युवतीको शंकास्पद मृत्यु

घटना भएको १० दिन बितिसक्दा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छैन
भूषण यादव

वीरगन्ज — वीरगन्ज माईस्थानस्थित एक मःमः पसलबाट साथीहरूसँगै नास्ता खाएर निस्किएको एक घण्टापछि २३ वर्षीय रेश्मा ठाकुर घण्टाघर चोकनजिकै भुइँमा लडेको अवस्थामा भेटिइन् । नारायणी अस्पताल पुगेको केही बेरमा उनको मृत्यु भयो ।

घटना भएको १० दिन बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाएको परिवारको आरोप छ । वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरकी रेश्मा एक निजी विद्यालयकी लेखापालको रूपमा कार्यरत थिइन् ।

‘दिदीहरूको बिहे भइसकेको र आमा बितिसक्नुभएकाले बिरामी बुवाको सहारा भनेकै रेश्मा थिइन्,’ उनका भिनाजु रामकुमार साहले भने, ‘उनी आत्महत्या गर्ने केटी नै थिइनन् । उनको मृत्युको कारण प्रहरीले अनुसन्धान गरी बाहिर ल्याइदिनुपर्छ, १० दिन बितिसक्दा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छैन ।’

गत साउन १२ मा दिउसो करिब साढे २ बजेको समयमा रेश्मा घरबाट ५० रुपैयाँ रिक्सा भाडा लिएर निस्केको थिइन् । त्यस दिन उनी बिदामा बसेको थिइन् । उनका आफन्तले रेश्मालाई साँझ करिब ५ बजेको समयमा माईस्थानको मःमः पसलमा प्रवेश गरेको र साढे सात बजेतिर निस्केको देखेका थिए ।

दुई केटी र एक जना केटा साथीसँग रेश्मा बाहिर निस्केको आफन्तको भनाइलाई उद्धृत गर्दै रामकुमारले भने, ‘साथीहरूसंँगै निस्केको करिब आधा घण्टामा घण्टाघरमा रेश्मा लडेको अवस्थामा फेला परिन् ।’ दुई केटी साथीमध्ये एकले रेश्मालाई अस्पताल पुर्‍याएकी थिइन् । ‘नास्ता गरेको होटलबाट रेश्माको घर पश्चिममा पर्छ,’ उनले भने, ‘उनी उत्तरतर्फ रहेको घण्टाघरतर्फ किन गइन्, यो अनुसन्धानको विषय हो ।’ मःमः पसलकी सञ्चालिकाले रेश्माका साथीहरूले बाहिरबाट भेज मःमः ल्याएको जनाएकी छन् । सञ्चालिका सञ्जु नेवाका अनुसार होटलमा बियर र कोक खाएका थिए ।

‘बजारमै भएको बेला करिब साढे ८ बजेतिर रेश्माले विष सेवन गरेको र अस्पतालमा भर्ना भएको खबर आयो,’ रामकुमारले भने, ‘नारायणी अस्पताल पुग्दा उनको अवस्था नाजुक थियो, चिकित्सकले बाहिर लैजानका लागि एम्बुलेन्स खोज्न भनेका थिए, एम्बुलेन्स ल्याउँदा उनको मृत्यु भइसकेको थियो ।’

मृतकका दिदी पूजा साहका अनुसार रेश्मालाई एउटा केटा साथीले बारम्बर ‘टर्चर’ दिँदै आएका थिए । ‘रेश्माले फोन नउठाउँदा अर्को बहिनीको मोबाइलमा फोन गरी उसको बारेमा खोजबिन गर्थ्यो,’ उनले भनिन्, ‘घटनाको दिनदेखि ती केटा पनि घर वरिपरि देखापरेका छैनन्, नत्र उनी आइराख्थे ।’ रेश्माका केटी साथीहरू पनि घरमा नआएको उनले सुनाइन् । रेश्माको फोनबाट फेसबुक, वाट्सऐपलगायतका डाटाहरू डिलिट गरिएको उनले बताइन् ।

