१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बजेट सर्वसम्मतिले पारित

धनुषा — प्रदेश सरकारले ०७६/७७ का लागि ल्याएको ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट संसदबाट सर्वसम्मत पारित भएको हो ।

बजेट छलफलको क्रममा सांसदहरूले अबण्डा रकमको शीर्षक खोज्दै संसद नै अवरुद्ध गरेपछि अनिश्चितकालका लागि स्थगित गरिएको संसद असार मसान्तको अन्तिममा आएर पारित भएको हो । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रस्तुत गरेका विधेयक सर्वसम्मतिले पारित भएको हो ।


बजेट पारित हुनुअघि मुख्यमन्त्री लालबाबु राउतले पार्टीका नेता/कार्यकर्ताले उपभोक्ता समिति गठन गरी बजेट चलाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । विगतमा भएका यस्ता घटनाले सत्तापक्षका सांसदको समेत थुप्रै असन्तुष्ट रहेको बताउँदै अगामी दिनमा यस्ता गल्ती सच्चयाउँदै अघि बढ्ने बताएका छन् ।


‘हाम्रा माननीयलाई थाहा नै नभइकन सामान्य कार्यकर्ताले मन्त्रालयको बजेट चलाउनु दुर्भाग्यपूर्ण हो । म विश्वास दिलाउन चाहन्छु अगामी दिनमा हामी यस्ता कार्यलाई निरुत्साहित गरी अघि बढछौं,’ प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राउतले भने, ‘हामी पनि प्रतिपक्षी दल हुँदैनौं भन्ने कुरा छैन, त्यसैले सरकारले गर्ने हरेक कुराले आउने दिनमा निरन्तरता पाउने भएकाले गल्तीलाई स्विकार्दै सच्याउनुपर्छ ।’


मुख्यमन्त्री राउतले पटक पटक मन्त्रालयका सचिवको सरुवा र कर्मचारी अभावका कारण काम गर्न कठिनाई भएको बताए । उनले संघीय सरकारमाथि औंला ठडयाएर पञ्छिन नखोजेको स्पष्ट पारे । ‘मन्त्रीहरूलाई पनि हेक्का होस, हाम्रो बारेमा चोकचोकमा चियाखानेहरूले कमेन्ट गरिराखेका हुन्छन् । हामीले जति ढाँटेर कुरा गरे पनि जनताले सबै देखिराखेका छन् । गल्ती सुधारेर अगाडि बढौं,’ मुख्यमन्त्री राउतले थपे ।


संसदमा विनियोजन विधेयक २०७६ माथि उठेको प्रश्नहरूको जवाफ दिँदै प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री यादवले बजेटभन्दा बढी आवश्कता तथा महत्त्वाकांक्षा भएको कारण बजेटमा असन्तुष्टि आउनु स्वाभाविक भएको बताए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?