कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

परीक्षार्थी ओसार्दै एम्बुलेन्स

अवधेशकुमार झा

राजविराज — विरामीलाई अस्पताल पुर्‍याउने राजस्व छुटमा ल्याइएका एम्बुलेन्सको सप्तरीमा दुरुपयोग भएको छ । विद्यार्थीलाई 
परीक्षा केन्द्रसम्म पुर्‍याउन एम्बुलेन्स प्रयोग भइरहेको छ । 

परीक्षार्थी ओसार्दै एम्बुलेन्स

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको परीक्षामा परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म पुर्‍याउनका लागि एम्बुलेन्सको प्रयोग भएको हो । सीटीईभीटीअन्तर्गत बिहीबारदेखि हेल्थ असिस्टेन्ट, नर्सिङ, ओभरसियरलगायत संकायमा अन्तिम परीक्षा सुरु भएको छ ।


राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय र ठाकोदेवी जोगेन्द्र भगत राजदेवी माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा उदयपुर र सिरहाबाट सहभागी हुन आएका विद्यार्थीलाई ओसार्न एम्बुलेन्स प्रयोग भएको हो । कटारी मोडेल हेल्थ केयर कटारी ३ उदयपुर तथा कमलामाई मेडिकल तथा पोलिक्लिनिकको स१च १४०१ नम्बरको एम्बुलेन्सले बिहीबार परीक्षार्थी ओसारेको थियो ।


उदयपुरको कटारीबाट बिहानै विद्यार्थीलाई लिएर परीक्षा दिलाउनका लागि कटारी मोडेल हेल्थ केयर कटारी ३ उदयपुरको एम्बुलेन्स राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको परीक्षा केन्द्र पुगेको थियो । विद्यार्थी परीक्षा दिइरहँदा परीक्षा केन्द्र परिसरअगाडि उक्त एम्बुलेन्समा चालक गोपाल बयलकोटी आराम गरिरहेका भेटिए ।


कटारी मोडेल हेल्थ केयरका सञ्चालक डा. गणेशलाल दासको आदेशमा उनकै परिवारका विद्यार्थीलाई लिएर आएको चालक बयलकोटीले बताए । ‘मलाई त डाक्टरसाबले विद्यार्थी राजविराज पुर्‍याउन र ल्याउन आदेश दिनुभयो, मैले त्यही गरेँ,’ चालक बयलकोटीले भने, ‘एम्बुलेन्स बिरामीलाई अस्पताल पुर्‍याउनका लागि नै हो तर म त चालक हुँ, जुन संस्थाको एम्बुलेन्स हो, त्यसका सञ्चालकको आदेश मान्नु पनि मेरो धर्म हो ।’


डा. दासले भने बिरामी विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुर्‍याउन एम्बुलेन्स गएको दाबी गरे । राजविराजकै अर्को परीक्षा केन्द्र ठाकोदेवी जोगेन्द्र भगत राजदेवी माध्यमिक विद्यालय केन्द्रबाहिर अर्को एम्बुलेन्समा चालक सन्तोष साह मस्त निद्रामा भेटिए । उनी पनि नर्सिङको परीक्षामा सहभागी हुन आएका विद्यार्थी बोकेर आएका थिए ।


स१च ७४३ नम्बरको कमलामाई मेडिकल तथा पोलिक्लिनिक बन्दीपुर सिरहाको एम्बुलेन्समा परीक्षामा सहभागी हुने विद्यार्थी लिएर चालक साह राजविराजको राजदेवी परीक्षा केन्द्र आएका थिए ।


विद्यार्थी परीक्षा दिन गएपछि परीक्षा केन्द्रबाहिरको खेलमैदानमा एम्बुलेन्स पार्किङ गरी चालक साह एम्बुलेन्सभित्रै मस्त निद्रामा सुतेका हुन् । सञ्चारकर्मीले एम्बुलेन्सको फोटो खिच्न थालेपछि मात्र चालक साह ब्युँझिएका थिए । उनले गल्ती भएको भन्दै गाडी परीक्षा केन्द्र नजिकबाट अन्यत्र लगेका थिए ।


सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एम्बुलेन्स परीक्षा केन्द्रमा गएकै बखत थाहा पाएको भए नियन्त्रणमा लिन सक्ने बताउँदै विद्यार्थी लिएर गइसकेकाले उदयपुर र सिरहा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी बिरामी बोक्ने एम्बुलेन्सले विद्यार्थी ओसारेका विषयमा जानकारी गराई आवश्यक कारबाहीका लागि आग्रह गरेको बताए ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?