गर्भवतीलाई मिति नभएको घ्यू

सुनिता बराल

बर्दिवास, महोत्तरी — महोत्तरीको बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरभित्रका गर्भवती महिलालाई वितरण गर्ने भनिएको घ्यू शंकाको घेरमा परेको छ । 

शिवम् डेरी उद्योग सप्तरीले उत्पादन गरेको घ्यू बर्दिवासको न्यु डोकानिया ब्रदर्सबाट खरिद गरी नगरपालिकाले वितरण गर्न थालेपछि घ्यूको प्याकेटमा उत्पादन मिति र व्याच नम्बर समेत छैन ।


घ्यू परीक्षण गर्नुपर्ने भन्दै वितरक टोलीले नगरपालिकालाई घ्यू वितरण रोक्न आग्रह गरेको छ । सुनौलो हजार दिनभित्रका गर्भवती महिलाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यान दिँदै घ्यू वितरण तत्काल रोकिएको र घ्यू खानयोग्य भए/ नभएको परिक्षण गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पठाइएको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।


‘उत्पादक कम्पनीको त्रुटि देखिएको छ,’ मेयर कार्कीले भने, ‘घ्यूको प्याकेटमा उत्पादन मिति र व्याच नम्बर समेत छैन । ६ महिना प्रयोग गर्न मिल्ने भनिएको प्याकेटको घ्यू कहिलेसम्म प्रयोग गर्न मिल्ने त्यो मिति पनि नभएपछि घ्यू परीक्षणका लागि ल्याबमा पठाएका छौ ।’


घ्यू परीक्षणपछि अखाद्य प्रमाणित भए उत्पादक र वितरकलाई कारबाही गरिने मेयर कार्कीले बताए ।

०७५/७६ को बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत गर्भवती महिलाले पाउने अम्बाको बिरुवा १, मेवाको बिरुवा १, पाँच किसिमका तरकारीका बीउ र एककिलो घ्यूको प्याकेज अन्तर्गत घ्यू वितरण गर्न लागिएको थियो ।


बर्दिवास वडा नम्बर १ का ५० जना गर्भवती महिलालाई घ्यू वितरण गरिसकेको र २ नम्बर वडामा वितरण गर्ने क्रममा घ्यूमाथि शंका उत्पन्न भएको बर्दिवास वडा नं २ का वडाध्यक्ष चोलाराज प्याकुरेलले जानकारी दिए । वडा नं १ मा बाँडिएको घ्यू सम्बन्धित व्यक्तिलाई फोन गरेर तत्काल प्रयोग नगर्न भनिएको बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका संयोजक महेन्द्र साहले बताए ।


यता, घ्यू वितरक न्यु डोकानिया ब्रदर्सका सञ्चालक सुरेश अग्रवालले भने कम्पनीले पठाउने बेला व्याच र उत्पादन मिति छाप्न बाँकी घ्यू पठाएको र आफूले पनि जाँच नगरी दिएकाले गल्ती भएको स्विकारे ।

प्रकाशित : श्रावण १४, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?