दुःख गरेर रोपियो, बाढीले डुबाइदियो 

भरत जर्घामगर

सिरहा — लगातारको वर्षा र डुबानले सिरहामा धान रोपाइँ प्रभावित भएको छ । रोपाइँको समय पानी नपर्नु र पछि लगातारको वर्षाले लामो समयसम्म डुबान हुनुले यस वर्ष जिल्लामा रोपाइँ प्रभावित भएको हो ।

मध्य साउन लागिसके पनि सिरहामा ६० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख भगीरथ यादवले जनाए । ‘यतिखेरसम्म रोपाइँ सकिसक्नुपर्थ्यो,’ उनले भने, ‘लगातारको वर्षा र डुबानले यस पटक धान रोपाइँ ढिला भएको छ ।’ उनका अनुसार रोपाइँ ढिला हुँदा उत्पादन प्रभावित हुन्छ र किसान मर्कामा पर्छन् ।


सिरहामा धान खेतीका लागि ६४ हजार ४ सय ७० हेक्टर खेतीयोग्य जग्गामा बर्सेनि ७२ हजार ३ सय टन धान उत्पादन हुँदै आएको तथ्यांकमा छ । सिरहाका किसानले स्थानीय जातको बासमती, सोना मन्सुली, मिथिला, हर्दिनाथ, राधा–११ तथा सावित्री जातका धान लगाउँदै आएका छन् ।


बाढीले क्षति

सिरहाका ६ सय हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । असारमा पर्याप्त वर्षा नहुँदा कृषि मिटर प्रयोग गरी रोपाइँ गरिएको ६ सय हेक्टर खेतमा बाढी पस्दा क्षति पुगेको छ । कमला नदीको पूर्वी तटीय क्षेत्रका सिरहा, कल्याणपुर, कर्जन्हा र गागन खोलाको किनारमा रहेको औरही, अर्नमा, लगाडीगोठ, लगडिगढियानी तथा बलान पश्चिमका भगवानपुर, कल्याणपुर, सखुवानानकरकट्टी, नौडेगालगायत क्षेत्रका धान खेतीमा क्षति पुगेको हो ।


कृषि मिटरको प्रयोग गरी किसानले असार १५ देखि नै रोपाइँ गरेका थिए । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख यादवले बाढीले पहिलेदेखि रोपाइँ भएका केही खेत डुबानमा परेर क्षति पुगेको बताए । ‘किसानले रोपाइँ गरेको धानको बीउ, खेतमा छरेको मल र किसानले लगाएको तरकारी बालीमा समेत गरी सिरहाको कृषि क्षेत्रमा ९० लाखदेखि एक करोडसम्म क्षति पुगेको छ,’ उनले भने ।

वृद्धवृद्धाको भर

युवाजति वैदेशिक रोजगारीका लागि विदेशिएपछि मजदुर अभावमा खेतीपाती वृद्धवृद्धाले धान्नुपरेको छ । मुख्य बाली धान रोपाइँको समयमा श्रमिक अभाव हुने गर्छ । ‘धान रोपाइँका लागि कृषि मजदुर नै पाइँदैन,’ २ बिघा जग्गामा धान रोपाइँ सुरु गरेका सिरहा छर्रापट्टीका ५२ वर्षीय सीताराम साहले भने, ‘पत्नी रामसखी र बुहारी मिलेर धान रोपाइँ थालेका छौं ।’ उनका चार छोरामध्ये जेठो आनन्द मलेसियामा छन् ।


तीन साना छोरा विद्यालय जान्छन् । ‘खेतीपातीको जिम्मेवारी बुढ्यौली काँधमा परेको छ,’ उनले भने ‘मजदुर पाउँदा खेतीपाती गर्न सहज भए पनि अभावले खेतीमा समस्या सुरु भएको छ ।’ कृषि मजदुरको सहयोगमा धान रोपाइँ चटारोमा तल्लीन सीताराम भन्छन्, ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधै माथि जस्तो छ ।’

प्रकाशित : श्रावण १८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?