नेपाली बाघ समाउन भारतमा पासो

कान्तिपुर संवाददाता

महोत्तरी — नेपाली जंगलबाट भौंतारिएका २ बाघ भारतको सुरसंड पसेको खबरले सीमावर्ति गाउँमा त्रास बढेको छ । सूचना पाएलगत्तै भारतीय वन विभाग टोलीले बुधबारदेखि सुरसंडको करिरवाना क्षेत्रमा ‘सर्च अपरेसन’ जारी राखेको छ । उनीहरूले पासो थापेर बाघ फसाउने प्रयास गरेका छन् । नेपाली जंगलबाट बाघ सीमापारी गएको भए पनि नेपालका वनकर्मी भने बेखबर छन् ।

सीमापारीका स्थानीयकाअनुसार दुवै नेपाली बाघ महोत्तरी र सर्लाही निकटका सोनवरसा र परिहारको बाटो हुँदै मंलबार राति करिरवाना पुगेका थिए । बस्ती पसेका बाघले भैंसी, खसी, बाख्रालगायत चौपाया खान थालेपछि गाउँले रातभर सुत्न नसकेको जनाइएको छ । एक स्थानीयकाअनुसार बुधबार बिहान करिरवानाबाट दुवै बाघ सुरसन्डनिकटकै बथनाहा क्षेत्रमा प्रवेश गरेका थिए ।

सूचनालगत्तै करिरवाना क्षेत्र पुगेको भारतीय वन विभागको टोलीले घटनास्थलमा दुईथान बाख्रा बाँधेको फलामे पिँजडाको पासो थापेका छन् । ‘बाख्रा देखेर पिँजडामा प्रवेश गर्नासाथ बाघ फस्छन्,’ त्यहाका वनकर्मीको भनाइ उद्धृत गर्दै स्थानीयले जनाए ।

नेपाली सीमा क्षेत्र पार गर्दै बाघ भारत पसेको घटनाबारे महोत्तरीका वनकर्मीले अनभिज्ञता प्रकट गरे । डिभिजन वन कार्यालय महोत्तरीका डीएफओ हेमन्त साहले सीमा पारी गए पनि वन्यजन्तुलाई पक्रने र नियन्त्रण गर्ने कार्य अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताए ।

‘वन्यजन्तुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सीमाले छेकेबार गर्न सक्दैन,’ साहले भने, ‘वन्यजन्तु सीमा वारपार विचरण गर्न स्वतन्त्र छन् । सीमापारी गएका बाघलगायत वन्यजन्तु नियन्त्रणमा लिनु अन्तर्राष्ट्रिय सन्धि सम्झौताको बर्खिलाप हो ।’ भारत पसेको बाघलाई त्यहाँका वनकर्मीले नियन्त्रण गर्न खोजेकोबारे आफ्नो निकायबाट बुझने प्रयास गर्ने उनले बताए ।

प्रकाशित : श्रावण १९, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

गण्डक नहरको दुर्दशा : सडकमा खाल्डो, पुल जीर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डक नहरको सडक र पुल जीर्ण हुँदा पर्सा, बारा र रौतहटका ग्रामीण क्षेत्रका बासिन्दालाई हिंडडुल गर्न समस्या परेको छ । नहरको अधिकांश सडकमा खाल्डाखुल्डी छ । पुलको पत्रपत्र जीर्ण बनेको छ ।

शंकर आचार्य (पर्सा)


झन्डै ४५ वर्षअघि बनेको नहरको सर्भिस रोडमा अढाई दशकयता सर्वसाधारणले यात्रुवाहक तथा मालवाहक सवारीसमेत चलाउन थालेपछि सडकको दुरावस्था भएको हो । पर्सा, बाराका विभिन्न स्थानमा नहरको ग्राभेल सडक भास्सिनुका साथै खाल्डाखुल्डी भएको छ ।

३ वटै जिल्लाका विभिन्न स्थानीय तहले नहरमा सडक कर उठाउँदै आएका छन् । तर, सडक मर्मतसम्भारमा कुनै निकायको चासो छैन ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर एवम् सूचना अधिकृत सुरेश साह पर्साको जगरनाथपुरदेखि रौतहटको वाग्मती खोलासम्म नहरको लम्बाई ८१ किमि रहेको र नहरको तल सर्भिस रोड रहेको बताउँछन् । कार्यालयले आफ्नो प्रयोजनमा मात्र प्रयोग गर्दै आएको नहरको सर्भिस रोड २०५० साल ताका स्थानीय नेताको दबाबमा खुला भएपछि यसको दुर्दिन सुरु भएको हो । सडक मात्र नभई यसमा रहेका पुल पुलेसा पनि अत्यधिक भार वहनका सवारी साधनको आवागमनका कारण जीर्ण भइसकेको साह बताउँछन् ।

