भित्रियो डिएपी मल

कान्तिपुर संवाददाता

पर्सा — धान बालीमा छर्ने डिएपी मलको अभाव भएको बेला साल्ट ट्रेडिङ कर्पोरेसको डिएपी मल धमाधम भित्रिन थालेको छ । एक महिना यता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै १२ हजार ५ सय मेटन डिएपी मल आइसकेको छ ।

कर्पोरेसन वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेका अनुसार कुल २० हजार मेटन डिएपी मलको कन्साइन्मेन्टमध्ये १२ हजार ५ सय मेटन मल आइसकेको छ । त्यसमध्ये १० हजार मेटन वीरगन्ज कार्यालयले परिचालन गरेको छ । स्विस सिंगापुर ट्रेडिंग कम्पनीले ग्लोबल टेन्डरबाट उक्त चीनबाट ल्याएको हो ।


कुल मलमध्ये भैरहवा कार्यालयले ५ हजार मेटन मल पाउनेछ । विराटनगर कार्यालयले पाउने ५ हजार मेटन मल जोगबनी नाकामै आउनेछ । भैरहवाको मल वीरगन्जबाट लगिनेछ । इन्डियन पोटास लिमिटेडले ग्लोबल टेन्डरबाट आपूर्ति गरेको मल चीनमा उत्पादित हो । थप युरिया र डिएपी मल क्रमशः भित्रिने उनले बताए ।


वीरगन्ज कार्यालयबाट माग भएका जिल्लामा क्रमशः मल पठाइएको लामिछानेले बताए । माग अत्यधिक भएको र मौज्दात सीमित रहेकाले माग र मौज्दातको तालमेल मिलाएर वितरण गर्नुपर्ने उनले बताए ।


रासायनिक मलको मुख्य बिक्रेता कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जमा भने डिएपी मलको मौज्दात लामो समयदेखि सक्किएको छ । असार २६ यता कम्पनीले डिएपी मल वितरण गर्न सकेको छैन । कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख गोविन्दप्रसाद पराजुलीले कम्पनीमै डिएपी मलको मौज्दात सकिएको बताए । असार २६ सम्म प्रत्येक सहकारीलाई सातामा ५०–५० बोरा डिएपी मल वितरण गरिएकामा त्यस यता मल वितरण गर्न नसकिएको उनले बताए ।


विशाखापटनम बन्दरगाहमा कम्पनीको एउटा कन्साइन्मेन्टको ५० हजार मेटन डिएपी मल आइपुगेको उनले बताए । साउन ३० सम्म उक्त मल वीरगन्ज आई पुग्न थाल्ने सम्भावना रहेको उनले बताए । उक्त मलमध्ये ३० हजार मेटन वीरगन्ज र बाँकी २० हजार मेटन भैरहवा क्षेत्रीय कार्यालयले पाउनेछन् । त्यसपछि डिएपी मलको अभाव नहुने उनले दाबी गरे ।


हाल सिर्सिया सुक्खा बन्दरगाहमा थन्किएको १० हजार मेटन युरिया मल कार्यालयको गोदाममा आइसकेको उनले बताए । माग भए अनुसार कलैया, चन्द्रपुर, भरतपुर, मलंगवा, हेटौंडामा मल पठाइएको र अन्य जिल्लामा पनि पठाउने क्रम जारी रहेको उनले बताए ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारी हाजिर हुन मेयरले रोके

सन्तोष सिंह

धनुषा — समान्य प्रशासन मन्त्रालयले अनुदान रोक्ने चेतावनी दिए पनि स्थानीय तहले समायोजनमा खटिएका कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा हाजिरी गराउन मानिरहेको छैन ।

