१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सूचना केन्द्रले सेवाग्राहीलाई सहज

शंकर आचार्य

पर्सा — छोरा मुरारी पडितको नागरिकता बनाउन वडा कार्यालयको सिफारिस लिन वीरगन्ज महानगरपालिका वडा नं २३ को कार्यालयमा बिहीबार आएका हरीशंकर छरितो सेवा पाउँदा दंग परे । 

वडा कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कमा खटिएका स्वयम्सेवीले उनलाई सहजीकरण मात्र गरेनन् आवश्य पर्ने कागजातको फोटोकपि समेत गरिदिए । ‘पहिले सरकारी कार्यालय भनेपछि ढिलासुस्ती हुने, कर्मचारीले असहयोग गर्ने जस्ता तितो अनुभव हुन्थ्यो,’ हरीशंकरले भने, ‘यस पटक त्यस्तो केही भएन, बरु सहजै काम भयो, मलाई अचम्म लाग्यो ।’


नाति हजारी पडितको मधेसी सिफारिस लिन वडा कार्यालयमा आएका जादोलाल पनि छिटो छरितो काम भएपछि खुसी भए । उनलाई पनि हेल्प डेस्कमा खटिएका स्वयम्सेवीले सिफारिस लिन सहजीकरण गरी दिएका थिए । ‘नातिले लोकसेवा आयोगको विज्ञापनमा मधेसी कोटाबाट प्रतिस्पर्धा गर्न खोजेको छ,’ जादोलालले भने, ‘छिटै सिफारिस पाएँ, खुसी लाग्यो ।’


यूएनडीपीको सहयोगमा सामाजिक विकास समन्वय समिति वीरगन्जले असार १८ देखि वडा कार्यालयमा सञ्चालन गरेको सामुदायिक सूचना तथा सेवा सहजीकरणबाट यसरी सेवाग्राही लाभान्वित हुन थालेका छन् । केन्द्रले वडा कार्यालयमा हेल्प डेस्क स्थापना गरी सेवाग्राहीको सुविधाका लागि स्वयम् सेवक परिचालन गरेको छ ।


केन्द्रले वडा कार्यालयको सेवाप्रवाह चुस्त दुरुस्त बनाउन हेल्प डेस्क निर्माण गर्नुका साथै एक–एक थान ल्यापटप, फोटोकपि मेसिन समेत कार्यालयलाई उपलब्ध गराएको छ ।


केन्द्रका कार्यकारी निर्देशक जयनारायण चौधरीले स्थानीय सरकारले जनतालाई दिने सेवामा सहजीकरण गर्ने स्थानीय सरकारको केही सूचनाहरू जनतालाई प्रवाह समेत गर्ने उद्देश्यका साथ वडा कार्यालयलाई सहयोग गरेको बताए । देशको विकासमा नागरिकको पनि प्रत्यक्ष सहभागिता होस् भन्ने उद्देश्य पनि रहेको उनले बताए ।


स्वयंसेविका रूपमा

खटिएका स्थानीय युवा प्रदीपकुमार दासले सेवाग्राहीलाई सेवामा सहजीकरण गर्दा आफूले पनि धेरै नयाँ नयाँ कुरा सिक्ने अवसर पाएको बताए । हालै १२ कक्षा उत्तीर्ण गरेका उनी अब लोकसेवा आयोगको तयारीमा जुट्ने र यसरी सरकारी कार्यालयको सेवासँग प्रत्यक्ष जोडिंदाको प्राप्त अनुभवले आफूलाई लाभ मिलेको उनले बताए ।


वडा सचिव राजेन्द्र प्रसाद यादवले संस्थाका स्वयम् सेवा खटिंदा आफूले कार्यालयमा कर्मचारीको दरबन्दी थपिएको जत्तिक्कै सहज अनुभव गरेको बताए । सेवाग्राहीको फारम, निवेदन आदि भर्ने र लेख्ने काम स्वयम्सेवीहरूले गरी दिने गरेकाले आफूहरूलाई धेरै सहज भएको उनले बताए ।


वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहाले केन्द्रबाट खटिएका स्वयम्सेवीबाट सेवाग्राही अत्यधिक लाभान्वित भइरहेको बताए । ‘विगतमा फारम भर्न समेत नजानेर अलमलमा पर्ने सेवाग्राहीलाई स्वयम्सेवीले सबै खाले सहजीकरण गरिरहेका छन्,’ उनले भने, ‘यस्तो सेवालाई निरन्तरता दिनुपर्छ ।’

प्रकाशित : श्रावण ३, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?