अझै नागरिकताविहीन छन् मुसहर

नागरिकता नहुँदाका राज्यबाट पाउनुपर्ने सुविधा मात्रै होइन वैदेसिक रोजगारीबाट समेत वञ्चित हुनुपरेको स्थानीयको गुनासो
भरत जर्घामगर

सिरहा — सिरहा धनगढीमाई नगरपालिका ११ का इनर सदाय मुसहर ३५ वर्षका भए । उनको जेठो छोरा ओपिन्द्र १९ वर्ष, छोरी दीपिका १७ वर्ष र कान्छो छोरा दिलिप १५ वर्षका भए । दलित भूमिहीन सुकुम्बासी परिवारका इनरले जसोतसो ज्याला मजदुरी गरी गुजारा चलाए पनि पछिल्लो पटक भने उनमा ‘नागरिकता’ नहुँदाको पीडाले मन पोलेको छ । 

नागरिकता प्राप्तिका लागि आवश्यक कागजपत्र जुटाउन परामर्श लिँदै सिरहाको धनगढीमाई ११ नैनपुरका मुसहर समुदायका महिला । तस्बिर : भरत/कान्तिपुर

‘नागरिकता प्राप्तिका लागि गाविस र प्रशासन धाए पनि यो कागजात पुगेन त्यो पुगेन भनेर फर्काइदिन्थ्यो,’ नागरिकता बनाउन सरकारी अड्डा धाएर थाकिसकेका इनरले भने, ‘त्यसपछि कहिल्यैं नागरिकता बनाउने सपना देखिनँ, नागरिकताका लागि अड्डा धाउनै छाडिदिएँ ।’ बुबा–आमाको नागरिकता नभएकै कारण उनी र उनको नभएकाले उमेर पुगेर पनि छोराछोरी नागरिकताबाट वञ्चित छन् ।

नागरिकता नभइकनै ३५ वर्ष बिते पनि छोराछोरीको नागरिकता नहुँदा वैदेशिक रोजगारी लगायत सीपमूलक तालिम लिन र राज्यको सुविधा पाउन असहज भएपछि उनी पिरोलिएका हुन् । ‘नागरिकता हुने गाउँका ठिटाहरू विदेश हानिए’ इनरले भने, ‘आफ्नै नागरिकता नभएपछि छोराको नागरिकता बन्ने कुरै भएन । छोरालाई विदेश पठाउने सपना अधुरो भयो । सरकारी सुविधा पाउनु परको कुरा ।’

इनरकै छिमेकी २६ वर्षीया राजकुमारी सदाय मुसहरको पनि नागरिकता छैन । उनका २ छोरी र १ छोरा छन् । तीन सन्तानकी आमा भइसक्दा समेत उनले नागरिकता पाउन सकेकी छैनन् । राजकुमारीका पति डोमीको नागरिकता छ । माइती सप्तरी लक्ष्मीपुरबाट सिफारिस ल्याउन नसकेकैं कारण उनी नागरिकताबाट वञ्चित छिन् । भन्छिन्, ‘माइतीपट्टि बाबा आमाको नागरिकता नभएकैं कारण वडाले सिफारिस दिएन ।’ इनर र राजकुमारी जस्तै २५ घरधुरीको बसोबास रहेको धनगढीमाई ११ मुसहरीका ८ जनाभन्दा बढी नागरिकताविहीन छन् ।

सिरहा शोभापुरमा ४० घरधुरी मुसहर समुदायको बसोबास छ । त्यही बस्तीका २५ जनाभन्दा बढी नागरिकता विहीन छन् । बस्तीका ४५ वर्षीय शंकर सदाय मुसहर परिवारमा कसैको पनि नागरिकता छैन । उनकी पत्नी, छोरी रुन्ची, छोरा मैनका, बुहारी परमेश्वरी, छोरा दैरका नागरिकताविहीन छन् ।

बुवाको नागरिकता नभएकैं कारण छोरा–छोरी शिक्षाबाट वञ्चित हुनुपर्‍यो । त्यतिमात्र होइन छोरा मैनकाले घरमा भित्र्याएकी बुहारी परमेश्वरीबाट जन्मिने बच्चाको पनि नागरिकता नहुने पिरलो शंकर परिवारमा परेको छ । गाउँ ब्लक जग्गामा बस्दै आएका उनीहरू ज्याला मजदुरी गरी गुजारा चलाउँछन् । नागरिकता नभएकैं कारण वैदेशिक रोजगारीमा जानबाट वञ्चित भएको शंकरले सुनाए ।

