कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मेसु क्वार्टरमा पुरानैको कब्जा

भूषण यादव

वीरगन्ज — गत असार १५ गते स्वास्थ्य मन्त्रालयले वीरगन्जको नारायाणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. मदनकुमार उपाध्यायलाई नियुक्त गर्‍यो । यसअघि उपाध्याय मन्त्रालयमै हाजिर गर्दै आएका थिए । नयाँ ठाउँमा सरुवा भएको करिब एक महिनापछि साउन २२ मा उपाध्याय नारायणी अस्पतालमा हाजिर भए ।

मेसु क्वार्टरमा पुरानैको कब्जा

बुधबार पदभार सम्हालेका उपाध्यायले बिहीबार अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीसँग परिचायात्मक कार्यक्रम गरे । शुक्रबार बिहानै उनी मन्त्रालय काज मिलाएर काठमाडौं गएका छन् । वीरगन्जको होटल पुजनमा दुई दिन बसेर नवनियुक्त मेसु उपाध्याय अस्पताल हाजिर भएका थिए ।


‘सरुवा भएको धेरै दिनपछि अस्पताल हाजिर भएकाले होला, क्वार्टरमा साथीहरू बसिरहनु भएको रहेछ,’ मेसु डा.उपाध्यायले भने, ‘अब आएपछि साथीहरूले व्यवस्थापन गर्लान् नि ।’ यसअघिका मेसु डा. एनामुल हकले मेसु क्वार्टर खाली नगरेकाले नयाँ मेसुलाई होटलमा बसाउनु परेको अस्पतालका कर्मचारीले बताएका छन् ।


अस्पतालका सूचना अधिकारी रमेश चौधरीले पुरानो मेसुले क्वार्टर खाली नगरेकाले नयाँ मेसु होटलमै बस्नु परेको जनाए । पुराना मेसु परिवार सहित क्वार्टरमै बसिरहेका छन् । ‘अस्पतालको मेसु नयाँ मान्छे नियुक्त भएदेखि नै पुरानोले मेसुले क्वार्टर छाडिदिने चलन छ,’ नाम उल्लेख नगर्ने शर्तमा प्रशासन फाँटका एक कर्मचारीले भने, ‘पद गएको ४० दिन बितिसक्दा पनि मेसु क्वार्टर खाली नगर्नु निन्दनीय विषय हो ।’


दशौँ तहका डा. एनामुल हक ०७४ असोज २९ देखि निमिक्त मेसुका रूपमा नारायणी अस्पतालको प्रशासनिक कार्य गर्दै आएका थिए । १३ गुणा बढी मूल्यमा औषधि खरिद, मनोमानी ढंगले बिना दरबन्दी कर्मचारी नियुक्त, महँगो किलिया मेसिन सस्तोसँग साटेको, कोटेसनमा ३० लाख रुपैयाँभन्दा बढीको काम गराएको, मिलोमतोमा क्याथल्याबको टेन्डर प्रकाशित गरेको लगायतका समाचार प्रकाशित भएपछि मन्त्रालयले असार १५ मा एघारौँ तहका डा. मदन कुमार उपाध्यायलाई नारायणी अस्पतालको मेसु नियुक्त गरेको थियो ।


‘पुरानो मेसुले नयाँलाई स्वागत गर्नुपर्थ्यो, अस्पताल बारे ब्रिफ गर्नुपर्थ्यो,’ प्रशासनका एक कर्मचारीले भने, ‘त्यसो गर्नुको साटो अस्पतालको मेसु बस्ने क्वार्टर पनि खाली गरिएको छैन, नैतिकताको अभाव देखियो ।’ अस्पताल स्रोतका अनुसार मन्त्रालयले पठाएको नयाँ मेसुलाई जसरी पनि फिर्ता पठाउने स्थानीय केही नेताको साथ पाएका पुराना मेसुले असहयोग गरिरहेका छन् ।


अस्पताल स्रोतका अनुसार नयाँ मेसु सरुवा लगत्तै नआएको मौका छोपी पुरानो मेसु डा. हकले असार मसान्तमा थप १५ जना दैनिक ज्यालादारीमा नियुक्त गरेका छन् । गत आर्थिक वर्षमा मात्र डा. हकले करिब ४ दर्जन चिकित्सक तथा कर्मचारी बिना प्रतिस्पर्धा र बिना दरबन्दी दैनिक ज्यालादारीमा नियुक्त गरेका थिए ।


गत वैशाख ११ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले अस्पतालमा छापामारी विभिन्न कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । अख्तियारले अस्पताल भित्रको अनियमितता बारे छानबिन थालेको ३ महिनाभन्दा बढी समय बितिसक्दा पनि नतिजा नआएकोमा कर्मचारीले असन्तुष्टि पोखेका छन् ।


‘अख्तियारको कतिपय प्रश्नको जवाफ पुराना मेसुले आफू खुसी लेख्न लगाएर पठाउने गरेका थिए,’ एक कर्मचारी भन्छन्, ‘अख्तियारको छानबिन असाध्यै ढिला भयो ।’

प्रकाशित : श्रावण २७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?