समातियो खसीबाख्रा खाने गोही

अवधेशकुमार झा

राजविराज — एक सातादेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियामा आतंक मच्चाउने गोहीलाई नियन्त्रणमा लिएको छ । गोही पाँचफिटको रहेको सप्तरीका एसपी मनोज यादवले बताए । 

योगिनियाको वैष्णेदेवी मन्दिर र कोसीको पूर्वी तटबन्धभन्दा पूर्व रहेको पोखरीमा कोसीको बाढीसँगै आएको दुईवटा गोहीमध्ये एउटालाई मात्र नियन्त्रणमा लिन सकिएको हो । अर्को गोही भने सोही पोखरीमै रहेको छ ।

एकसातादेखि योगिनिया क्षेत्रका स्थानीयहरू खसीबाख्रा लिएर कोसीको पलार तर्फ जाँदा दुवै गोहीले ती खसीबाख्रा निल्दै आएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए । सातदिनमा एक दर्जनभन्दा बढी बाख्रा ती गोहीले खाएको उनले बताए ।

बस्ती नजिकै पोखरी रहेकाले स्थानीय बासिन्दाहरूलाई गोहीका कारण हिँडडुलमा समेत समस्या भएपछि योगिनिया क्षेत्रमा आतंक नै फैलिएको थियो ।हनुमाननगर कंकालिनी नगरपालिकालेआइतबार बिहानै ठूलो जाल ल्याएर स्थानीय तथा प्रहरीको सहयोगमा पोखरीबाट दुवै गोही नियन्त्रणमा लिन प्रयास गरे पनि आइतबार दिउँसोसम्म सम्भव हुन सकेको थिएन । गोही नियन्त्रणमा लिनका लागि बिहानैदेखि नगरप्रमुख शैलेशकुमार साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक मनोज यादव सहितको टोली उक्त स्थानमारहेका थिए ।

दिउँसो कोसी टप्पु वन्यजन्तु आरक्षबाटआएको टोलीले पोखरीबाट केही पानी बाहिरनिकाली एउटालाई साझ नियन्त्रणमा लिन सफल भएको हो ।

साँझ परिसकेकाले अर्को गोही खोज्ने कार्य गर्न नसकिएको तथा पोखरीभित्रै रहेको अर्को गोहीलाई नियन्त्रणमा लिने प्रयास गरिने एसपी यादवले बताए ।नियन्त्रणमा लिईएको गोहीलाई कोसी टप्पु वन्यजन्तु आरक्षको जिम्मा लगाइएको छ । उक्त गोही आरक्षकै संरक्षित क्षेत्रमा छोडिने एसपी यादवले बताए । अर्को गोही पोखरीमै रहेका कारण स्थानीयवबासी त्रसित छन् ।

नगरपालिकालाई सावालाख घाटा
गोही पोखरीमा पसेका कारण हनुमाननगर कंकालिनी नगरपालिकालाई १ लाख २५ हजार रुपैयाँ घाटा भएको छ ।

नेयर शैलेशकुमार साहका अनुसार गोहीले स्थानीयका बाख्राबाख्री मात्रै खाएनन् नगरपालिकाको स्वामित्वको उक्त पोखरीभित्र रहेका माछा समेत खाएको तथा नियन्त्रणमा लिने क्रममा पोखरीको पानी बगाउनुपरेकाले पोखरीका ठेकेदारलाई एक वर्ष १ लाख २५ हजार रुपैयाँ छुट दिनुपरेको छ । उनले गोही नियन्त्रणका लागि वन कार्यालय र आरक्षले समयमै जिम्मेवार नहुँदा नगरपालिकालाई
ठूलो घाटा बेर्होनुपरेको बताए ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

हराएको ६ वर्षपछि घर

कान्तिपुर संवाददाता

पर्सा — भारत बिहारको बेतियास्थित बाल कल्याण गृहमा आश्रित पर्सा ठोरीका १८ वर्षीय किशोर प्रेम परियार ६ वर्षपछि स्वदेश फर्केका छन् । वीरगन्जका सामाजिक अभियन्ता प्रकाश थारू र प्रेमकी आमा विष्णुमाया बेतिया पुगेर प्रेमलाई फर्काई ल्याएका हुन् । 

थारू तथा जनकपुरका सामाजिक अभियन्ता सरोज राय समेतको झन्डै ६ महिनादेखिको प्रयासपछि प्रेमको स्वदेश फिर्ती तथा आमासँग भेट सम्भव भएको हो । ५ महिना अघि थारू र राय बेतिया पुगेर विष्णुमायालाई छोरा प्रेमसँग भेटाएका थिए । त्यति बेला उनीहरूबीच ५ वर्षपछि भेट भएको थियो । त्यति बेला भारतको बिहार सरकारको समाज कल्याण विभागबाट प्रेमलाई फिर्ता पठाउने स्विकृति अनिवार्य भएकाले उक्त स्विकृतिको कागजी प्रकृया मिलाउन ५ महिना समय लागेको अभियन्ता थारूले बताए ।

आमासहित स्वदेश फर्केका प्रेमले अब गाउँमै बसेर रोजगारी गर्ने र कहिल्यै बरालिएर नहिँड्ने बताए । ४ कक्षासम्म मात्र पढेका उनले त्यति बेला आफू पारिवारिक किचलोका कारण दिक्क लागेर भागेको बताए । ५ वर्षअघि घरबाट निस्किएपछि उनले भारतको हरियाणामा इँटाभठ्ठामा मजदुरी गरेको बताए । त्यहाँबाट मुम्बई आए लगत्तै प्रहरीले उनलाई स्थानीय एक उद्योगमा मजदुरी गरिरहेको अवस्थामा फेला पारेर स्थानीय बाल कल्याण गृहको जिम्मा लगाएको थियो ।

गृहमा प्रेमलाई भेटेका भारत सिक्किमका सामाजिक अभियन्ता राजु नेपालीले उनको बारेको सूचना आफ्नो सामाजिक सन्जालमा पोष्ट गरेका थिए । राजुका सामाजिक सन्जाल साथी जनकपुरका सरोज रायले उक्त सूचना देखेपछि पर्साका अभियन्ता प्रकाश थारूलाई खबर गरे । थारूले प्रेमको घर, ठेगाना तथा अभिभावक समेत पत्ता लगाई प्रेमलाई फर्काउन आवश्यक पहल गरे ।

मुम्बई प्रहरीले प्रेमलाई उनको नेपालको घरको नजिकको पायक पर्ने भन्दै बिहारकै सितामढी बाल कल्याण गृहको जिम्मा लगाएको थियो । तर उक्त गृहभन्दा बेतियाको गृह झन पायक पर्ने भएपछि उनलाई बिहार प्रहरीले ७ महिना अघि बेतिया बाल कल्याण गृहको जिम्मा लगाएको थियो ।

प्रेमकी आमा विष्णुमायाले करिब ६ वर्षअघि पति सुशिन्द्र अर्की पत्नी ल्याएर रोजगारीका लागि भारत छिरेपछि पतिसँगको आफूहरूको सम्पर्क टुटेको बताइन् ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्