‘नागरिकता बनाउनका लागि धेरै पटक गाविस हुँदैखेरी र अहिले वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय धाएँ’ शंकरले भने, ‘बुवाको नागरिकता हराएकैं कारण मेरो नागरिकता बन्न सकेन, मेरो नबनेपछि सिंगो परिवार नै नागरिकताविहीन भएका छौं ।’ धेरै खर्च भए पनि नागरिकता पाउन झन्झटिलो भएपछि प्रशासन धाउनै छाडिदिएको उनले सुनाए ।

शंकरको परिवारमात्र होइन बस्तीका वृद्ध वृद्धाको समेत नागरिकता छैन । बस्तीकै ६१ वर्षीय सिल्टु सदायको परिवार नागरिकता विहीन छन् । ४५ वर्षीया सोनावती छोरा राजेश, अजय, छोरी रीना नागरिकता विहीन छन् । नागरिकताबिना राज्यको सेवा सुविधा प्राप्तिबाट वञ्चित भएका उनीहरूले जग्गा जमिन जोड्न सक्दैनन् ।

मुसहर समुदायमा नागरिकताको सवाल, समस्या, र समाधानको खोजीका लागि समग्र जनउत्थान केन्द्रले धनगढीमाई नगरपालिकाका ३, ६, ९, ११ र १२ वडाका मुसहर बस्तीका २ सय १२ घरधुरीको सर्वेक्षण गरेको थियो ।सर्वेक्षणका क्रममा २ सय १२ घरधुरीमा १८ वर्ष उमेर समूह माथिका ६ सय ६७ जनामध्ये ४ सय २६ जनाले नागरिकताको प्रमाण पत्र पाएको र २ सय ३८ जनाले नागरिकता लिन नपाएको भेटिएको केन्द्रले जनाएको छ । यो नपाउने दर ३६ प्रतिशत हो ।

नागरिकता भएर पनि हैरानी
सहज र सरलरूपमा सेवाग्राहीलाई घरदैलोमै नागरिकता वितरण गर्न खटिएको टोलीको लापरबाहीका कारण धनगढीमाई नगरपालिका ११ नैनपुरकी हरानीदेवी सदाय मुसहरले झन्झट व्यहोर्नुपरेको छ । टोलीले उनका पति रामशरण मुसहर लेख्नुपर्नेमा अर्कै राखिदिएकाले समस्या भएको हो ।

२०४६ चैत १५ गते गाउँमै आएको नागरिकता टोलीको गल्तीले जग्गा नामसारी लगायत अन्य प्रक्रियामा समस्या भएको छ । यस्तै हरानीको ६ सन्तानमध्ये साइली छोरी ममताभन्दा दुई वर्ष कान्छो छन्, छोरा विनोद । तर, फरक–फरक समयमा बनाएको नागरिकतामा ममताभन्दा विनोद दुई दिन जेठो उल्लेख छ ।

ममतालाई २०७० जेठ २५ गते गाउँमै आएको नागरिकता टोलीका प्रमुख राजेन्द्रकुमार लाल कर्णले नागरिकता दिएका थिए । विनोदलाई २०७२ मा जिल्ला प्रशासन कार्यालयमै प्रशासकीय अधिकृत वासुदेव यादवको हस्ताक्षरमा नागरिकता उपलव्ध गराइएको थियो ।

ती दुवैको नागरिकतामा बुबाको नाम रामशरण मुसहर छ भने आमाको कोष्ठ खाली छाडिएको छ । नागरिकता अनुसार हरानीदेवीको सम्बन्ध न त आफ्नो पतिसँगै देखिन्छ न त छोरा र छोरीसँग । पति रामशरण मुसहरको नाममा रहेको १० धुर जग्गामा छाप्रो बनाएर उनीहरू बसिरहेका छन् तर पतिलाई केही भएको अवस्थामा जग्गा हरानीदेवीको नाममा नामसारी नभई सिधै छोरा र छोरीको नाममा नामसारी हुने अवस्था नागरिकताले बनाइदिएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

