वर्षाले रोपाइँ ठप्प

लक्ष्मी साह

(बारा) — लगातारको वर्षाले बारामा रोपाइँ ठप्प भएको छ । केही दिन अघिसम्मको खडेरीले धान रोप्न नपाएका किसान अहिले अत्यधिक वर्षाले खेत डुबानमा पर्दा चिन्तित छन् । 

रोपाइँको चटारो हुनुपर्ने बेला अनावृष्टि र अतिवृष्टिले रोपाइँ प्रभावित बनेको छ । वर्षाको पानीको निकास हुन नसकेपछि जताततै डुबान छ । तराईमा वर्षाकै भरमा अधिकांश ठाउँमा रोपाइँ हुने गरेको छ । तर, धेरै वर्षाले किसानले रोपाइँ गर्न पाएका छैनन् ।

‘कहिले पानीकै अभाव त कहिले पानी नै पानीले रोपाइँ हुन नसक्दा किसान पिरोलिएका छन्,’ कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले भने, ‘यसरी वर्षाको असन्तुलनले उत्पादन घट्ने निश्चित छ ।’ उनका अनुसार असारमा एक चौथाई मात्र रोपाइँ भएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लाको झन्डै ६० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाईं हुने गरेको छ ।

‘यतिबेला आधाआधी रोपाइँ भइसक्नुपर्छ । तर, कहिले खडेरी त कहिले अतिवृष्टिले रोपाइँ हुन सकेको छैन ।’ कलैया उपमहानगरपालिका २३ का किसान रामचन्द्र यादवले वातावरण परिवर्तनसँगै किसानको खेतीमा असर परिरहेको उनले बताए । ‘यतिबेला खेत हरियाली देखिनुपर्ने हो तर, केही दिन अघि सुख्खैसुख्खा र अहिले पानीमय डुबानमा देखिन्छ,’ सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका किसान प्रदीप यादवले भने, ‘रोपाइँ नहुँदा किसान फुर्सदिलासँगै चिन्तित छन् ।’

यता, कोल्हवी नगरपालिका–७ धोधडपास्थित दाँदर खोलामा आएको बाढीले त्यहाँ निर्माणाधीन ५ करोडको दोहर सिँचाइ योजनाको झन्डै १ करोड बराबरको कच्चा पदार्थ सिमेन्ट, गिट्टी, निर्माणमा प्रयोग गरिने मेसिनलगायतमा क्षति पुर्‍याएको प्रहरीले जनायो । यसैगरी प्रसौनी गाउँपालिका–६, बंगरी खोलामा आएको बाढीले त्यहाँ निर्माणाधीन बंगरी सिँचाइ योजनाको झन्डै ७० लाखको त्यस्तै निर्माण सामग्री बगाएको छ ।

सहरी क्षेत्रमा पानीको निकासका लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाट बजार, विभिन्न विद्यालय जलमग्न भएका छन् । पानी परेसँगै मौसमको गडबडीले सिमरा–काठमाडौंको उडान प्रभावित भएको सिमरा नागरिक उड्ययन कार्यालयका एक अधिकारीले जनाए । अविरल वर्षाले विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् ।

गाउँका कच्ची सडक तहसनहस भएपछि सावारी आवागमन प्रभावित भएको बस व्यवसायी संघका सचिव विक्रम पटेलले बताए । सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बस चलेका छैनन् । बजार र सहरमा किनमेल गर्ने तथा अन्य कामले आउने मानिसको आवागमन निकै कम भएको छ ।

सरकारी कार्यालयमा सेवाग्रही घटेका छन् । विकास निर्माणका काम ठप्प छन् । अधिकांश खेत डुबानमा परेको छ । दर्जनौं कच्ची घर भत्केर लाखौं क्षति भएको छ । पोखरीमा पानी ‘ओभर फलो’ हुँदा दर्जनौं किसानका माछा नोक्सानी भएको छ ।

प्रकाशित : असार ३०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोमा स्वास्थ्य चौकी

कान्तिपुर संवाददाता

नवलपुर — पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४ अर्खलास्थित स्वास्थ्य चौकीको भवन पहिरोले बगाएको छ । सडक बनाउँदा डोजरले खनेको पहरो लगातारको वर्षाले बगाउँदा भवनको केही भाग बगाएको छ भने बचेका पनि चर्काएको छ । 

पहिरोपछि सामान अन्यत्र सार्ने काम भइरहेको स्वास्थ्य चौकी प्रमुख टोकबहादुर सुस्लिङ मगरले बताए । ‘हाम्रो चौकी सडक किनारको ढिस्कोमा थियो, सडक खन्दा ध्यान नपुर्‍याइएकाले पहिरोले लग्यो ।’ अर्खला आसपासका५ हजार स्थानीयलाई
सेवा दिंदै आएको चौकी पहिरोमा परेपछि स्थानीय चिन्तित छन् ।

तत्काल वैकल्पिक व्यवस्थागरेर स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने स्थानीय प्रेमबहादुर मगरले बताए ।सडक निर्माणको काम भइरहेकाले यस क्षेत्रका अरू पनि निजी तथा सरकारी भवन पहिरोको जोखिममा छन् । कावासोतीको फलफूल चोकबाट बोझापोखरी हुँदै अर्खला भएर कोखेटार पुग्ने बाटो निर्माणको काम भइरहेको हो ।

प्रकाशित : असार ३०, २०७६ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्