रासायनिक मलको अभाव
सर्लाही — कविलासी नगरपालिका–१ पिपरियाका किसान रविन्द्र रायले सहकारी संस्थामार्फत पाउने मल पाएका छैनन् । रायले २ बिघामा धान खेती र १ बिघामा उखु रोपेका छन् । उनले धान र उखुमा मल हाल्नु पर्ने बेलामा अभाव झेलिरहेका छन् ।
धान र उखुमा मल छर्ने मुख्य समयमा नै सर्लाहीमा बर्सेनि रसायनिक मलको अभाव हुने गरेको छ । जिल्लाका किसानहरू मल नपाएर उत्पादन घट्ने चिन्तामा छन् । मल अभाव भएका बेला कतिपय किसानले भारतबाट कमसल मल समेत ल्याएर हालिरहेका छन् । भने कतिपय किसानले अनुदानको मल दोब्बर मूल्य तिरेर निजी पसलबाट खरिद गरेर छरिरहेका छन् ।
रायले धान तथा उखुमा हाल्नुपर्ने मल नपाएको गुनासो गरे । मल छर्ने मुख्य समयमा नै मल नपाउँदा किसानको बिजोग भएको उनले सुनाए । ‘धान तथा उखुमा मल हाल्नु पर्ने मुख्य समय हो, यतिबेला मल हालिएन भने उत्पादन घट्छ, तर मल कतै पनि पाइरहेको छैन,’ रायले भने, ‘मलका लागि हामी छटपटाई रहेका छौं, बर्सेनि मल छर्ने समयमा नै मल अभाव हुने गरेको छ ।’ रायले मुलुकमा परिवर्तन भए पनि किसानको लागि यो परिवर्तनले कुनै टेवा नपुगेको गुनासो गरे ।
रायजस्तै जिल्लाका अधिकांश किसानको अवस्था उस्तै छ । किसानहरू मल नपाएर हैरान छन् । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपुर्ति नगर्दा मल अभाव भएको हो । धान र उखुमा मल छर्ने मुख्य सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड मलंगवा शाखामा ३ हजार बोरा मात्र युरिया मल छ । ती सबै मल जिल्लाका १ सय ५० सहकारीलाई भाग लगाएर वितरण भइरहेको कम्पनीका शाखा प्रमुख ब्रजमणि लामाले जानकारी दिए ।
जिल्लामा ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । उक्त धान खेतका लागि मासिक ५ सय टन मलको आवश्यकता रहेको लामाको भनाइ छ । ‘धान खेतको मुख्य सिजन हो, यस सिजनमा मासिक ५ सय टन मलको माग छ ।’ उनले भने, ‘माग अनुसारको आपूर्ति हुन नसक्दा मल अभाव भएको हो ।’ लामाले मल अभावका कारण असार, साउन र भदौ महिनामा कार्यालय बस्नै नसक्ने अवस्था आएको बताए ।
सहकारीले कृषि सामग्री कम्पनीबाट थोरै परिमाणमा मल पाएपछि कालोबजारी समेत हुनथालेको छ । थोरै मात्रामा मल पाएपछि कतिपय सहकारीले स्थानीय व्यापारीलाई बुझाउने गरेका छन् । व्यापारीले किसानबाट चर्को मूल्य असुल्ने गरेको छ । किसानका लागि ल्याइएको अनुदानित मल कृषि सामग्रीको शाखाबाट लिँदा भिडभाड हुने भएपछि केही वर्षदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।
कम्पनीमा ७ सय ६५ रुपैयाँ पर्ने ५० केजीको एक बोरा युरिया मल किसानले स्थानीय व्यापारीसँग १ हजार ५ सय सम्ममा खरिद गरिरहेका छन् । धानमा मल छर्नुपर्ने मुख्य समय भएकाले जति महँगो व्यापारीले दिए पनि मल छर्नुपर्ने बाध्यता किसानको छ । किसानका लागि ल्याइएको अनुदानको मल वितरण गर्ने सहकारी संस्थामा मल नपाउने गरेको किसानको भनाइ छ ।
प्रकाशित : श्रावण २६, २०७६ ०९:३९