प्रदेश सभा बैठक : चुरे संरक्षणमा जोड

कान्तिपुर संवाददाता

धनुषा — कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले विपदको प्रमुख कारण चुरे विनाश रहेका कारण सबैले मिलेर चुरे संरक्षणतर्फ लाग्नुपर्ने बताएका छन् । 

प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर चुरे संरक्षणमा नलागे तराई बासी झोला बोकेर बाहिरिनुपर्छ, यादवले भने, ‘भोकै बस्नु पर्छ, बसौं । संघीय सरकारको ध्यान चुरे संरक्षण तर्फ केन्द्रित गर्न प्रदेश सरकारसँगै हामी पनि अनशनमा बस्न तयार छौं ।’ चुरे विनाशले उर्वर भूमि मरुभूमिमा परिणत हुँदै वर्सेनि नेपाल र भारत डुबानको पीडा भोग्नु परेकाले भारत तर्फ पनि समन्वय गर्नुपर्ने हुन्छ, उनले भने ।

प्रदेश २ को प्रदेशसभामा प्रतिपक्षी कांग्रेस र नेकपाले जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि बिहीबार भएको छलफलमा संघीय सरकारमार्फत र भारत सरकारसँग समन्वय गर्नुपर्ने उनले भने ।

नेकपा सांसद सुन्दरबहादुर विश्वकर्मा, कांग्रेस सांसद उपेन्द्र कुशावाहाको प्रस्तावमा सांसद शिवचन्द्र चौधरी र ज्वालाकुमारी साहले समर्थन गरेका छन् । असार २५ गतेदेखि परेको भीषण वर्षाले प्रदेशको सम्पूर्ण क्षेत्रमा गम्भीर क्षति पुग्नुका साथै नागरिकले अत्याधिक दुःख तथा क्षति बेहोर्नु परेको अवस्थामा सरकारले तत्परताका साथ राहत कार्य तथा घरबिहीनको समुचित व्यवस्था गर्न नसकेकाले यस विषयमा प्रदेशसभामा गम्भीर छलफल हुन आवश्यक रहेकाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको कांग्रेसका सांसद कुश्वाहाले बताए ।

‘सरकारले केही गरेकै छैन भनेको होइन तर हुनुपर्ने जति राहत वितरण हुन सकेन । पीडितहरू अझै पीडामै छन्,’ कुशवाहाले भने, ‘समयमा राहत पुर्‍याउन सकैनौ भने राहतको पनि महत्त्व हुँदैन ।’ आगामी दिनमा विपद व्यवस्थापनका लागि सरकार पूर्व तयारीका साथ दृढ भएर बस्नुपर्ने उल्लेख गरे ।

नेकपाकी सांसद ज्वाला कुमारी साहले प्रस्तावको समर्थन गर्दैर् सरकारले राहत वितरणमा गम्भीरताका साथ नलागेको आरोप लगाइन् । नेकपाकै अर्का सांसद राम कुमार यादवले राहत वितरणमा सत्तारुढ सांसद र मन्त्रीले रजाई गरेको टिप्पणी गरे । बोल्न सक्ने व्यक्तिहरू वास्तविक पीडित नभए पनि राहत पाएको उनले बताए ।

कांग्रेस सांसद शिवचन्द्र चौधरीले सरकारले वितरण गरेको राहत समाग्री सत्तारुढ पार्टीका व्यक्तिले मात्र पाएको अरोप लगाए । ‘धनुषाको मुखियापटी मुसहरनियामा ५० जना पीडित रहेको क्षेत्रमा सरकारले ६ सय जनालाई राहत वितरण गरे पनि वास्तविक पीडितले राहत पाउन सकेनन्,’ उनले भने ।

प्रकाशित : श्रावण २४, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्

नातिपनाति पाइयो, लालपुर्जा पाइएन

वडाका सयौंले जग्गा धनीपुर्जा पाएका छैनन् । शान्तिनगर, भोटेपानीमा करिब एक हजार घरपरिवारले लालपुर्जा नपाएको नागरिक मञ्चका पूर्वसंयोजक खडसिं थापाले बताए ।
प्रताप रानामगर

दमौली — तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की हेमकुमारी क्षत्री ७५ वर्ष पुगिन् । घर बनाएर बसेको पनि ५ दशक बढी भयो । यही घरमा छोरा मात्र होइन, नातिपनातिसमेत पाइसकेकी छन् उनले ।

तनहुँको शुक्लागण्डकी ७ स्थित शान्तिनगर । तस्बिर : प्रताप/कान्तिपुर

‘नातिपनाति पाइसकियो,’ उनले भनिन्, ‘तर, घरको लालपुर्जा पाइएको छैन ।’ लालपुर्जाको आशामा जिन्दगी बितेको उनले गुनासो गरिन् । ‘मर्ने बेलामा घरको लालपुर्जा देखेर मर्न पाए हुन्थ्यो,’ उनले भनिन् । घर भएर पनि के गर्ने सुकुम्बासी भन्छन् । लालपुर्जा नहुँदा अरुले हेप्दा रहेछन् । लालपुर्जा भए त नातिपनातिलाई राम्रो हुने थियो ।’

