१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

८० वर्षपछि लालपुर्जा

महिला र पुरुषबीच सम्पत्तिमा समान अधिकार भएको भन्दै संयुक्त पूर्जा पाएका परिवार आफूहरू अब न्यायका लागि लड्नसक्ने बताउँछन्
सुनिता बराल

बर्दिवास, महोत्तरी — ७६ वर्षको उमेरमा लौरो टेकेर लालपुर्जा लिन पुगेका महोत्तरीे बर्दिवास १० खयरमाराका दीर्घबहादुर थिङको अनुहारमा खुसी थियो । ८० वर्षदेखिको थातथलो ९ कट्ठा १५ धुर जग्गाको लालपुर्जा हातमा पाएपछि उनले जीवनकै धेरै खुसीको क्षण माने ।

८० वर्षपछि लालपुर्जा

‘खुसीको सीमा नै छैन,’ थिङले भने, ‘जीवनमा नमिलेको खुसी मिलेको छ । मसँग सम्पति छ भन्ने अधिकार पाएँ भाग्यमानी रहेछु ।’ बर्दिवास १० कै पुतली योन्जन पनि घरदैलोमै पुगेर लालपुर्जा दिएपछि खुसी मानिन् । जग्गाधनी पुर्जा नहुँदा ८० वर्षदेखि अरूको थिचोमिचो सहँदै आएको र अब यो जग्गाको प्रमाण पुर्जा पाएपछि अन्याय–अत्याचार सहन नपर्ने भन्दै उनले खुसी व्यक्त गरिन् ।


दीर्घबहादुर र पुतलीजस्तै खयरमाराका ६१ घरपरिवारलाई जिल्ला नापी कार्यालय महोत्तरीले लालपुर्जा वितरण गरेको छ । खयरमारामा १९९६ सालदेखि गाउँब्लक जग्गामा बस्दै आएका ६१ घरलाई जोतभोगको आधारमा भूमि अधिकार मञ्च महोत्तरीको सहयोगमा लालपुर्जा वितरण गरिएको नापी कार्यालय महोत्तरीका प्रमुख कमलेशचन्द्र लालले बताए ।


सम्पतिमा महिलाको पनि उत्तिकै अधिकार भन्दै नापी कार्यालयले श्रीमान्–श्रीमती संयुक्त लालपुर्जा पनि वितरण गरेको हो । आफूले भोगचलन गर्दै आएको जग्गाको सुपमान मोक्तान र कालिमाया मोक्तान संयुक्त लालपुर्जा लिँदै महिलालाई पनि सम्पतिको उत्तिकै हकदार बनाइ दिएकोेमा खुसी लागेको बताइन् ।


जसले सक्यो उसले मिच्यो भन्दै गरिएको अन्याय सहदै आएका गाउँब्लक बासीको अधिकारका लागि दिनरात नभनी २०६७ सालदेखि सङ्घर्ष गर्दै आएकाले जग्गाधनी पुर्जा दिन सफल भएको भूमि अधिकार मञ्च महोत्तरीका संयोजक राजकुमार बस्नेतले बताए । खयरमारापछि महोत्तरीका साविक मनरा, भ्रमरपुरा, रतौली र बलवामा लालपुर्जा वितरणको तयारी भइरहेको बस्नेतले जानकारी दिए ।


गाउँब्लक जग्गामा बसोवास गर्ने महोत्तरी जिल्लाका १ हजार घरपरिवारलाई भोग अनुसारको जग्गाको लालपुर्जा वितरण गरिसकेको नापी प्रमुख लालले बताए । अझै महोत्तरीका ६ सय घर परिवारलाई लालपुर्जा वितरण गरिने उनले जानकारी दिए ।


महोत्तरी जिल्लामा सबैभन्दा ठूलो समस्या अव्यवस्थित बसोबासको रहेको भन्दै बर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले यसै वर्षबाट नगरभित्रको जग्गा समस्या सुझाउन नगर अगाडि बढेको बताए । मेयर कार्कीले भने, ‘अव्यवस्थित बसोवासलाई व्यवस्थित बनाउन पर्याप्त बजेट छुट्याएका छौं ।’


जनताले भोगचलन गर्दै आएको जग्गाको नापनक्सा तयार पारेर जोतभोगको निस्सा यसै वर्ष जनतालाई दिनेछौं । मेयर कार्कीले आफ्नो ५ वर्षे कार्यकालभित्र जग्गा विवाद सुझाउन आफू प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : श्रावण १३, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?