चुरे उजाड, तटबन्धमा खेलाँची

बाढी–डुबान
‘वर्षौं खोला सुक्खा हुँदा के कारण भयो, चिन्ता गरिँदैन । ४ दिन पानीले डुबेपछि कारण खोजी हुन्छ ।’

जनकपुर — स्वास्थ्यमन्त्री उपेन्द्र यादव बुधबार हेलिकप्टरमा उडिरहँदा चुरे र मधेसतिरका खोलालाई गहिरिएर नियाले । उनले चुरे क्षेत्रको खोलामा बालुवा थुप्रिएको र मधेसतिर डुबान देखे । झण्डै अढाई घण्टा अकाशमै घुमेका यादवले डुबान र त्यसले ल्याएको बर्बादी मात्रै हेरेनन् । कारणतिर पनि घोत्लिए ।

चुरे उजाड, तटबन्धमा खेलाँची

जनकपुर विमानस्थलमा उत्रिएपछि यादवले मधेस डुबानमा परेको कारण खोले, ‘हेलिकप्टरबाट हेर्दा चुरे क्षेत्रको खोला सुख्खा छ । बालुवाले पुरिएको छ । मधेस चुर्लुम्म छ । चुरेमा पानी नै अडिएन । सबै पानी तल आयो ।’


चुरेसँग गरिएको छेडछाडले सानो वर्षामै मधेस डुब्न थाल्यो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित संघीय सरकारका अन्य ३ प्रभावशाली मन्त्रीकै सामुन्ने यादवले भने, ‘चुरेमा अव्यवस्थित बसोबास र राजमार्ग निर्माण रोक्नुपर्छ । डुबानको समस्या चुरे दोहनले नै भएको हो ।’


निरन्तर ४ दिन परेको वर्षाले गत साता तराई–मधेस डुब्यो । प्रदेश २ मा ३५ जनाको मृत्यु भयो । १३ हजार ४४ परिवार विस्थापित भए । ६ लाख ७९ हजार ६ सय १५ जना बाढी र डुवानले प्रभावित बने । ३ हजार ५ सय ७४ घर पूर्णरूपमा क्षतिग्रस्त छन् । १ लाख १८ हजार १ सय ४ घर डुबानमा परे ।


‘चुरेले ब्रेकरको काम नै गरेन । सबै पानी तलतिर झारिदियो,’ मन्त्री यादवले भने, ‘चुरेप्रति चिन्ता–चासो देखाएर मात्र भएन । संरक्षणको काम पनि गर्नुपर्छ ।’ हेलिकप्टरबाट बाढी र डुबानको तान्डव हेरेका गृहमन्त्री रामबहादुर थापाले पनि चुरे उजाडिँदा मधेसमा डुबानको समस्या बढेको बताए । ‘चुरे विनाशले मधेसमा बाढीले बढी क्षति पुर्‍याएको देखिन्छ,’ उनले भने ।


प्रदेश २ का ठूला नदी कमला, बागमती, रातु र बकैयाले वर्षायाममा उत्पात मचाउँछन् । तटबन्ध त भत्काउँछ नै खोलाको बाढी पुलबाटै बग्न थाल्छ । अनि बज्छ, खतराको घण्टी । ‘चुरे र तटबन्ध दुवैतिर भएको बद्मासीले मधेस डुबानमा पर्छ,’ कमला नदी सरोकार समितिका अध्यक्ष विश्वेश्वर यादवले भने, ‘वर्षौं खोला सुख्खा हुँदा के कारण भयो चिन्ता गरिँदैन । ४ दिन पानीले डुबेपछि कारण खोजिहुन्छ ।’ उनका अनुसार तराई–मधेसलाई बाढी र डुवानबाट जोगाउन पुरानै शैलीले सम्भव छैन ।


पछिल्ला वर्षमा वर्षायाममा मधेसका खोलामा पानीको वहाव अस्वाभाविक बढिरहेको छ । ‘खोलाको माथिल्लो र तल्लो दुवै क्षेत्रमा चुरेले ब्रेकरको काम गर्थ्यो,’ जनकपुरका नित्यानन्द मण्डलले भने, ‘चुरे उजाड हुँद र थिलथिलो हुँदा त्यहाँ पानी अडिन् छोड्यो ।’


कमजोर तटबन्ध

हेलिकप्टरबाट मधेसको डुबान क्षेत्र हेरेका राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक अनिल झाले गत बुधबार जनकपुरमा भने, ‘खोलाका तटबन्ध २५ वर्ष पुराना हुन् । टालटुल गरेर बाँधले बाढीको बेग थाम्दैन ।’


