कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी प्रभावित क्षेत्रमा राहत र शिविर

रौतहट — बाढी र डुबानबाट विस्थापित परिवारका लागि संघसंस्थाले निःशुल्क स्वास्थ्य शिविर र राहत वितरण गरिरहेका छन् । डुबानपछि विस्थापित परिबारलाई सबैभन्दा पहिले स्थानीय तहले राहत दिइएको थियो ।

बाढी प्रभावित क्षेत्रमा राहत र शिविर

अहिले संघसंस्था राहत र शिविर लिएर प्रभावित गाउँ छिरेका छन् । केही पीडित घर फर्किसकेका छन् । बाढीबाट लामो समयसम्म डुबानमा परेको ईश्नाथ नगरपालिकाको बन्जाराहामा अक्सफाम र ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालले स्वास्थ्यसम्बन्धी समान वितरण गरेको थियो ।


बाढीले डुबानमा परिरहेका बेला स्थानीय प्रशासनले सबैभन्दा पहिले डुंगाको मद्दतले त्यस क्षेत्रमा राहत लगेको थियो । दुर्गा भगवती गाउँपालिकाको बडहर्वा र पिप्राभलोहीया, सदरमुकाम गौर, इशनाथ नगरपालिकाको बन्जरहा, औरैया र बैरिया, गढीमाईको लक्ष्मिपुर, यमुनामईलगायत १८ वटै स्थानिय तहका गाउँका हजारौं विस्थापित भएका थिए । त्यस क्षेत्रमा सर्वसाधारणको बाढी र डुबानले घर भत्किाएर लताकपडा, अन्नपातलगायतका सम्पुर्ण सामान बगाएपछि भोकभोकै बस्नुपरेको थियो ।


प्रभु बैंक गौर शाखाले बाढी प्रभावित बस्तीका बासिन्दालाई शुद्ध खानेपानी पिउनका लागि ६ सय कार्टुन पानी खरिद गरि प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरेको थियो । गैर सरकारी संस्था माण्डवी, नेविसंघ काठमाडौ, आसमान नेपाल, युनिसेफ, रेडक्रस, श्रीसत्यसाई सेवा संगठन नेपाललगायतले बाढी प्रभावित बस्तीमा राहत वितरण गरेका छन् । काठमाडौंस्थित छायाँ नेपाल र फ्रेन्ड फर नेपालले एक परिवारका लागि १ थान त्रिपाल, ३० किलो चामल, ५ किलो चिउरा, १ थान झुललगायतको समाग्री वितरण गरिएको थियो ।


नगरपालिकामा १ हजार ५ सय परिवार पीडित रहेको मेयर शेख वकिलले बताए । बाढीबाट प्रभावित नगरपालिकासँग समन्वय गरेर एकद्वार प्रणालीमार्फत राहत वितरण सुरु गरिएको प्रजिअ थापाले बताए । बन्जरहा, औरैया र बैरियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले रबर बोटको माध्यमबाट करिब ६ सय परिवारलाई पुग्ने गरी राहत प्याकेट पुर्‍याएका थिए ।


डुबान क्षेत्रमा स्वास्थ्य शिविर

बाढीबाट प्रभावित ईशनाथको बन्जाराहा गाउँमा काठमाडौंबाट आएका डा गोविन्द केशीले दुई दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरी पीडितको जाँच गरेका थिए । त्यस क्षेत्रमा रुघा खोकी झाडा पखालाका बिरामी धेरै थिए । केशीले महामारी फैलन नदिन स्थानिय सजग हुनुपर्ने बताए । ‘बाढीको पिडामा परेकाले स्वास्थ्यको पनि ख्याल राख्नु पर्छ,’ उनले भने, ‘शुद्ध पानी पिउने फोहोर र बासी नखाने भनेर सुझाव दिएको छु ।’ बस्तिका झण्डै ३ सयको जाँच गरेका थिए ।


नेपाल प्रहरीले गौर र राजदेवी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रहरी अस्पताल काठमाडौंबाट चिकित्सक डीएसपी अर्जुन डुमरेको नेतृत्वमा ९ सदस्यीय टोलीले बाढी प्रभावित बस्तीमा शिविर सञ्चालन गरी बिरामीलाई औषधि वितरण गरिएको प्रहरीले जनायो ।


शिविरमा ५ सय महिला, पुरुष र बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । यसैगरी ३६ औं बीपी स्मृति दिवसको अवसर पारेर कांग्रेसको भ्रातृ संगठन नेविसंघले बाढी प्रभावित गढीमाई नगरपालिका ३ गम्हरियामा स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरमा ४ सयले स्वास्थ्य परीक्षण गरेको विद्यार्थी नेता सुमन गौतमले बताए ।

प्रकाशित : श्रावण ९, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?