रित्तियो कोख, गुम्यो सहारा

विदेश जान भिसा पर्खिएका दुई युवक तात्कालिक कामका लागि मेलम्ची खानेपानी आयोजनाको फाइप सफाइमा ज्यान गयो
अवधेशकुमार झा

कनकपटी (सप्तरी) — सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटीकी ४५ वर्षीय जितनीदेवी शुक्रबार मध्याह्नदेखि बेहोस छिन् । होस खुल्दा उनी छोराको नाम लिएर केही बेर बर्बराउँछिन् । आफन्त र छरछिमेकका महिलाहरू उनलाई सम्हाल्न खोज्छन् । तर, उनी छोरा सुरेश साह र शिवकान्त कहिले फर्केर आउने भन्दै फेरि बेहोस हुन्छिन् । बेहोसी अवस्थामा पनि उनको आँखाबाट आँसु बगिरहेको छ ।

रित्तियो कोख, गुम्यो सहारा

जितनीदेवीका दुई छोरा वर्ष २५ का सुरेश र वर्ष २० का शिवकान्त दुवैको मेलन्ची खानेपानी आयोजनाको काठमाडौं बालाजुमा पाइप सफा गर्ने क्रममा शुक्रबार मृत्यु भएको खबर सुनेपछि उनी बेहोस भएकी हुन् । रामविलास साहका दुई श्रीमतीमध्ये जेठी हुन्, जितनीदेवी । कान्छी श्रीमती भने छुटै बस्दै आएकी छन् ।


न्यून आर्थिक अवस्थाको यो परिवारको फुसको दुई कोठे झुपडीजस्तो घरछ । रामविलास दुई महिनादेखि मेलम्ची आयोजनामा कार्यरत छन् । १० कक्षा उत्तीर्ण गरेका दुवै छोरा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । भिसा नआएका कारण तात्कालिक कमाईका लागि सुरेश र शिवकान्त एक महिनादेखि बुवा रामविलाससँगै मेलम्ची आयोजनाको पाइप सफाई गर्ने काममा खटेका थिए ।


‘एक महिनाअघि काममा गएका दुवै दाजुभाइ बीचमा घर फर्किएका थिए । जेठो ११ दिनअघि र कान्छो ५ दिनअघि मात्र घरबाट काममा फर्किएका थिए,’ छिमेकी रामचन्द्र साहले भने, ‘दैव पनि कति निष्ठुरी, दुवै दाजुभाइको एउटै पाइपमा ज्यान लियो ।’


घटनापछि उनको घरमा अहिले आफन्त र गाउँलेको भिड लागेको छ । ‘शुक्रबार मध्याह्न खबर आएपछि उनको परिवार सहित सिंगो गाउँ नै शोकमग्न छ,’ छिमेकी रामचन्द्रले भने, ‘एउटी आमाका दुवै छोराको एकैपटक मृत्यु भएपछि कसको मन थामिन्छ र ?’


आफन्त सुतनीदेवी साहले भनिन्, ‘आफ्नै अगाडि आमाको कोख रित्तिएको छ, अब उनको बुढेसकालको सहारा पनि गुमेको छ ।’ पति रामविलास पनि छोराहरूसँगै काममा रहेका कारण जितनीदेवी घरमा एक्लै बस्दै

आएकी थिइन् ।


पोष्टमार्टम पश्चात दुवै छोराको शव लिएर बुवा रामविलास राजधानीबाट घर तर्फ आउँदै छन् । ‘यस्तो दिन सकैलाई देख्नु नपरोस्,’ दुवै छोराको शव लिएर एम्बुलेन्समा घर फर्किंदै गरेका रामविलासले फोनमा भने, ‘मन थाम्नै सकेको छैन ।’ मृतक दाजुभाइका परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।


प्रकाशित : श्रावण १९, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?