२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सुनकोसी–मरिन डाइभर्सनको डीपीआर अन्तिम चरणमा

कान्तिपुर संवाददाता

रौतहट — राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ । डीपीआर तयार भएपछि आयोजनाको काम कसलाई जिम्मा दिने भन्ने प्रक्रिया अघि बढाइनेछ । 

आयोजना सम्पन्न भएपछि तराई–मधेसमा सिँचाइ सुविधा पर्याप्त हुनेछ । जलविद्युत् उत्पादन गर्नु पनि डाइभर्सनको लक्ष्य हो । तराई/मधेसका रौतहट, सर्लाही, महोत्तरी, बारा र धनुषाका कुल १ लाख २२ हजार हेक्टर खेतीयोग्य क्षेत्रलाई सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको उद्देश्य रहेको सुनकोसी–मरिन डाइभर्सन आयोजना प्रमुख सुशील आचार्यले बताए । ‘अहिले डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको छ । यसपछि दाता खोज्ने वा सरकारले नै निर्माण गर्ने निष्कर्षमा पुग्छौं,’ उनले भने ।


डीपीआरको काम पनि एक महिनाभित्र सकिने उनले बताए । डीपीआर तयार पार्ने जिम्मा इ–टेक कन्सलटेनलाई दिइएको छ । सुनकोसीको पानी डाइभर्सनपछि मरिना नदीमा मिसाउन कमलामाई २ कुसुमटार फाँटमा खसालिनेछ । त्यसपछि मरिना नदी हुँदै ४२ किलोमिटर दूरीमा रहेको रौतहट/सर्लाहीस्थित बागमती बाँधमा पुर्‍याई सिँचाइको सुविधा बढाउने सरकारको लक्ष्य छ । वाग्मती सिँचाइ आयोजनाबाट रौतहट र सर्लाहीको ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ ।


आयोजना सम्पन्न भएपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने देखिएको छ । डीपीआर तयार भएपछि निर्माण सम्पन्न गर्न करिब ५ वर्ष लाग्नेछ । निर्माणको ठेक्का प्रक्रिया यसै वर्षबाट सुरु हुनेछ । ठेक्का सम्झौता भएको मितिले ५ वर्षभित्र आयोजनाका मुख्य संरचनाको निर्माणको काम सक्नु पर्ने लक्ष्य लिइएको प्रमुख आचार्यले जनाए ।


सुनकोसी नदीबाट सिन्धुलीको मरिन हुँदै रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईस्थित वाग्मती नदीमा पानी मिसाउन आयोजनाले अध्ययन थालेको थियो । यो सम्पन्न गर्न लगभग ७५ अर्ब बढी रकम लाग्न सक्ने आयोजना प्रमुख आचार्यले जनाए । आचार्यका अनुसार हाइड्रो पावरको डीपीआर भने सम्पन्न भइसकेको छ ।


सुनकोसीबाट १३.१ किलोमिटर टनेल बनाई सिन्धुलीको मरिनमा पानी झारिनेछ । त्यसपछि ४२ किमि नदीबाट वाग्मती दोभानमा मिसाइने छ । यही पानी १० किमि दक्षिण ब्यारेजमा जम्मा भएर शाखा, प्रशाखा नहरमार्फत खेतसम्म पुग्छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?