गुलजार बने बगैंचा 

श्यामसुन्दर शशि

जनकपुर — श्रावण कृष्णपञ्चमी अर्थात् गत सोमबारदेखि सुरु भएको मधुश्रावणी पर्वका कारण मिथिला नगरी जनकपुरधामका वाग–बगैचा गुलजार बनेका छन् ।

गुलजार बने बगैंचा 

नवविवाहिताको नेतृत्वमा टोलछिमेकका महिलाहरू मधुर गीतसँगै फल, फूल, बुट्यानआदि टिप्दै गरेको दृश्यले यहाँका वाग–बगैचा गुलजार बनेको हुन् ।

जनकपुरमात्र होइन मिथिलाञ्चलभरि यस्तै दृश्य देखिन्छन् । जानकी मन्दिर, राममन्दिर, शंकटमोचन, याज्ञवल्क्य संस्कृत विद्यालय, वलवाटोलसहित गाउँघरका फूलबारी तथा देवालयमा सोह्रशृंगारमा सजिएकी नवविवाहिता तथा उनीहरूसँगै रंगीचंगी पहिरनमा सजिएका महिलाको समूहलाई वटगमनी, पावस तथा शिव–पार्वतीको वन्दनालगायतका कृत्यमा तल्लीन भएको दृश्य देख्न सकिन्छ ।

प्रत्येक वर्ष श्रावण कृष्णपञ्चमीदेखि सुरु भई झन्डै दुई सातासम्म चल्ने मधुश्रावणी पर्वले मिथिलाञ्चलको माहोल रोमाञ्चक बनाउने गरेको छ ।

व्रतीहरू गोसाउनी गीत गाएर फूललोढव (फूल संगकल गर्न) घरबाट निस्किन्छन् । बटगमनी (बाटोमा हिँड्दा गाउने गीत) गाउँदै फूलबारीसम्म पुग्छन् । नजिकको देवालयमा पुगी महेशवाणी, नचारी गाउँदै डाला सजाउँछन्, अनि पुनः बटगमनी गाउँदै फर्किन्छन् । सन्ध्यामा संकलन गरिएको फूल, पात र बुट्यानले बिहान पूजा गरिन्छ । दुई सातासम्म मनाइने यस पर्वको प्रमुख उद्देश्य नवविवाहित जोडीलाई धर्म, कर्म, पतिको दीर्घआयुको कामनासँगै घर–गृहस्थी तथा वैवाहिक जीवनका राम्रा र नराम्रा पक्षबारे जानकारी दिनु रहेको पण्डित दीगम्बर झाको कथन छ ।

‘यस पर्वको क्रममा नवविवाहित जोडीलाई देवी देवताको पूजापाठसँगै घर गृहस्थीका कुराहरू पनि सिकाइन्छ । सुखमय वैवाहिक जीवनका लागि आवश्यक जानकारी पनि दिइन्छ,’ झाले भने । नवविवाहित जोडीलाई विषहर (सर्प) को जन्म, बिहुलाको कथा, मंगला गौरीको कथा, पृथ्वीको जन्म, समुद्र मन्थन, सतीको कथा, महादेव परिवारको कथा आदि श्रवण गराइन्छ । व्रत अवधिका लागि एक जानकार महिलालाई विधकरी (पूजा विधि सिकाउने महिला) नियुक्त गरिन्छ । भनिन्छ, बालविवाह विद्यमान रहेका बेला विधकरीले नवविवाहित जोडीलाई कामकलाको विषयमा समेत जानकारी दिन्थे ।

अभिवक्ता रेखा झाका अनुसार सामान्यता भाउजूलाई विधकरी नियुक्त गरिन्छ । बेहुला र बेहुली दुवैसँग हंसी ठट्टा तथा अन्तरङ्ग सम्बन्धका कारण भाउजूलाई यो जिम्मेवारी दिने गरिएको उनको कथन छ ।

समाजशास्त्रीहरू मधुश्रावणी पर्वलाई आधुनिक समाजमा विकसित हुन लागेको ‘हनीमून’ भन्दा पनि आधुनिक तथा रोमाञ्चक उपक्रम रहेको दावी गर्छन । ‘नवविवाहित जोडीलाई सिङ्गै परिवार र समाजको सामु धर्म, कर्म, व्यवहार तथा दाम्पत्य जीवनका राम्रा र नराम्रा विषयबारे जानकारी दिएर असल गृहस्थी बनाउने उपक्रम गरिन्छ ।’ संगीतकार सुनिल मल्लिकले भने ।

दाइजोका लागि बदनाम मिथिलाञ्चलमा भने मधुश्रावणी पर्वका क्रममा नवविवाहताले प्रयोग गर्ने अन्न, लत्ता–कपडा, गर–गहना तथा पूजा सामग्री सबै ससुराबाटै आउँछन् । पूजा र कथा श्रवण गर्ने बेला श्रीमान्को उपस्थिति अनिवार्य मानिए पनि अचेल कामकाजी बेहुलाहरू पर्वको अन्तिम दिनमात्र उपस्थित हुने गरेका छन् ।

मिथिलाञ्चलका पर्वत्यौहार गीत संगीतबिना पूरा हुन सक्दैनन् तर पछिल्लो समय गीतगाइन (गीत गाउने महिला) को आभाव हुन थालेको छ । आधुनिक शिक्षा प्राप्त युवतीहरू पारम्परिक लोकगीतहरूप्रति चासो नलिएका कारण गीतगाइन परम्परा नै शंकटमा परेको नवविवाहिता तथा गायिका कागज मिश्रको कथन छ ।

गत फागुनमा प्रणयसूत्रमा बाँधिएकी गायिका कागज मिश्रले भनिन्, ‘लोकगीतहरू एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुने विधा हो तर आधुनिक शिक्षा प्राप्त युवतीहरू यसप्रति चासो लिन चाहँदैनन् ।’

प्रकाशित : श्रावण ९, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?