१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बाढीले पशुपक्षीमा ९२ करोडको क्षति

बस्तीमा बाढी पसेपछि हुने क्षति मानवीयमात्रै हुँदैन । पशुपक्षी, बोटबिरुवालगायत सबै क्षेत्रमा यसको नराम्रो असर देखिन्छ
अवधेशकुमार झा

राजविराज — निरन्तरको वर्षापछि विभिन्न नदी खोलाको बाढीका कारण सप्तरी र सिरहामा ९२ करोड ५३ लाख रुपैयाँ  बराबरको पशुपक्षी र त्यससँग सम्बन्धित क्षति भएको छ । बाढीका कारण कुखुरा फर्महरू डुबानमा परी बगेका, गाई भैंसी बाढीमा बगेका, दाना बग्नुका साथै पराल र भुस सडेका कारण क्षति भएको हो । 

बाढीले पशुपक्षीमा ९२ करोडको क्षति

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिरहाका कार्यालय प्रमुख फुलगेन यादवले सप्तरी र सिरहा जिल्लामा गरी बाढीका ५ करोड २५ लाख रुपैयाँ बराबरका १ लाख ५० हजार कुखुरा बगेका छन् । कुखुरा पालनका लागि बनाइएका फर्महरूमा विभिन्न नदी खोलाको पानी पसेका कारण फर्म समेतमा क्षति भई कुखुरा बगेको उनले बताए ।


यस्तै दुवै जिल्लामा गरी १ करोड ५ लाख रुपैयाँ बराबरको १५ हजार हाँस, १ करोड ३५ लाख रुपैयाँ बराबरको २ सय २५ थान गाई तथा ८८ लाख रुपैयाँ बराबरको १ सय १० वटा भैंसी समेत बाढीमा बगेको प्रारम्भिक जानकारी प्राप्त भएको विज्ञ केन्द्र प्रमुख यादवले जानकारी दिए ।


६ करोड रुपैयाँ बराबरको १२ हजारवटा बाख्रा र खसी बाढीमा बग्नुका साथै ५० लाख रुपैयाँ बराबरको पराल र भुस कुहिएर नष्ट भएको यादवले जानकारी दिए ।


यसै गरी माछा पालनका लागि निर्माण गरिएका पोखरी जलासय क्षेत्रमा सबभन्दा बढी क्षति भएको छ । विज्ञ केन्द्र प्रमुख यादवका अनुसार जलासय क्षेत्रमा भएको क्षति १४ करोड रुपैयाँ बराबरको रहेको प्रारम्भिक तथ्यांक छ । ३ करोड रुपैयाँ बराबरको माछाका भुरा बग्नुका साथै ६० करोड रुपैयाँ बराबरको तयारी माछा समेत बाढीले बगाएको यादवले जानकारी दिए ।


यसका अतिरिक्त पशुपक्षीको खानाका लागि भण्डारण गरी राखिएको ५० लाख रुपैयाँ बराबरको दानासमेत बाढीका कारण नष्ट भएको छ ।


गाउँबस्तीमा पशुलाई राख्न बनाइएका गोठहरूमा समेत क्षति भएको छ । धेरै गोठ पूर्ण क्षति भएको यादवले बताए । ‘बाढीका कारण पशुपक्षी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन गर्दा ९२ करोड ५३ लाख भएको पाइएको छ,’ विज्ञ केन्द्र प्रमुख यादवले भने, ‘दुवै जिल्लामा तथ्यांक संकलन जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्नेछ ।’


बाढीले ५ लाख बिरुवा नष्ट

महोत्तरी– बाढी र डुबानले महोत्तरीका विभिन्न नर्सरीमा लगाइएको ६ लाख ५२ हजार ९ सय ५० बिरुवा नष्ट भएको छ । लगातारको वर्षापछिको बाढी र डुबानले वनलाई ८१ लाख १४ हजार ८ सय मूल्य बराबरको क्षति भएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले बताए ।


रातु, विग्ही, मरहा, जंघा, अंकुशी नदीमा आएको बाढीले जलेश्वर नगरपालिका ९, बलवा, भंगहा नगरपालिका ४, जलेश्वर नगरपालिका ४ मा रहेका वन नर्सरीमा बिरुवा १ वर्षे, २ वर्षे र बहुउद्देश्य रूख तथा काठ प्रजातिका उत्पादित बिरुवालाई हिलो, लेदो र माटोले पुर्दा बिरुवा नष्ट भएको साहले बताए ।


डिभिजन वन कार्यालयका अनुसार बलवा र जलेश्वर–९ मा रहेका नर्सरीमा कैशिया सेमिया, लोल्डमोहर, अमला, सिरिस, साल, शतिसाल, कल्की, काइयो, महोगनी, अर्जुन, बाँस, जामुन, निम, टिक प्रजातिका गरी ४० लाख मूल्य बराबरको २ लाख ७ हजार ५० नष्ट भएको छ भने सोही नर्सरीमा रहेका मसला, शतिसाल, गम्हारी, इपिल, सिसौ, सिरिस, कैसिया सेमिया, राजवृक्ष, साल, बेल, जामुन, सहिजन प्रजातिका गरी ९ लाख मूल्य बराबरको १ लाख १ हजार बिरुवा नष्ट भएका छन् ।


डिभिजन प्रमुख साहका अनुसार सोही नर्सरीमा २ वर्षे बिरुवा अन्तर्गत विभिन्न प्रजातिका गरी २ लाख मूल्य बराबरको १ लाख ४ सय बिरुवा डुबानमा परी नष्ट भएका छन् । भंगहा–४ मा रहेका नर्सरीमा इपिल, टाँकी, साल, खयर प्रजातिका गरी १ लाख ४४ हजार मूल्य बराबरका १६ हजार र सोही वडामा रहेका नर्सरीमा टाँकी, खमारी, साल, महोगनी, बबुर, केसियासेमिया, इपिल, सिमल, कराउनिया लगायतका रूख र काष्ट प्रजातिका बहुउद्देश्य बिरुवा करिब ७ लाख ७५ हजार ८ सय मूल्य बराबरको ८६ हजार २ सय बिरुवा डुबानमा परी नष्ट भएको जिभिजन वन कार्यालयले बताएको छ ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?