मौलिकतामा आघात पुग्ने गरी निर्माण

सौन्दर्यीकरण आयोजना
श्यामसुन्दर शशि,

जनकपुर — जानकी मन्दिर परिसरमा थालिएको भवन निर्माण, मर्मत सम्भार र सौन्दर्यीकरणले मन्दिरको मौलिकता संकटमा परेको भन्दै आलोचना सुरु भएको छ । 

मौलिकतामा आघात पुग्ने गरी निर्माण

निर्माण तथा मर्मत सम्भारका कारण मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन कठिन हुने भन्दै मौलिकता नबिगारी निर्माण गर्नुपर्ने बहस चर्किएको छ ।


झन्डै १ सय २० वर्ष पुरानो मुगल शैलीको जानकी मन्दिर परिसरलाई सिंगार्न प्रदेश २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत करिब ८ करोडमा मार्वल ओछयाउने काम थालेको छ । प्रदेश सरकारकै सहयोगमा मन्दिरको पश्चिम भागमा भवन निर्माण हुँदैछ । पुरातत्त्व विभागले मन्दिरको छत तथा पर्खालको मर्मतसम्भार गरिरहेको छ । जानकी मन्दिरकै छेउमा रहेको रामजानकी विवाह मण्डपमा पर्यटन मन्त्रालयले रंगरोगन र मार्वल जडान गरिरहेको छ ।


गुरु–शिष्य परम्परामा सञ्चालित जानकी मन्दिरको आफ्नै किसिमको पूजा विधि, पर्व–त्योहार र व्यवस्थापनको परम्परा छ । ‘१ सय १० वर्षदेखि हाम्रा गुरुहरूले सञ्चालन गरेको मन्दिरमा कुनै किसिमको संरचना निर्माण गर्दा यहाँका सन्तमहन्तसित सल्लाह गरिन्थ्यो,’ जानकी मन्दिरका महन्त रामतपेश्वर दासले भने, ‘हामीसँग राय–सल्लाह गरिएकै छैन ।’


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंसिर तेस्रोसाता मुख्यमन्त्री स्वच्छता अभियान सुरुवात गर्दै जानकी मन्दिर सौन्दर्यीकरण थालेका हुन् । योजनाअन्तर्गत जानकी मन्दिरमा मार्बल र ग्रेनाइट जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढलनिकासको काम हुँदैछ ।

अयोजना अन्तर्गत मन्दिरको बाहिरी र भित्री परिसरमा पुरानो उप्काएर सेतो मार्वल र ग्रेनाइट जडान गरिँदै छ ।


पुरातत्त्व विभागले असार १८ गते जानकी मन्दिरका महन्त दासलाई पत्र लेखी विभागको वार्षिक कार्यक्रमअन्तर्गत पुरातात्त्विक स्थल संरक्षण आयोजना अन्तर्गत जानकी मन्दिर पनि परेकाले संरक्षण कार्यको ठेक्का पाएका ठेकेदार कम्पनीलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।


जानकी मन्दिरमा सञ्चालित सौन्दर्यीकरण तथा संरक्षण आयोजनाको प्रमुख तथा पुरातत्त्व विभागका अधिकृत मञ्जु सिंह भण्डारीले जानकी मन्दिरको चुहिने समस्या समाधान गर्न संरक्षण आयोजना सुरु गरिएको बताए । मन्दिरको छत उप्काउन दुईवटासम्म ड्रिलमात्र प्रयोग गर्न निर्देशन दिएको भण्डारीले जानकारी दिए । ‘यसअघि छत मर्मत गर्दा गल्ती भएकै हो । हामी पुनः चुना, सुर्खी प्रयोग गरेर मौलिक स्वरूप प्रदान गर्ने प्रयासमा छौं,’ उनले भनिन् ।


रोक्न निर्देशन

मन्दिर परिसरको पश्चिममा प्रदेश २ सामाजिक विकास मन्त्रालयको सहयोगमा उपभोक्ता समितिमार्फत ९० लाखको लागतमा निर्माण भइरहेको नयाँ भवनको निर्माण रोक्न पुरातत्त्व विभागले निर्देशन दिएको छ ।


मन्त्रालयले आव समाप्त हुने बेला भवन निर्माण गर्न कार्यादेश दिएको थियो । मन्दिर परिसरमा नयाँ संरचना निर्माण गर्दा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानमा बाधा उत्पन्न हुने भन्दै भोरका अध्यक्ष राजकुमार महतो पुरातत्त्व विभाग पुगी भवन निर्माणबारे जिज्ञासा राखेका थिए ।


‘जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउनु छ भने नयाँ संरचना निर्माण रोक्नु पर्छ । मौलिक स्वरूपमा कुनै परिवर्तन गर्नुहुन्न,’ अभियन्ता महतोले भने । पुरातत्त्व अधिकृत भण्डारीले भवन निर्माण रोक्न जानकी मन्दिरका महन्तलाई फोनमार्फत आग्रह गरेकी जानकारी दिइन् । सन् २००८ देखि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियान बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले थालेको थियो ।

प्रकाशित : श्रावण १४, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?