जनकपुरधाम उप–महानगरपालिका मेयर लालकिशोर साहले शिक्षा शाखामा समायोजन भएर खटिएका शाखा अधिकृत धीरेन्द्रलाल कर्णलाई आइतबारदेखि हाजिरी हुनबाट रोकेको छ । प्रमुख प्रशासकीय अधिकृत सीता परियारले कर्णलाई हाजिरी गराउन तोक लगाए पनि मेयर साहको निर्देशनमा समायोजन पत्र कार्यालयमा दर्ता गर्न रोकेपछि शाखा अधिकृत कर्ण अन्योलमा छन् ।

अधिकृत कर्ण ललितपुरको गोदावरी नगरपालिकाबाट जनकपुरधाम उप महानगरपालिकामा समायोजन भएका हुन् । ‘प्रशासकीय प्रमुखले तोक लगाएको पत्र लिएर दर्ता फाँटमा पुग्दा मेयरको आदेश भन्दै दर्ता गर्न मानेन्न,’ अधिकृत कर्णले भने, ‘मेयर साहले कार्यालयमा कर्मचारी आवश्यक नरहेको भन्दै फिर्ता जान भने । फिर्ताका लागि पत्र दिए पनि मेयरले त्यसमा हस्ताक्षर गर्न
मानेका छैनन् ।’

उपमहानगरको शिक्षा शाखामा उप–सचिवको नेतृत्वमा तीनजना अधिकृतसहित ७ कर्मचारीको दरबन्दी छ । तर अहिले त्यहाँ २ जना कर्मचारी मात्र कार्यरत छन् ।

जनकपुर उप–महानगरपलिकाको कार्यालयमा अधिकृत कर्णजस्तै समायोजन भएर आएका कार्यालय सहयोगी रामसकल साहलाई पनि हाजिरी गर्नबाट रोकिएको छ । कार्यालय सहयोगी पदमा समायोजन भएर जनकपुर उपमहानगरमा सरुवा भएका साह हाजिरी गराउन २० दिनदेखि धाउँदै छन । मेयर साहको आदेशमा समायोजन भएर आएका कर्मचारीको पत्र दर्ता गर्न रोकिएको दर्ता फाँटका नायव सुब्बा बद्रिनाथ बगालले बताए ।

कार्यालयलाई आवश्यक कर्मचारीलाई हाजिरी गराएको र राजनीति दलको दबाब र प्रभावमा आएका कर्मचारीलाई हाजिरी गर्न रोकेको मेयर साहले स्विकारे । ‘अवकाश हुने बेलामा राजनीति स्वार्थ पूरा गर्न समायोजनमा आएका कर्मचारी हाजिरी गरेर बेपत्ता हुन्छन्,’ मेयर साहले भने, ‘कर्मचारीको हाजिरी मात्रै गराएर के गर्ने । बसेर काम गर्ने ठाउँ पनि छैन ।’ यस अघि पनि जनकपुरधाम उपमहानगरको शिक्षा शाखा प्रमुखमा सरुवा भएर आएका उपसचिव उमेशलाल कर्णलाई हाजिरी हुनबाट मेयर साहले रोकेका थिए । मेयरले हाजरी हुन नदिएपछि प्रदेशको सामाजिक विकास मन्त्रालय गएका कर्ण अहिले क्षिरेश्वरनाथ नगरपालिकामा कार्यरत छन् ।

कर्ण कांग्रेससँग निकट रहेको भन्दै मेयर साहले हाजिरी हुन रोकेका हुन् । आफनै पार्टी निकट भए काम गर्न सजिलो हुने भन्दै कर्मचारीलाई हाजिरी हुनबाट मेयरले रोकेको पीडित कर्मचारीको आरोप छ । पत्र लिएर हाजिरी हुन आएका कर्मचारीलाई मेयरले महिना दिनसम्म उपमहानगरमा धाउन लगाएर फर्काउने गरेका छन् ।

समायोजनमा परेका कर्मचारी हाजिरी नहुँदा स्थानीय तहमा काम गर्न समस्या भएको आरोप लागिरहँदा जनकपुरधाम उपमहानगरले कर्मचारीलाई हाजिरी हुनबाट रोक्न थालेका छन् ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×