उनीमात्र होइन वडाका सयौंले जग्गा धनीपुर्जा पाएका छैनन् । शान्तिनगर, भोटेपानीमा करिब एक हजार घरपरिवारले लालपुर्जा नपाएको नागरिक मञ्चका पूर्वसंयोजक खडसिं थापाले बताए । स्थानीय २०२५ सालदेखि बसोबास गर्दै आइरहेको छ । ‘यहाँ एक हजारको हाराहारीमा घर छन्,’ उनले भने, ‘तर, कसैले लालपुर्जा पाएका छैनन् ।’

लालपुर्जाका लागि पटकपटक माग गरे पनि सुनुवाइ नभएको उनले बताए । ०३३ सालमै जग्गाको कित्ताकाट भएको थियो । सरकारले गठन गर्दै आएको सुकुम्बासी आयोगले पनि अहिलेसम्म लालपुर्जाको व्यवस्था गर्न सकेको छैन । ‘२०५८ सालको आयोग एउटै प्रकृतिका जग्गा तथा घरलाई लालपुर्जा दिएको छ,’ उनले भने, ‘तर हामीलाई दिएन । एउटै प्रकृतिका जग्गा बेलचौतारा र दुलेगौडाका घरपरिवारलाई लालपुर्जा दिएको थियो ।’

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा मालपोत, नापी, वन र सम्बन्धित पालिकाको प्रमुख सदस्य रहने गरी आयोग गठन गरेको छ । यही आयोगले जग्गाको नापजाँच गरेको उनले बताए । आयोगले नापजाँच गरेको फिल्ड बुक दिनुपर्ने हो, तर दिएको छैन । कर्मचारी नभएको भन्दै आयोगले फिल्डबुक दिनबाट पन्छिएको उनले आरोप लगाए । फिल्डबुक पाए लालपुर्जा पाउने आधार हुने स्थानीय बताउँछन् ।

चुनावमा नेताले चुनावी नारा नै लालपुर्जा बनाउने गरेको स्थानीय रुपा डोटेलले बताइन् । ‘भोट माग्न आउँदा लालपुर्जा दिन्छौं भनेर आश्वासन दिन्छन्,’ उनले भनिन्, ‘चुनाव जितेपछि नाकमुख देखाउँदैनन् ।’ दसैंसम्ममा लालपुर्जा पाउँछ भन्ने हल्ला सुनेको तर त्यसमा विश्वास नलागेको उनले बताइन् । पुर्जा नहुँदा बैंकिङ कारोबार तथा किनबेच भए पनि मूल्य नपाएको स्थानीयको गुनासो छ ।

लालपुर्जा नभएको बस्ती यहाँ मात्र होइन । शान्तिनगर, भोटेपानीसहित वडा ८ को ढोरफिर्दी र २ को नर्सरीमा गरी करिब दुई हजार ९ घरजग्गाको लालपुर्जा नभएको शुक्लागण्डकी नगरप्रमुख किसान गुरुङले बताए । ‘नगरपालिकामा ठूलो संख्यामा लालपुर्जा पाएका छैनन्,’ उनले भने, ‘अब छिट्टै लालपुर्जाको व्यवस्था हुन्छ ।’ अवस्थित बासस्थानलाई व्यवस्थित बनाउन आयोगले लालपुर्जा वितरणका लागि प्रक्रिया अगाडि बढाउने उनले बताए ।

जेठ ६ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद्ले लालपुर्जा वितरणका लागि राजपत्रमा प्रकाशित गरिसकेको छ । ‘जग्गा तथा घरको नापजाँचको आधारमा फिल्डबुक तयार भइसकेको छ,’ उनले भने, ‘कर्मचारी नहुँदा वितरण मात्र नगरेको हो ।’ लालपुर्जाको व्यवस्था गर्नका लागि एक मालपोत अधिकृतसहित २ नासु खटाउने हो ।

दुई नायब सुब्बालाई खटाएको पत्र आइसकेको छ । तर, मालपोत अधिकृतको भने पत्र आएको थाहा नपाएको उनले बताए । मालपोत अधिकृत आउनासाथ लालपुर्जा वितरणको काम द्रुत गतिमा अगाडि बढ्छ । लालपुर्जा व्यवस्थाका लागि खटिएका कर्मचारीको व्यवस्थापन गर्न नगरपालिकाले पनि बजेट छुट्याएको छ । नगरसभाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको र नपुगे थपिने उनले बताए ।

खैरेनीटार, दुलेगौडा, ढोरफिर्दीमा रहेको अवस्थित जग्गा व्यवस्थापन आयोगको बैठक बसेर कर्मचारी माग, बजेटको व्यवस्था गर्न निर्णय गरेको छ । साथै सम्बन्धित वडाध्यक्षलाई आयोगको आमन्त्रित सदस्यको रूपमा राखेको छ । कर्मचारी माग गरिए पनि अहिलेसम्म नखटिएको आयोगका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रराज पण्डितले बताए ।

‘आयोगको कार्यदलको बैठक बसेर मालपोत अधिकृतसहित कर्मचारी माग र बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘तर, अहिलेसम्म कर्मचारी आएका छैनन् । जग्गाको नापजाँचको कागजात छानबिन गरिनेछ । जग्गाको छानबिन गरेर मात्र लालपुर्जा वितरण गरिने उनले बताए ।

साता दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्मा अर्यालले शुक्लागण्डकीको एक कार्यक्रममा दसैंमा लालपुर्जा पाउने बताएकी थिइन् । उनले निधारमा दसैंको टीका र हातमा लालपुर्जा पाउने आश्वासन दिएकी थिइन् ।

प्रकाशित : श्रावण २४, २०७६ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्