‘नहरको सर्भिस रोडमा पर्सा र बारामा ग्राभेल छ भने रौतहटमा पक्की सडकनै बनाइएको छ, यसका लागि कार्यालयसँग अनुमति भने लिइएन,’ उनले भने, ‘हलुका सवारी साधनका लागि मात्र डिजाइन गरिएको पुल र सडकमा निर्वाध रूपले भारी सवारी साधन गुडिरहेका छन्, हामीले अझै पनि कार्यालयका भारी उपकरण यो सडक भएर चलाउँदैनौं, तर, हाम्रै अघिल्तिरबाट अन्यले भारी सवारीसाधन हुइँक्याएर लगेको देख्दा मन कटक्क हुन्छ ।’

विगतमा ४ सय ५० कर्मचारी रहेको कार्यालयमा हाल जनशक्ति घटेर ५० मा झरेको साह बताउँछन् । यस्तो अवस्थामा कार्यालयको काम वा नहरका संरचनाको रेखदेख कुन कामलाई प्राथमिकता दिने भनी आफूहरू पनि अन्योलमा रहेको उनले बताए । ‘पहिले नहरमा चौकिदार, ढल्पा, गेट अपरेटर जस्ता कर्मचारी प्रशस्त हुन्थे, अब सबैले अनिवार्य अवकाश पाइसके, उनीहरूको अवकाशसँगै दरबन्दी पनि समाप्त भएको छ, सीमित जनशक्तिले धान्न सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘रेखदेख र नियमित मर्मत सम्भार अभावले नहर, यसका पुल, साइफल, सर्भिस सडक आदि समेतको स्थिति नाजुक बनिसकेको छ ।’

पर्सा, बारा र रौतहटका लागि वैकल्पिक तथा ग्रामीण भेगको यो सडकका पुल पुलेसा भत्किएर जुनसुकै बेला ठूलो मानवीय क्षति हुनसक्ने सम्भावना रहेको सामाजिक अभियन्ता प्रकाश थारू बताउँछन् । ‘गण्डक नहर र यसको सडक यी तीन वटै जिल्लाको मेरुदण्ड हो,’ थारूले भने, ‘हामीलाई नहर मात्र होइन सडक पनि चाहिन्छ, त्यसलाई बचाउने र आउने पुस्ताका लागि जोगाई राख्नु नारायणी सिँचाइ कार्यालयको जिम्मेवारी मात्र होइन, हामी सबैको हो ।’
जीर्ण भएका पुल पुलेसाको ठाउँमा नयाँ पुल बनाउन मात्र ४ अर्ब रुपैयाँभन्दा बढी बजेट लाग्ने अनुमान इन्जिनियर साहको छ । नहरका दुई दर्जन पुल जीर्ण भइसकेका छन् । तत्कालै मर्मत सम्भार नगरिए केही जुनसुकै बेला पनि क्षतिग्रस्त हुने अवस्थामा पुगेका छन् । यो नहरमा १४ ठूला पुल छन् । अन्य ससाना कल्भर्ट तथा पुलेसाहरू १ दर्जन हाराहारीमा छन् । नहर खण्डमा ओरिया, सिक्टा, गंगोल, धुताहा, नौरंगिया, तिलावे, सिर्सिया, बंगरी, पसाहा, भुतही, अडुवा, लालबकैया, वाग्मती र भकुवा खोलामा गरी १४ वटा ठूला पुल छन् ।

पर्साको सिर्सिया खोलाको पूर्व तर्फको पहिलो पिलर र बारामा बंगरी खोलाको पुल पूर्वी पिलर पनि भासिएकाले पुल क्षतिग्रस्त हुने प्रवल सम्भावना छ । अधिकांश पुलका स्ल्याब डेढदेखि दुई इन्चसम्म भासिसकेकाले सबै पुल जोखिममा छन् । सिर्सिया खोलाको नयाँ पुल बनाउन मात्र कम्तीमा २५ करोड रुपैयाँ आवश्यक पर्छ ।

प्रकाशित : श्रावण १९, २०७६ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्