कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाढीले घेरियो मटिअरिया गाउँ

पवन यादव

बारा — लगातारको वर्षापछि उर्लिएका दुइ खोलाले धार परिवर्तन गरेपछि बाराको जितपुर सिमरा–१९ को सानो मटिअरिया गाउँ टापुजस्तै भएको छ ।

पूर्व र उत्तरबाट बंगरीको बाढी, पश्चिम र दक्षिणबाट किरकिचहा खोलाको बाढीले घेरेको हो । तीन दिनयताको बाढीले गाउँबाट बाहिरको आउजाउ बन्द भएको स्थानीय रामदयाल चौधरीले बताए ।


‘चार दिनदेखि बिजुली पनि छैन,’ उनले भने, ‘चारैतिरबाट खोलाले घेरेको छ ।’ गाउँभित्रै भने खोलाको पानी पसिसकेको छैन । करीब ९० घरपरिवारको बसोबास रहेको मटिअरियावासीलाई चारैतिर जलमग्न हुँदा दैनिक जीवयापनमा गाह्रो परेको छ । पालेका चौपायालाई खुवाउन घाँसको समस्या भएको छ ।


घास पाइने चउर र खेत सबै जलमग्न भएकाले मान्छेभन्दा पशुलाई आहारा गाह्रो परेको स्थानीय रामकुमार चौधरीले फोनमा बताए । गाउँमा करिब ५ सय चौपाया छन् । ‘उनीहरूलाई पेटभरी घाँस, भुसा खुवाउन सकिएको छैन,’ उनले भने, ‘खेतबारीमा डुबान भएकाले विषालु सर्प अग्लो ठाउँ खोज्दै घरघरमा आउने डर भयो ।’ कोही बिरामी परिहाल्दा पनि बाहिर लैजान नसकिने स्थिति रहेको उनले बताए ।


एक साता अघिदेखि पत्नीको उपचार गराउन अस्पतालमा रहेका स्थानीय देवचन्द्र चौधरी डिस्चार्ज दिए पनि बाढीकै कारण घर फर्कन पाएका छैनन् । बिरामी पत्नीसहित औराहास्थित आफन्तको घरमा आश्रय लिएर बसेको उनले बताए । बंगरी नदीमा आएको बाढीले पिपरिया र गुलरिया गाउँका बासिन्दा पनि समस्यामा परेका छन् । ती दुवै गाउँमा बुधबार बाढी पसेको स्थानीयले फोनबाट बताएका छन् । परेको पानी र बाढीले गाउँ पुग्ने सडकहरू बिगारेका छन् ।


बंगरी नदीको बाढीले कलैया–१७ ब्रम्हपुरीस्थित नेपाली सेनाको चन्दननाथ गण पनि डुबानमा परेको छ । बंगरीको साविक बहाव क्षेत्रमा निर्माण भएको पक्की भवनले नदी छेकिएर साँघुरो भएकाले बाढी बस्तीमा पसेको स्थानीले बताएका छन् ।


नदीको बहाव क्षेत्र साँघुरिएपछि उत्तरझिटकैया, सुराही, मथुरापुर र विद्यानगर गाउँका अधिकाश क्षेत्र डुबानमा परेका छन । त्यस्तै रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रीजले पनि बंगरी नदीको साविक बग्ने क्षेत्र पुरेर सांघुरो भएपछि पानीले मटिअरिया, पिपरियाका अधिकांश क्षेत्र र सडक डुबानमा पारेको स्थानीयले बताएका छन् ।


बाढीले पोखरीको डिल भत्काएर लाखौंको माछा समेत बगाएको पीडित किसानले गुनासो गरेका छन । नदीमा बाढी आएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रन्जितसिंह राठौरले बताए ।

प्रकाशित : श्रावण ९, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?