बोराले कटान थामथुम

कान्तिपुर संवाददाता

सर्लाही — वाग्मती नदीले निरन्तर कटान गरिरहेको सर्लाहीको बरहथवास्थित खर्साल घाटको सरकारी अधिकारीहरूले निरीक्षण गरेका छन् । सर्लाही र रौतहटको सीमा भएर बग्ने वाग्मती नदीले धार परिवर्तन गरी बरहथवा नगरपालिका–१, हजरियास्थित खर्सालघाटमा खेतीयोग्य जमिन कटान गरिरहेको छ । 

बोराले कटान थामथुम

केही दिन अघि नदीमा आएको बाढीले धार परिवर्तन गरी बस्ती नजिक पूर्वतर्फ सोझिएको थियो । बस्ती नजिक आइपुगेको नदीले कटान तीव्र पारेपछि स्थानीय त्रसित बनेका छन् । धान, उखु, बेसार, केरा लगायत रोपेको खेत नदीले कटान गरेपछि किसान बिचल्ली भएको छ ।


बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख, नेकपाका जिल्ला अध्यक्ष रेवती पन्त, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुर बाराका प्रमुख राजकुमार श्रीवास्तव सहितको टोलीले कटान क्षेत्रको निरीक्षण गरेको हो । स्थानीय र प्रदेश सरकारको सहयोगमा कटान क्षेत्रमा हाल सिमेन्टको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको काम भइरहे पनि कटान नरोकिएको नगर प्रमुख महतोले बताए ।


नदीले धार परिवर्तन गरी बस्ती नजिक आएपछि तत्काल थप रोकथामको उपाय गर्न सम्बन्धित निकायका जिम्मेवार अधिकारीलाई स्थलगत निरीक्षण गराइएको नगर प्रमुख महतोको भनाइ छ । निरीक्षणपछि वाग्मतीको धार पुरानै ठाउँमा फर्काउनका लागि जल उत्पन्न प्रकोपको एक प्राविधिक टोलीलाई बोलाइएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?