१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पीडितको समस्या नसुनी फर्कियो मन्त्रीको जम्बो टोली

शिव पुरी

रौतहट — बाढी प्रभावित जिल्लाको स्थलगत निरीक्षण गर्न आएका मन्त्री र पूर्वप्रधानमन्त्री सहितको टोली बुधबार पीडितलाई नभेटी राजधानी फर्किएको छ । उनीहरू हेलिकप्टरबाट आएर गौरको पुरेनवास्थित सेनाको गणमा स्थानीय प्रशासनसँग क्षति र बाढीको अवस्था बुझेर फर्किएका हुन् ।

पीडितको समस्या नसुनी फर्कियो मन्त्रीको जम्बो टोली

टोलीको हेलिकप्टर अवतरण भएको स्थानबाट बाढीपीडित बसेकाहरु नजिकै थिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, विकास समितिका सभापति कल्याणी खड्का, राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा, नेकपाका प्रदेश २ का संयोजक प्रभु साह लगायतको टोली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि आएका थिए ।


राजधानीबाट सेनाको हेलिकप्टर लिई आएको टोली पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएको थियो । त्यही सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर बाढी र डुबानबाट भएको क्षतिको जानकारी र विवरण लिएर फर्किएका हुन् । उनीहरू हेलिकप्टरबाट ओर्लनासाथ सबै भन्दा पहिला सामूहिक तस्बिर खिचाए । त्यसपछि सिधै सेनाको गणस्थित माथिल्लो तल्लामा गए ।


त्यहाँ प्रमुख जिल्ला अधिकारी किरण थापाले टोलीलाई बाढी र डुबानबारे जानकारी गराए । उनले सांसद विकास कोषको रकम जथाभावी बाटोमा खर्च गरेर समस्या ल्याएको भनेपछि सांसद झाले कुन सांसदको रकम कहाँ दुरुपयोग भयो भनेर प्रतिवाद गरे । बैठकमा केहीबेर रस्साकसी भयो ।


गृहमन्त्री थापा चुपचाप सुनिरहे । प्रजिअ थापाले बाढी र डुबानबाट सबैभन्दा धेरै ईशनाथ नगरपालिकाको बन्जाराहा र दुर्गभगवती गाउँपालिकाको सबै वडा प्रभावित भएको सुनाए । उनले स्वास्थ्यमन्त्री यादवलाई चिकित्सकको अभाव भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।


भौतिकमन्त्री महासेठले बाढीबाट सडकको क्षतिको विवरण लिएका थिए । ऊर्जामन्त्री पुनले बाढीबाट विद्युत् क्षेत्रमा भएको क्षतिको विवरण लिए । पूर्वप्रधानमन्त्री नेपालले गौर नजिकको पुल निर्माण सम्पन्न हुन नपाउँदै चर्किएको भनेर डिभिजन सडकको ध्यानाकर्षण गराएका थिए ।


टोलीलाई जिल्लाको वस्तुस्थितिबारे जानकारी गराइएपछि फर्कनेक्रममा मन्त्री थापाले वर्षाबाट हुने क्षति र डुबानको पूर्व तयारीमा केही कमी भएको बताए । उनले अब पुनर्निर्माण र राहतमा सरकार केन्द्रित हुने जानकारी दिए । फर्कने बेला पुनः सामूहिक तस्बिर लिए ।


टोली सुरुमा ईशनाथ नगरपालिकास्थित बाढीबाट डुबानमा परेका बन्जाराहा गाउँ जाने योजना थियो । सुरक्षा निकायले डुंगाबाट जानुपर्ने र जोखिम हुने भएपछि गएनन् । गौर ,पिप्राभलोहिय र बडहर्वामा रहेका विस्थापितहरुलाई भेट्नसमेत मन्त्री गएनन् ।


हेलिकप्टरबाट एक चक्कर लगाएर फर्किए । डुबान र बाढीबाट प्रभावित क्षेत्र निरीक्षण गर्न आएका मन्त्रीको जम्बो टोली पीडितको समस्या नसुनी फर्कियो । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि बाढी र डुबानबारे जानकारी लिन रौतहट आएका छन् ।

प्रकाशित : श्रावण १, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?