२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

राति सुत्दैन मोर बस्ती

कान्तिपुर संवाददाता

पर्सा — चिन्ता देवीलाई २ वर्षअघि भलुवाई खोलाको बाढीले गाउँलाई तहसनहस बनाएको सम्झना छँदैछ । मेघ गर्जिएपछि उनको बेचैनी बढ्छ । ०७४ भदौ २७ गते गाउँ पूर्वको भलुवाई खोला उर्लिएर आफूहरूको घरबार र बालीनाली सोत्तर बनाएको दृश्य उनी झल्झली सम्झन्छिन् । 

राति सुत्दैन मोर बस्ती

वर्षायाम लागेदेखि अर्की स्थानीय देव कुमारीलाई राति निन्द्रा लाग्दैन । घरमा परिवारका सदस्य सुते पनि उनी जाग्राम बस्छिन् । कतै भलुवाइको भेल फेरि उर्लिएर ताण्डव मच्चाउँछ कि भन्ने चिन्ता उनलाई छ ।


भलुवाइको भेल जुनसुकै बेला गाउँ पस्न सक्ने भएकाले घरमा सुतेका महिला तथा बालबालिकालाई गाउँका सबै घरका पुरुषहरू पालैपालो जाग्राम बस्छन् । देवकुमारी एकल महिला हुन् । छोरा रोजगारीका लागि नारायणघाट भएकाले बुहारी र नातिनातिको सुरक्षार्थ उनी रातभर जाग्राम बस्छिन् । ‘डर र चिन्ताले मलाई रातभरि निन्द्रा लाग्दैन,’ उनले भनिन्, ‘आफू निदाऔं भने बाढी आएर घरबार मात्र नभई बुहारी र नातिनातिना समेत बगाउला भन्ने चिन्ता छ ।’


मोरबासीलाई बाढीको मात्र नभई बाघको पनि त्रास उस्तै छ । २ महिना यता गाउँ छिर्न थालेका २ वटा बाघ कत्ति खेर कसको घर र खोरमा छिर्ने हो पत्तै हुँदैन । चन्द्रिका मुखिया, रोजा मुखिया र मन्चन मुखियाका बाख्रा बाघले एक सातायता खोरबाटै थुतेर लगिसकेको छ । बाघको डरले आफूहरू संसाँझै घर पस्ने गरेको देव कुमारी बताउँछिन् ।


दुई वर्षअघिको बाढी थिल्थिलो भएको पटेर्वासुगौली ४ का विपन्न गाउँबासीले साविक झै घर ठड्याउन सकेका छैनन् । छानाबाट तपतप चुहिने पानी छलेर महिला र बालबालिका सुत्ने गर्छन् ।


अन्जु पन्त फाउन्डेसनले गत वर्ष मोरमा एकीकृत बस्ती निर्माणको घोषणा गरिसकेको छ । शुक्रबार मोर टोल पुगेकी फाउन्डेसनकी अध्यक्ष गायिका पन्तले आफू बस्ती निर्माणका लागि विदेशमा क्रमशः कन्सर्ट गरेर अर्थ संकलन गरिरहेको बताइन् ।

प्रकाशित : श्रावण २८, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?