कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सिरहामा ६० प्रतिशत मुद्दा फर्छ्योट

भरत जर्घामगर

सिरहा — सिरहा जिल्ला अदालतले ०७५/७६ मा अदालतमा परेको मुद्दामध्ये ६० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । सिरहा जिल्ला अदालतद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेले मुद्दा फर्छ्यौटको सन्दर्भमा यो अहिलेसम्मकै बढी रहेको जानकारी दिए ।

उनका अनुसार उक्त आर्थिक वर्षमा अदालतमा दर्ता रहेको र अघिल्ला वर्षबाट मौज्दात रहेका गरी ५ हजार ५ सय ८८ मुद्दामध्ये ३ हजार ३ सय ८० मुद्दा फर्छ्यौट गरिएको हो । यो मुद्दा फर्छ्यौट दर ६० दशमलव ४८ प्रतिशत हो । अदालतमा बाँकी रहेका २ हजार २ सय ८ मुद्दा चालु वर्षमा फर्छ्यौट गर्न प्राथमिकतामा राखिएको छ ।


कैद सजायतर्फ ३ हजार ६ सय ९४ वर्ष ९ महिना १ दिनमध्ये ५ सय ७ वर्ष ११ महिना सात दिनको कैद फर्छ्यौट भई ३ हजार १ सय ८७ वर्ष ९ महिना २४ दिन बाँकी रहेको छ । नयाँ संहिताले लागू गरेको फैसला भएको ५० वर्षभन्दा माथिका १ हजार ३ सय २२ वर्ष ११ महिना ११ दिन कैद तथा १८ लाख ६६ हजार ६ सय २८ रुपैयाँ ३३ पैसाको लगत कट्टा गरिएको छ ।


यसैगरी जरिवानातर्फ १३ करोड ७३ लाख १ हजार ७ सय ७ मध्ये १ करोड ४० लाख ५ हजार ६ सय ५३ रुपैयाँमात्र असुल हुन सकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जरिवानातर्फ १२ करोड ३२ लाख ९६ हजार ५४ रुपैयाँ फर्छ्यौट हुन बाँकी छ । न्यायाधीश पाण्डेले फर्छ्यौट गर्नुपर्ने ठूलो संख्याको कैद र जरिवाना कसुरदार फरार हुने र अदालतको फैसला नमान्ने प्रवृत्तिका कारण बढदै गएको बताए ।


‘फरारी कसुरदारलाई पक्रन हामीले नेपाल प्रहरीलाई खटाएका थियौं तर कसुरदारले प्रहरीलाई समेत टेर्न छोडेका छन्,’ उनले भने, ‘यस आर्थिक वर्षदेखि फरारीलाई पक्रन सशस्त्र प्रहरीलाई समेत परिचालन गर्ने तयारी भइरहेको छ ।’


सिरहामा न्यायिक क्षेत्रलाई सेवाग्राही मैत्री बनाउन न्यायाधीशहरूको अध्यक्षतामा विभिन्न समिति गठन गरिएको, हरेक महिना ‘मिट द जज’ कार्यक्रम सञ्चालन गरिएको, सदरमुकाम बाहिरका ग्रामीण भेगमा न्यायाधीश र सर्वसाधारणबीच न्यायिक गतिविधिको विकृतिबारे छलफल गर्न ‘न्यायमा बाहय पहुँच’ कार्यक्रम सञ्चालन गरिएको, स्थानीय तहमा रहेको न्यायिक समितिको निरीक्षण गरिएको र आवश्यकता अनुसार पटकपटक बार र बेञ्चबीच अन्तरक्रिया हुँदै आएको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?