१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्सा निकुञ्जमा २ ‘एनिमल पास’

शंकर आचार्य

पर्सा — वन्यजन्तु आवागमन हुने त्रिभुवन राजपथको पथलैयादेखि अमलेखगन्जसम्मको ८ किमि क्षेत्रमा ‘एनिमल अन्डर पास’ बनाउनुपर्ने निकुञ्जकर्मीहरूले सुझाव दिएका छन् ।

पर्सा निकुञ्जमा २ ‘एनिमल पास’

हात्ती, बाघ, चित्तल आदिदेखि सर्प, गोहोरो आदि सरीसृप तथा ससाना किट समेत आवागमन गर्ने राजपथको यो खण्डको समानान्तर मोतिहारी अमलेखगन्ज पाइप लाइन निर्माण गरिएपछि पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तुको परम्परागत पदमार्ग बिथोलिएको निकुञ्जकर्मीले अनुभव गरेका छन् ।


यसअघि निर्माणाधीन निजगढ काठमाडौं द्रुत मार्गमा वन्यजन्तुको सहज आवागमनका लागि २ वटा एनिमल पास बनाउन निकुञ्ज प्रशासनले द्रुत मार्ग आयोजनालाई सुझाएको थियो । यसपटक भने त्रिभुवन राजपथमै यस्तो पासको आवश्यकता महसुस गरिएको हो । निकुञ्जको घना वन क्षेत्रलाई चिर्दे राजपथको पथलैया अमलेगन्ज खण्ड गुज्रेको छ ।


तर, वन्यजन्तु आवागमनको दृष्टिले यही खण्ड अति महत्त्वपूर्ण र संवेदनशील रहेको छ । उत्तर तर्फ केही दुरीमा चुरे पहाड क्षेत्र र दक्षिणतर्फ पथलैयाको मानव बस्ती पर्ने भएकाले निकुञ्जको पश्चिमी तथा पूर्वी भेगका वन्यजन्तु एक अर्को भागमा आवागमनका लागि राजपथ छिचोल्ने गर्छन् ।


निकुञ्जका प्रमुख संरक्षण अधिकृत समीर महर्जन पछिल्लो ४ महिनायता त्रिभुवन राजपथ छिचोलेर थोरै मात्र वन्यजन्तुले पूर्व–पश्चिम आवागमन गरेको पाइएको बताए । ‘तुलनात्मक रूपमा कम मानवीय गतिविधि भएकाले वन्यजन्तुले परापूर्वकालदेखि आवागमनका लागि निकुञ्जको यो वन क्षेत्र प्रयोग गर्दै आएका थिए,’ उनले भने, ‘तर, यस वर्ष पाइपलाइनका लागि ६ हजारभन्दा बढी रूख कटानसँगै राजपथको पश्चिमतर्फ जग्गा खाली हुन गएपछि त्यसले वन्यजन्तुको परम्परागत पदमार्ग बिथोलिएको छ ।’


हाल यस खण्डमा चार लेन सडक निर्माणको चर्चा पनि रहेको र त्यसो गरिए वन्यजन्तुको आवागमन झनै बिथोलिन सक्ने उनले बताए । यसै गतिमा निकुञ्जको यस क्षेत्रमा विकास निर्माण र मानविय हस्तक्षेप बढै गए वन्यजन्तुको निर्वाध आवागमनका लागि कम्तीमा २ वटा एनिमल पास अविलम्ब निर्माण गरिनु आवश्यक देखिएको उनले बताए । वन्यजन्तुले आफ्नो परम्परागत पदमार्ग बिथोलिएपछि असुरक्षित महसुस गरी लामो समय उक्त मार्ग प्रयोग नगर्ने राम बताउँछन् । ‘हात्ती यस मामिलामा झन् बढी संवेदनशील हुन्छ,’ उनले भने ।


बाघ बढे

संकटापन्न वन्यजन्तु बाघको संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण मुलुककै कान्छो निकुञ्ज पर्सामा एक दशकमा बाघको संख्या चार गुनाले बढेको छ । यस वर्ष निकुञ्जमा डेढ दर्जन बयस्क बाघ देखा परेका छन् ।


निकुञ्जमा बर्सेनि भइरहेको बाघ अनुगमनले यस्तो देखाएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत समीर महर्जनका अनुसार जेडएसएलसँगको सहकार्यमा बर्सेनि निकुञ्जमा जारी शक्तिशाली क्यामेराबाट हुने गरेको अनुगमनले निकुञ्जमा बाघको संख्या बढेको देखाएको हो । यस वर्ष पनि जनवरीदेखि जुन ११ सम्म निकुञ्जमा बाघ अनुगमन गरिएको थियो ।


यस वर्षको अनुगमनबाट निकुञ्जमा डेढ दर्जन बयस्क बाघ देखिएको उनले बताए । निकुञ्ज कार्यालयबाट करिब १५ किमि पूर्वमा हल्खोरिया दह क्षेत्रमा हाल पनि माउसँग २ वटा डमरु देखिएको उनले बताए । करिब ६ महिनाका जस्ता देखिने डमरु हुर्किसकेका छन् । डमरुलाई गणनामा सामेल गर्ने चलन छैन ।


सन् २००९/१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ बयस्क बाघ थिए । २०१३ मा गरिएको यस्तै सर्वेक्षणले ७ वटा रहेको नतिजा देखाएको थियो । हाल रहेका डेढ दर्जन बाघमध्ये ५ भाले र १० पोथी बाघको पहिचान भइसकेको छ । बयस्क बाहेक थप केही ससाना बच्चा रहे पनि तीनको संख्या यकिन हुन सकेको छैन ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?