बाढीपीडितलाई बल्ल राहत

नगर र गाउँपालिकाका वडाले एकिन तथ्यांक संकलनमा ढिलाइ गरेकाले राहत वितरण एक सातापछि मात्रै
भरत जर्घामगर

सिरहा — सिरहाका बाढीबाट पीडित परिवारलाई राहत वितरण सुरु गरिएको छ । विपद व्यवस्थापन समितिको समन्वयमा नगरपालिका, रेडक्रस सोसाइटी र प्रदेश २ सरकारबाट प्राप्त राहत वितरण सुरु गरिएको हो ।

बाढीपीडितलाई बल्ल राहत

रेडक्रस सोसाइटी सिरहाले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका १२ सारस्वरका १ सय १७ र औरही गाउँपालिका २ तुल्सीपुरका ८७ परिवारलाई कम्बल २ थान, त्रिपाल, सारी, धोती लगायत कपडा, बाल्टिन, भाडाकुँडाका सेटसहित १० हजार रुपैयाँ बराबरको प्रति परिवार राहत सामग्री वितरण गरेको हो । त्यसैगरी सिरहा नगरपालिका १७ का बाढी पीडितलाई २ सय थान त्रिपाल वितरण गरिएको छ । विष्णुपुर गाउँपालिकाले आफ्नो क्षेत्रका १ सय १७ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।


त्यसैगरी प्रदेश २ सरकारले बाढीबाट पूर्ण क्षति भएकामध्ये १२ सय घरपरिवारलाई खाद्यान्न सहितको राहत प्याकेज सोमबारबाट वितरण गर्न सुरु गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले औरही गाउँपालिका २ तुल्सीपुरका बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरे । प्रदेश सरकारले प्रति पीडित परिवार २५ किलोग्राम चामल, ४ किलो दाल, ओछ्याउने म्याट, झुल, साबुनलगायत वितरण सुरु गरेको हो ।


नगरपालिका र गाउँपालिकाले वडास्तरबाट बाढीपीडितको एकिन तथ्यांक संकलनमा ढिलाइ हुँदा पीडितहरूले एकसातापछि मात्रै राहत पाएका हुन् । बाढीबाट पीडित परिवार राहत पाउनबाट वञ्चित हुन नदिन जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहले ‘परिचय पत्र’ लागू गरेपछि बल्ल राहत वितरण सुरु गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले परिचय पत्रका आधारमा राहत वितरण गरिँदा सही पीडितको हातमा राहत पुग्ने, दोहोरिने र पीडित राहतबाट वञ्चित नहुने भएकाले ‘परिचय पत्र’ लागू गरी राहत वितरण सुरु गरिएको हो । अझै पनि केही स्थानीय तहले परिचय पत्र वितरणमा ढिलाइ गरेकै कारण राहत पुर्‍याउन नसकिएको उनले जानकारी दिए ।


सिंचाइका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा लगातारको वर्षाबाट कमला खोलाको बाढी गाउँमा पसेको थियो । लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए । बाढी र डुबानबाट सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडा बढी पीडित छन् ।


जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ५ हजार २० घर पूर्णरूपमा क्षति भएका छन् । त्यसैगरी ९ हजार ६२ घरमा आंशिक क्षति र २६ सय ३१ परिवार बाढी र डुबानबाट विस्थापित भएका छन् । बाढीमा परी सिरहामा ५ जनाको मृत्यु भएको थियो ।


सांसद टोलीबाट अवलोकन

बाढी र डुबान पीडितको अवस्था, पुनःस्थापना, बाढी, डुबानको तत्काल र दीर्घकालीन समाधानका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सांसद टोलीले सिरहाको बाढी पीडित क्षेत्रको अवलोकन गरेका छन् । सांसद दिलेन्द्रप्रसाद बडु, राजकिशोर यादव, लीलानाथ श्रेष्ठ लगायतको चार सदस्यीय टोलीले जिल्लाको कल्याणपुर, सारस्वर लगायत बाढी पीडित क्षेत्रसहित कमला बाँधको अवलोकन गरेका थिए ।


उनीहरूले बाढीपीडितको उद्धार, राहत, भविष्यमा डुबान र क्षति कम गर्नेबारे राय सुझाव लिए । बाढीबाट प्रभावित क्षेत्रको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोलीले सोमबार अवलोकन गरेका छन् । बाढीबाट प्रभावित सिरहा नगरपालिका ६ बसबिट्टा लगायत क्षेत्रको अवलोकन गरेका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले फेरी पनि वर्षा भए कमलाको अहिलेको बाँधले थेग्न नसक्ने बताउँदै तत्काल र दीर्घकालीन समाधानका उपाय अवलम्वन गर्न अवलोकन टोलीलाई जानकारी गराए ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?