१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेयर–उपमेयर विवाद : दुवै ठाउँमा कार्यालय

श्यामसुन्दर शशि

जनकपुर — मेयर र उपमेयर बीचको विवादको कारण झन्डै एक महिनादेखि काम कहाँबाट सञ्चालन गर्ने ? अन्योल रहेको हंसपुर नगरपालिकामा शुक्रबारदेखि दुवै कार्यालयबाट काम सञ्चालन गर्ने सहमति भएको छ ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सर्वपक्षीय बैठकमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणुकुमारी झाबीच कार्यालय सञ्चालन गर्ने सहमति भएको हो ।


बैठकले नयाँ कार्यालय सञ्चालन गर्न आवश्यक रहे/नरहेको तथा उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानीको विषयमा राय–सल्लाह दिने उद्देश्यले जिल्ला समन्वय समिति धनुषाका प्रमुख बनरैतको संयोजकत्वमा अनुगमन समिति समेत बनाएको छ ।


यसअघि उपमेयर झा साविक बघचौडास्थित कार्यालयमा बसी काम गर्दै आएका थिए भने मेयर मण्डल हंसपुरचोकमा घर भाडा लिएर सामानान्तर कार्यालय सञ्चालन गर्दै आएका थिए । साविक कार्यालयमा रहेका कागजपत्र फिर्ता लाने क्रममा गत मंगलबार बघचौडाबासी तथा सुरक्षाकर्मीबीच झन्डै तीन घन्टासम्म झडप भएको थियो । झडपमा परी आधा दर्जन घाइते भए ।


हंसपुर नपाको निर्वाचनपछि नै सुरु भएको केन्द्र सार्ने विवाद कायमै रहे पनि कार्यालय सार्ने विवादले उग्र रूप लियो । विवाद समाधान समितिमा जिससका उपप्रमुख दीपककुमार झा, हंसपुर नपाका मेयर मण्डल, उपमेयर झा, मुख्यमन्त्री कार्यालयका एकजना अधिकृत, हंसपुर नपाका प्रमुख कार्यकारी अधिकृत हरिशंकर यादवलाई सदस्य राखिएका छन् । जिसस प्रमुख बनरैतले अनुगमन समिति यथाशिघ्र काम थाल्ने अनि काम थालेको एक साताभित्र सम्पन्न गरी प्रतिवेदन बुझाउने बताए ।


नगरपालिकाद्वारा गत वर्ष ०७५/७६ र चालु आव ०७६/७७ मा सञ्चालित योजनाको भुक्तानी दिनुपर्ने विषयमा प्राविधिक, योजना, प्रमुख प्रशासकीय अधिकृत तथा अनुगमन समितिको सिफारिसमा फरफाक गर्ने, भुक्तानी भइसकेका योजनाको त्यस अनुरूप काम भए/नभएको, आम्दानी बाँधे/नबाँधेको समेत अनुगमन समितिले हेरी कैफियत देखिन आएमा अग्रिम कारबाही उठान गर्ने, कार्यालयका कागजातको सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतलाई दिने तथा कार्यालय सार्ने क्रममा भएको झडपमा परी घाइते भएकाहरूको उपचार खर्च तथा क्षतिग्रस्त बनेको सशस्त्र प्रहरीको सवारी साधानको मर्मत खर्च हंसपुर नपाले बेहोर्ने निर्णय पनि भएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?