१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पाइपलाइनका लागि काटिएका रूख पुनर्निर्माणमा

कान्तिपुर संवाददाता

पर्सा — मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि काटिएका पर्सा राष्ट्रिय निकुञ्जका रूख पुनर्निर्माणमा प्रयोग गरिएका छन् । काष्ठमण्डप पुनर्निर्माण, भूकम्प प्रभावितको घर पुनर्निर्माणमा ती काठ प्रयोग भइरहेका छन् । 

टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाले उक्त काठको व्यवस्थापन गरिरहेको छ । शाखा प्रमुख सुमन सिंहका अनुसार भूकम्पले क्षतिग्रस्त राजधानीस्थित काष्ठमण्डप मन्दिर, भूकम्प प्रभावितका घर पुनर्निर्माणमा प्रयोग भइरहेको छ ।


यसबाहेक स्थानीय मध्यवर्ती सामुदायिक वनलाई पनि ती काठ भागबण्डा गरिएको छ । परियोजनाका लागि कुल ६ हजार ५ सय ६३ रूख र त्यस अतिरिक्त पातला रूख (पोल) काटिएका थिए । १० इन्च डायमिटरभन्दा पातला रूखलाई पोल भनिन्छ । यो सामान्यतया झ्यालढोका तथा फर्निचर निर्माणमा उपयोगी हुँदैन ।


६ हजार ५ सय ६३ रूखबाट ३४ हजार क्युफिट काठ र २ सय ६२ चट्टा काठ निस्किएको सिंहले बताए । काठमध्ये करिब १७ हजार क्युफिट काठ राधाकृष्ण र भीमेश्वर सामुदायिक वनलाई दिइएको छ । यसबाहेक २ हजार ३ सय क्युफिट काठ काष्ठमण्डप पुनर्निर्माणका लागि उपलब्ध गराइएको छ । टिसिएनको हेटौंडास्थित चिरानमा काठ चिरेर काष्ठमण्डपलाई काठ उपलब्ध गराइएको सिंहले बताए । बाँकी काठ भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा प्रयोग भइरहेको छ ।


काठ बाहेकका दाउरा पनि सामुदायिक वन उपभोक्ता समितिलाई वितरण गरिएको छ । ४५ चट्टा दाउरा पर्सा, २० चट्टा बाराका उपभोक्तालाई बितरण गरिँदैछ । ३५ चट्टा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिलाई दिइएको छ । एक सय चट्टा पशुपति आर्यघाटमा दाह संस्कार प्रयोजनका लागि उपलब्ध गराइँदैछ ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?