस्थित हर्दिया खोला, मिठुअवास्थित झांझ खोला र गुजरा नगरपालिकाको कनकपुरस्थित सिम्रीटोलको धन्सार खोलामा झोलुंगे पुल निर्माणको चरणमा रहेको छ । स्थानीय विकास मन्त्रालयको सहयोगमा तत्कालीन जिल्ला विकास समितिमार्फत पुलहरू निर्माण भएका हुन् ।


पछिल्लो समय तराई/मधेसका जिल्लामा झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको छ । तराईको बारा, पर्सा र रौतहट जिल्लामा झोलुङ्गे पुलको संख्या बढ्दै गएको छ । झोलुंगे पुल भन्नासाथ पहाडलाई मात्रै सम्झिन्थ्यो ।

अहिले मधेसका नदीमा पनि यस्ता पुलहरू निर्माण हुन थालेका छन् । यस्ता पुलहरू आकर्षण बनेका छन् । प्रदेश २ को रौतहट, बारा, पर्सा, सर्लाहीलगायतको जिल्लामा पछिल्ला वर्षमा झोलुंगे पुल निर्माणले आवतजावतमा सहजता ल्याएको छ । यो निकै आकर्षण बनेको छ । लागत कम र निर्माण कार्य चाँडै सम्पन्न हुने हुँदा सररकारले यस्ता पुल निर्माणलाई प्राथमिकता दिइएको हो ।


बृन्दावन नगरपालिका–२ स्थित परसौनी र बलरी गाउँको बीच सिमानामा पर्ने चादी नदीमा झोलुंगे पुल निर्माण गरिएको छ । अहिले त्यस भेगका स्थानीयलाई आवतजावतमा सहज भएको छ । यस्ता पुलहरूमा साँझपख सेल्फी लिनेको भीड लाग्छ ।

प्रकाशित : श्रावण २९, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?