कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अतिक्रमण हटाएर वृक्षरोपण

भूषण यादव

वीरगन्ज — लामो समयदेखि अतिक्रमणमा रहेको २७ हेक्टर वनको जग्गामा वृक्षरोपण गरिएको छ  । पर्साको सवैया साझेदारी वन व्यवस्थापन समूहले स्थानीयबाट अतिक्रमित जग्गा खाली गराई खयर, मसला, टिक, सिमल, सिसो, जामुन, अम्रिसो प्रजातिको बिरुवा लगाएको हो  ।

अतिक्रमण हटाएर वृक्षरोपण

बिरुवा संरक्षणका लागि ट्रेन्च, ड्रिलसहित तारबार लगाइएको छ । स्थानीयले वनको जग्गामा उखु, सुर्ती, धानलगायतको खेती गर्दै आएका थिए । हाल चार घेरा बनाएर वृक्षरोपण गरिएको छ । संक्रमण र अस्थिरताको समयमा राजनीतिक दलबाटै अतिक्रमण खाली नगराउन दबाब आउने गरेको कर्मचारीले अनुभव सुनाउँछन् ।

कर्मचारीका अनुसार पर्सामा करिब ३ सय ८१ हेक्टर वनको जग्गा अतिक्रमणमा रहेको छ । चेतना जगाई बिनाहूलहुज्जत अतिक्रमित जग्गा फिर्ता गरिएको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष ललन साहले जनाए । तराई चुरे संरक्षण, साझेदारी वन व्यवस्थापन समिति र जिल्ला वन कार्यालयको २७ लाख रुपैयाँको सहयोगले उक्त क्षेत्रमा २२ हजार बिरुवा वृक्षरोपण गरिएको छ ।

‘मसला, खयर, टीक, सिमल, सिसौ, जामुन, अम्रिसो प्रजातिको बिरुवा लगाएका छौँ,’ सवैया साझेदारीका अध्यक्षले भने,‘ अधिकांश बिरुवा हुर्किसकेका छन्, बिरुवाको रेखदेखका लागि हेरालु पनि राखेका छौँ ।’ वन क्षेत्रमै झाँडीको रूपमा रहेको करिब १५ हेक्टर जग्गामा पनि वृक्षरोपण गरिएको अध्यक्षले जनाए ।


०६१ सालमा सवैया साझेदारी स्थापना भएको हो । यसको ३ हजार ८८.६९ हेक्टर क्षेत्रफल रहेको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि सम्पूर्ण क्षेत्रफललाई ८ भागमा बाँडिएको अध्यक्ष साहले जनाए । साझेदारी वन व्यवस्थापन समूहमा वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये १९ र २७ बाहेक सम्पूर्ण वडा र पर्सागढी नगरपालिकाको वडा ३ र ४ का वासिन्दा यस समूहको उपभोक्ता रहेका छन् । आर्थिक वर्ष ०७५/७६ मा समूहको भागमा परेको ९ हजार २ सय ३४ क्यु फिट काठ वितरण गरेको व्यवस्थापन समूहले जनाएको छ ।


जसबाट करिब डेढ करोड रुपैयाँ आम्दानी भएको थियो, अध्यक्ष साहले भने, त्यसबाट मात्र १० प्रतिशत रकम प्रशासनिक कार्यमा खर्च हुन्छ, बाँकी रकम वनकै कार्यक्रममा खर्च गर्छौं । जिल्ला दैविक प्रकोप समितिको सिफारिसमा गत आवमा ५६ परिवार आगलागी पीडितलाई काठ उपलब्ध गराएको साहले बताए । वन संरक्षण तथा चोरी निकासी नियन्त्रणका लागि प्रयास जारी राखिएको डिभिजन वन कार्यालयका योजना प्रमुख रियाज अहमद अन्सारीले बताए ।

वनमा आगलागी नियन्त्रणका लागि फारलेन (अग्नि रेखा) निर्माण गरिएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला वन र साझेदारीले संयुक्त लगानीमा घुम्ती ट्यांकीसमेत निर्माण गरेका छन् । ‘पहिलो प्रयास त आगलागी नै नहुन दिने हो,’ अध्यक्ष ललन साहले भने, ‘केही गरी आगो लागिहालेमा ‘स्पट’ मै पानी फाल्ने घुम्ती ट्यांकी निर्माण गरेका छौँ ।’ उनका अनुसार आगलागी र चरिचरन वैज्ञानिक वन व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ ।

उत्खननले भूक्षय
गत महिनामा आएको बाढीले सवैया साझेदारी वन भएर बग्ने भोडाहा खोलाले माटो कटान गरेको छ । आधा दर्जन ठूला रूखसमेत ढलेका छन् । ठेकेदारले वनभित्रको खोलाबाट अवैध रूपले ढुंगा, बालुवा उत्खनन गर्दा भूक्षय निम्तिएको सहायक वन अधिकृत फरमान मियाले खुलाए । ‘प्रदेश सरकारको परिपत्रबमोजिम वन क्षेत्रको एक किलोमिटर बाहिरबाट मात्र ढुंगा, बालुवा उत्खनन गर्न पाइन्छ,’ उनले भने, ‘तर यहाँ ठेकेदारले भित्रै आएर उत्खनन गर्ने गरेका छन् ।’

प्रकाशित : श्रावण २९, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?