कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

वर्षाले रोपाइँ ठप्प

लक्ष्मी साह

(बारा) — लगातारको वर्षाले बारामा रोपाइँ ठप्प भएको छ । केही दिन अघिसम्मको खडेरीले धान रोप्न नपाएका किसान अहिले अत्यधिक वर्षाले खेत डुबानमा पर्दा चिन्तित छन् । 

वर्षाले रोपाइँ ठप्प

रोपाइँको चटारो हुनुपर्ने बेला अनावृष्टि र अतिवृष्टिले रोपाइँ प्रभावित बनेको छ । वर्षाको पानीको निकास हुन नसकेपछि जताततै डुबान छ । तराईमा वर्षाकै भरमा अधिकांश ठाउँमा रोपाइँ हुने गरेको छ । तर, धेरै वर्षाले किसानले रोपाइँ गर्न पाएका छैनन् ।


‘कहिले पानीकै अभाव त कहिले पानी नै पानीले रोपाइँ हुन नसक्दा किसान पिरोलिएका छन्,’ कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले भने, ‘यसरी वर्षाको असन्तुलनले उत्पादन घट्ने निश्चित छ ।’ उनका अनुसार असारमा एक चौथाई मात्र रोपाइँ भएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लाको झन्डै ६० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाईं हुने गरेको छ ।


‘यतिबेला आधाआधी रोपाइँ भइसक्नुपर्छ । तर, कहिले खडेरी त कहिले अतिवृष्टिले रोपाइँ हुन सकेको छैन ।’ कलैया उपमहानगरपालिका २३ का किसान रामचन्द्र यादवले वातावरण परिवर्तनसँगै किसानको खेतीमा असर परिरहेको उनले बताए । ‘यतिबेला खेत हरियाली देखिनुपर्ने हो तर, केही दिन अघि सुख्खैसुख्खा र अहिले पानीमय डुबानमा देखिन्छ,’ सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका किसान प्रदीप यादवले भने, ‘रोपाइँ नहुँदा किसान फुर्सदिलासँगै चिन्तित छन् ।’


यता, कोल्हवी नगरपालिका–७ धोधडपास्थित दाँदर खोलामा आएको बाढीले त्यहाँ निर्माणाधीन ५ करोडको दोहर सिँचाइ योजनाको झन्डै १ करोड बराबरको कच्चा पदार्थ सिमेन्ट, गिट्टी, निर्माणमा प्रयोग गरिने मेसिनलगायतमा क्षति पुर्‍याएको प्रहरीले जनायो । यसैगरी प्रसौनी गाउँपालिका–६, बंगरी खोलामा आएको बाढीले त्यहाँ निर्माणाधीन बंगरी सिँचाइ योजनाको झन्डै ७० लाखको त्यस्तै निर्माण सामग्री बगाएको छ ।


सहरी क्षेत्रमा पानीको निकासका लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाट बजार, विभिन्न विद्यालय जलमग्न भएका छन् । पानी परेसँगै मौसमको गडबडीले सिमरा–काठमाडौंको उडान प्रभावित भएको सिमरा नागरिक उड्ययन कार्यालयका एक अधिकारीले जनाए । अविरल वर्षाले विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् ।


गाउँका कच्ची सडक तहसनहस भएपछि सावारी आवागमन प्रभावित भएको बस व्यवसायी संघका सचिव विक्रम पटेलले बताए । सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बस चलेका छैनन् । बजार र सहरमा किनमेल गर्ने तथा अन्य कामले आउने मानिसको आवागमन निकै कम भएको छ ।


सरकारी कार्यालयमा सेवाग्रही घटेका छन् । विकास निर्माणका काम ठप्प छन् । अधिकांश खेत डुबानमा परेको छ । दर्जनौं कच्ची घर भत्केर लाखौं क्षति भएको छ । पोखरीमा पानी ‘ओभर फलो’ हुँदा दर्जनौं किसानका माछा नोक्सानी भएको छ ।


प्रकाशित : असार ३०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?