उनले १७ महिनाको कार्यकालमा प्रतिनिधिसभामा आफूले ९ पटक बाढीकै विषयमा बोल्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए । गृहमन्त्री थापाले पनि ‘हाम्रैतिरको तटबन्धलाई ठीकढंगले व्यवस्थापन गरे डुबानको समस्या कम हुने’ बताए । उद्योग मन्त्री मातृका यादवले त प्राविधिकहरूले बाढीको स्थायी समाधान नचाहेको आरोप नै लगाए ।


चुरेको विनाशसँगै खोलाको कमसल, पुरानो र जीर्ण तटबन्धले पनि वर्षाको पानी बस्तीमा पसेर डुवानको समस्या निम्त्याउँछ । मन्त्री मातृका बाढीले कमला नदीको भत्काएको पूर्वी तटबन्धमै पुगे । बालुवा हालेको बोराले तटबन्धलाई थामथुम गरिएको थियो ।

दुई वर्षअघिको बाढीले पनि कमला नदीको यही तटबन्धमा क्षति पुर्‍याएको थियो ।


रातु खोलाको तटबन्ध टुटेर जलेश्वर–पिपरा सडक खण्डमा बर्सेनि पानीको भेल बग्छ । रातु नदीको पानी पस्दा महोत्तरीको पिपरा, खयरा र जलेश्वरमा प्रत्येक वर्ष उत्पात मचाउँछ । भब्सी खोलाको पुल तीन वर्षअघि पनि क्षतिग्रस्त भएको थियो । यस वर्ष पनि भाँचियो ।


कमला नदीका कारण सिरहाको पूर्वी र धनुषाको पश्चिमी ४ दर्जन गाउँ उच्च जोखिममा छन् । कमलाको तटीय क्षेत्रमा रहेका यी गाउँलाई डुवानबाट बचाउन बनाइएको तटबन्ध पुरानो छ । भारत सरकारको सहयोगमा दुवै किनारमा तटबन्ध निर्माण गरियो । माटो पुरेर ढिस्का बनाइएको तटबन्धको नियमित मर्मतसम्भार हुँदैन । कमला नदी सरोकार समितिका अध्यक्ष यादवका अनुसार तटबन्धको नियमित मर्मतसम्भार तथा नदीबाट अवैध वालुवा उत्खनन नरोक्दा बाढी बस्तीमा पस्छ ।


राहतमै अलमल

बाढी र डुबानको तराई–मधेसले स्थायी समाधान खोजिरहँदा तीनै तहका सरकार र राजनीति दल भने राहतमै अल्झिएका छन् । प्रदेश २ को सरकारले बाढी र डुबानमा मृत्यु भएका परिवारलाई ३ लाख र राहत तथा पुनःस्थापनाका लागि ८ वटै जिल्लालाई १०/१० लाख रुपैयाँ दिने निर्णय गर्‍यो ।


मुख्यमन्त्री राउत बिहीबार १ करोड २५ लाख रुपैयाँको राहत बोकेर रौतहट पुगे । स्थानीय तहले बाढीबाट विस्थापितलाई सामूहिक खाना र बसोवासको व्यवस्था मिलाइदिए । संघीय सरकारको जम्बो टोली अकासे निरीक्षणपछि काठमाडौं फर्किए पनि तराई–मधेसको बाढी र डुबान व्यवस्थापनका लागि पहल गरेको सुनिएको छैन ।


कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिनयता डुवान क्षेत्रको भ्रमणमा छन् । उनीसँगै पार्टीका उपसभापति विमलेन्द्र निधि पनि बाढीग्रस्त क्षेत्र घुमिरहेका छन् । रौतहट, महोत्तरी, धनुषा र सिरहाको डुबान क्षेत्र पुगेका कांग्रेस सभापति देउवाले धेरैजसो पीडितले एउटै माग राखे, ‘सधैं यो दुःख (बाढी–डुबान) बाट मुक्ति दिलाउनुस् । भलो हुन्छ ।’


देउवाले भने बाढी–डुवानको विषयमा सरकारले छलफल गर्न नचाहेको आरोप लगाए । उनले त्यही कारणले प्रतिनिधिसभाको बैठक रोकेको पनि बताए । तर, देउवालाई बाढीग्रस्त भ्रमणको क्रममा उनका नेता–कार्यकर्ताले चुनावी र्‍याली र सभा झै फूलमालाले स्वागत गरिरहेका छन् । बाढी पीडितले पनि राहतभन्दा बाढीको स्थायी समाधान नै हुनुपर्ने मुद्दा प्राथमिकतामा राखेका छन् ।

प्रकाशित : श्रावण ४, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?