पतिको कुटपिटबाट सुत्केरी सिकिस्त

सुनिता बराल

महोत्तरी — चटपटाउन नसक्ने गरी अस्पतालको बेडमा ढलेकी मन्दिरा खडकाको आँखाबाट आँशु बग्न रोकिएको छैन । जीवन सुन्दर बनाउने सपना साँचेर ०७४ फागुन ११ मा जीवन साथी रोजेकै व्यक्तिबाट मरणान्त हुने गरी कुटाई खाँदा उनको मन छिया छिया भएको छ ।

श्रीमान्को कुटाइपछि ५ महिनाको सुत्केरी ज्यान र काखको छोरी लिएर अस्पताल भर्ना भएकी मन्दिरा । तस्बिर : सुनिता/कान्तिपुर

श्रीमान् सुमन खडकाको कुटाइपछि ५ महिनाको सुत्केरी ज्यान र काखकी छोरी लिएर मन्दिरा बर्दिवासको जनसेवा अस्पतालमा भर्ना भएकी छन् । ‘अब बाँच्ने आस मर्‍यो । जिउ थिल्थिलो भएको छ,’ भक्कानिँदै मन्दिराले भनिन्, ‘घोप्टो पारेर हम्बर, चिर्पट, भाटा र लातीले मकै बारीमा लगेर कुट्यो । मरी भनेर छोडेको थियो । माइतीले अस्पतालसम्म ल्याएर बचाए ।’ अढाई वर्षदेखि श्रीमानको पिटाइ सहँदै आएकी मन्दिराले न्यायका लागि अदालत जाने बताइन् ।

सुमनसित विवाह गरेको एकसातापछि नै दिनहुँ कुटपिट र यातना दिएको उनले बताइन् । ‘विवाह गरेदेखि नै मेरो विवाह अन्तै भैसकेको छ, मेरो ४ वर्षको छोरी पनि छ, तँलाई मार्छु भन्दै प्रत्येक दिन नशामा लरबरिँदै घर आएर शारीरिक र मानसिक यातना दिन्थ्यो,’ उनले भनिन ।

जेठी छोरीको रहरको विवाह भएकाले मन्दिराको ४ लाख खर्च गरेर विवाहगरेको र विवाह गरेर दिएको एक–दुई महिनादेखि नै छोरी कयौँ पटक घाइते अवस्थामा रुँदै माइत आउने गरेकी मन्दिराकी आमा गोमा पोखरेलले बताइन् । पछिल्लोपटक मंगलबार ज्वाइ सुमनको कुटाइले मरणासन्न भएकी छोरीले फोन गरेपछि आफैंले अस्पताल भर्ना गराएको पोखरेलले बताइन् ।

‘उनको शरीरमा चोटपटक भएकाले हामीले नै अस्पताल जान सुझाव दिएका हौं,’ इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक निशान थापाले भने, ‘घटनाको दोषी खोजिरहेका छौं । घटनाबारे सबै कुरा अनुसन्धानपछि आवश्यक कारबाही गरिनेछ ।’ सर्लाहीकी मन्दिरा र आमा–बुवा प्रहरीमा पुगेपछि बर्दिवास–३ भब्सी रातमाटाका सुमन र उनको परिवारकाअन्य सदस्य घर छोडेर भागेको प्रहरीले जनाएको छ ।

बर्दिवास जनसेवा अस्पतालका प्रमुख डाक्टर गणेश श्रेष्ठले मन्दिराको आँखा, कान र शरीरमा धेरै चोट लागेको बताए । दुखाई कम गर्ने औषधि चलाइरहेको र एक्सरे, भिडियो एक्सरे र पिसाब जाँचको रिपोर्टपछि भित्री चोटका बारे थाह हुने श्रेष्ठले बताए ।

बर्दिवासका विभिन्न सामाजिक संघ–संस्था र महिला संगठनले घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । अन्तरपार्टी महिला सञ्जाल नगर कमिटी बर्दिवासकी अध्यक्ष खिनमाया पराजुलीले मन्दिरामाथि भएको अन्याय र अत्याचारमा संलग्न दोषीलाई कारबाहीको माग गरिन् ।

प्रकाशित : श्रावण २४, २०७६ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्