रेश्माले घरबाट लगाएर गएको लुगा चेन्ज गरिएको परिवारजनले दाबी गरेका छन् । ‘मृतकका भिनाजुका अनुसार नास्ता खाएर आ–आफ्नो घर गएका साथीहरूमध्ये एक जना रेश्मा लडिरहेको ठाउँमा कसरी पुगिन्,’ रामकुमारले भने, ‘प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरेकै छैन् ।’ प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान अगाडि बढाउने जनाए । ‘पोस्टमार्टम रिपोर्ट नआउन्जेल कसैलाई ल्याएर थुन्न मिल्दैन,’ उनले भने, ‘हामी अनुसन्धानमै छौं ।’

प्रकाशित : श्रावण २२, २०७६ १०:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कृष्ठरोगीको कन्तविजोग

रोग टर्‍यो, निकाला कायमै
कान्तिपुर संवाददाता

रौतहट — असार अन्तिमको बाढीले खोलाको डिलैमा रहेको झुपडी डुबानमा पर्‍यो । ६२ वर्षीय इनरदेव राम गाउँबाट निकालामा परेपछि त्यही झुपडीमा आश्रय लिइरहेका छन् । 

बाढीको बेला मानिसको कोकोहोला सुनेर उनी झुपडीबाहिर निस्कँदा चारैतिर जलमग्न देखे । झुपडीबाट पानीको भेल बग्न थाल्यो । खोलाको तटबन्धमा झरीमा रुझ्दै रामले त्यति बेलाज्यान जोगाए ।

रौतहटको परोहा नगरपालिका ५ नमनगरा टोलका रामलाई कुष्ठरोगी लागेपछि गाउँ निकाला गरिएको छ । ‘रातिको समय कता जानु । जताततै पानी नै पानी थियो,’ उनले भने, ‘बाँचिन्छजस्तो लागेको थिएन । नहरको डिल भएर धन्न जोगिएँ ।’ चैत–वैशाखमा आएको हावाहुरी, असिना पानीको पीडाबाट उम्केका राम डुबानले झनै त्रासमा परेको सुनाउँछन् ।

शरीरमा लागेको कुष्ठरोग निको भए पनि लामो समयको नहरको उनको बास टुंगिएको छैन । कृष्ठरोगी भएकै कारण उनी गाउँबाट दुई पटक निकालामा परे । रोग निको भए पनि गाउँलेहरू उनलाई स्विकार्न सकेको छैन । त्यसैले उनको बसाइ कष्टकर बनेको छ । रामलाई समाजमै बस्न मन छ । तर, गाउँलेहरू निर्दयी हुँदा मागेरै गुजारा चलाउन उनी विवश छन् ।

‘आफ्नै घर–परिवारका सदस्यबाट अवरोध भएपछि गाउँ फर्कने इच्छा अधुरै छ,’ उनले भने, ‘अहिले स्वस्थ्य छु । झुपडीको बासले स्वास्थ्य झन् खराब होला ।’ दाताले सहयोग गरेको रकमले उनी खाद्यान्न किन्छन् ।

७ वर्षअघि उनको शरीरका केही भागमा फोका देखियो । लगत्तै उपचारका लागि उनी भारतको पटना गए । त्यहाँ केही समय औषधि सेवनपछि उनको रोग निको भयो । घर आएर केही समयपछि कमाउन पन्जाब गए । त्यहाँ धान काट्ने काम गरे । बाँया औंलामा फेरि सानो फोको आउन थाल्यो । त्यही औषधि गरे ।

औषधिको असरले रोग झनै बल्झियो । त्यहाँ कुष्ठरोग लागेको प्रमाणित भयो । उनको बायाँ हातको एउटा औंला झर्‍यो । बायाँ खुट्टामा एउटा पनि औंला छैन । दायाँको २ वटा झरेको थियो । रोगले अपांग बनाएपछि उनी पीडामा परे । त्यसैबेला श्रीमती सुनीता देवीको मृत्यु भयो । त्यसको ठीक एक वर्षपछि ९ वर्षकी छोरीको मृत्यु भयो । ६ वर्षभित्र उनको ४ छोरा र एक छोरीको मृत्यु भयो । परिवारका सबै सदस्यको मृत्युपछि थप पीडामा परे ।

प्रकाशित : श्रावण २२, २०७६ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×