कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाग्मतीको जल मढियामा

ओमप्रकाश ठाकुर

सर्लाही — साउन महिनाको आइतबार र सोमबार शिवालयमा चढाउने जल लिनका लागि वाग्मती नदीमा शनिबार हजारौं भक्तजनको घुइँचो लागेको छ । 

वाग्मतीको जल मढियामा

पवित्र नदीको जल चढाए मनले चिताएको पुग्ने विश्वासका साथ जल लिन भक्तजनको भिड लागेको हो । विशेष गरी भारतको सीतामढीस्थित मढिया मन्दिरमा चढाउने जल लिनका लागि वाग्मती नदीमा भक्तजनको भिड लाग्ने गरेको छ ।


मढिया मन्दिरमा आइतबार र महोत्तरीको टुटेश्वर मन्दिरमा सोमबार जल चढाइन्छ । हजारौं तीर्थयात्रीको भिडले वाग्मती सहित पूर्व–पश्चिम राजमार्ग तथा सदरमुकाम मलंगवा जाने सडक अस्तव्यस्त बन्ने गरेको छ ।


पालना भएन ट्राफिक नियम

तीर्थयात्राका नाममा बिना हेल्मेट ४ जनासम्म चढेर सयौं मोटरसाइकल अनियन्त्रित ढंगले कुदाइँदा पूर्व–पश्चिम राजमार्ग तथा नवलपुर–मलंगवा सडकखण्ड आसपासका बासिन्दा शनिबार राति त्रसित बनेका थिए । राजमार्गमा तीर्थयात्रीसहित सवारीसाधनको भीड व्यवस्थापन गर्न प्रहरीलाई हम्मे परेको थियो ।


पैदल तथा मोटरसाइकलमा सवार बोलबम तीर्थयात्री तथा तीर्थयात्री चढेर वाग्मतीसम्म आएका ट्रयाक्टर, टेम्पो र मोटरसाइकल पार्किङले वाग्मती नदी किनारसहित सदरमुकाम मलंगवासम्मकै सडक अस्तव्यस्त बनेको थियो । शनिबार राति राजमार्गको वाग्मती र लखनदेही पुलमा घन्टौंसम्म जाम लागेको थियो ।


एकैदिन हजारौं तीर्थयात्री आएकाले व्यवस्थापनमा निकै कठिनाइ भएको बोलबम सेवा समिति वाग्मतीका अध्यक्ष जय गोलेले बताए । साउन महिनाभर वाग्मती नदीमा जल लिनका लागि ५ लाख हाराहारीमा भक्तजन आउने गरेको समितिको दाबी छ । वाग्मतीमा भारतीय भक्तालु सहित सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली लगायत जिल्लाबाट बोलबम भक्तजन जल लिन आउने गरेका छन् ।


बोलबमका नाममा विकृति

भक्तजनको भिड लाग्ने वाग्मतीमा बोल बमको नाममा विकृति पनि देखिएको छ । भक्तजनले जल लिइरहँदा नक्कली भारतीय बोल बमले रक्सी खाने र घर लिएर फर्कने गरेको पाइएको छ । नेपालमा मदिराजन्य पदार्थ खुला सेवन गर्न पाइने भएका कारण भारतीय युवा बोल बमको भेष धारण गरेर वाग्मती आउने गरेका हुन् ।


शनिबार पहेंलो वस्त्र धारण गरेका नक्कली बोल बमहरूको राजमार्गको छेउछाउका कोल्डस्टोर र होटेलमा घुइँचो लागेको थियो । बोल बमको भेषमा आउँदा जाँच नहुने भएका कारण मदिराजन्य पदार्थको कारोबार फस्टाएको छ । रक्सीसँगै अवैध मानिएको गाँजा समेत बाले बमले झोलामा राखेर भारत पुर्‍याउने गरेको स्थानीय बताउँछन् ।


बागमती नदीमा आएका भक्तजनमध्ये अधिकांश युवा युवती छन् । गाउँघरमा कडाइ महसुस गरेका युवायुवती बोलबमको बहानामा रमाइलो गर्ने पनि छन् । जल लिन आउने अधिकाँश मोटरसाइकलमा युवायुवतीको जोडी देखिन्छ ।


ट्रयाक्टरको ठक्करबाट तीर्थयात्रीको मृत्यु

नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत कविलासी ७ मा ट्रयाक्टरको ठक्करबाट शनिबार राति एक बोलबम यात्रीको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका–९ का हृदय दासकी १७ वर्षर्यीा छोरी रामशिला गम्भीर घाइते भएकी थिइन् ।


वाग्मतीबाट जल लिएर भारतको मढिया मन्दिरमा चढाउनका लागि मोटरसाइकलमा जाँदै गर्दा दास चढेको बीआर३०भी ७१८७ नम्बरको मोटरसाइकललाई बोलबम तीर्थयात्री चढेकै ट्रयाक्टरले ठक्कर दिएको थियो ।


दासलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जतर्फ लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बोलबम तीर्थयात्री बोकेको ट्रयाक्टर फरार छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?