१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मरिच–केराउका आयात बढ्यो

शंकर आचार्य

पर्सा — तेस्रो मुलुकबाट आयात गरेर भारत तस्करी गरिने हरियो केराउ र मरिचको आयात निरुत्साहित हुनुको साट्टा झन् बढदो छ । यी दुवै वस्तु भित्रिने मुलुकको मुख्य नाका सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांकले अघिल्लो वर्षको तुलनामा गत आवमा आयात बढेको छ ।

मरिचको कारोबारमा लाभ उठाइरहेका कारोबारीले त्यसको मागभन्दा अत्यधिक बढी आयात गरेको वास्तविकता खुलेपछि बढी लाभ हुने केराउको आयात र कारोबारमा पनि सकृय भएको संकेत गर्छ । अघिल्लो आवमा यो नाका हुँदै १ अर्ब ९३ करोड २ लाख १४ हजार २ सय ६१ रुपैयाँ बराबरको ५ करोड १ लाख १४ हजार ७ सय २ किलो केराउ आयात भएको थियो ।


गत आवमा ६ अर्ब १६ करोड १२ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको १५ करोड २१ लाख ९४ हजार ८ सय ३३ किलो केराउ आयात भएको छ । परिमाणको हिसाबले अघिल्लो आवभन्दा गत आवमा ३ गुना बढी केराउ आयात भएको छ । अघिल्लो आवमा यो नाका हुँदै २ अर्ब ४२ करोड ४५ लाख ५५ हजार रुपैयाँ बराबरको ६३ लाख ७५ हजार ९ सय ६५ किलो मरिच आयात भएको थियो । गत आवमा ३ अर्ब १७ करोड ३० लाख ५१ हजार ४ सय ९९ रुपैयाँ बराबरको ७५ लाख ९८ हजार ८ सय ६१ किलो मरिच आयात भएको छ ।


वीरगन्जका कतिपय व्यापारीको पसल तथा गोदाम वरपर बिहानैदेखि भारतबाट आएका पोके तस्कहरूको भिड लाग्छ । कतिपयले पोकामा, केहीले मोटरसाइकलको डिकीमा र केहीले शरीरमा लुकाएर पनि मरिचको तस्करी गर्छन् । नेपालबाट भारत पुग्ने मरिचले दोब्बरभन्दा बढी मूल्य पाउने गरेको छ । तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट ल्याउन सहज भएकाले बढी सुक्खा बन्दरगाह नाकाबाट आयात हुने गरेको छ ।


सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत विकास साहका अनुसार मरिच भियतनामबाट आयात हुन्छ भने हरियो र पहेलो केराउ क्यानाडा तथा अष्ट्रेलियाबाट आयात हुन्छ । मरिचको आयात गर्दा २० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । गत आवसम्म भन्सार शुल्क १० प्रतिशत रहेकोमा चालु आवदेखि वृद्धि गरेर २० बनाइएको छ । अघिल्लो आवमा भन्सार शुल्क ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको थियो । तैपनि यसको आयात अनुमान गरिएजस्तो निरुत्साहित हुन सकेको छैन ।


केराउको आयात गर्दा हाल भन्सार शुल्क १५ प्रतिशत लाग्छ । गत आवसम्म भन्सार शुल्क १० प्रतिशत रहेको थियो । त्यसअघि ५ प्रतिशत भन्सार शुल्क लाग्थ्यो । यसको आयातमा अन्य शुल्क लाग्दैन । केराउ तस्करहरूले साइकल, टायरगाडा, ट्याक्टर, ठेलागाडा आदिमा ढुवानी गरी यसको भारत तर्फ तस्करी गरेका छन् । जिल्लाको जानकीटोला, भिष्वा, धोरे लगायतका नाकाबाट रातको समयमा बढीजसो यसको भारत तस्करी हुन्छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?