कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

८० प्रतिशत डुबानमा

बाढीबाट ज्यान गुमानेका प्रति परिवारलाई ३ लाख सहयोग, प्रदेशका आठै जिल्लामा १० लाख सहयोग पठाउने प्रदेश सरकारको निर्णय
प्रदेश ब्युरो

बिहीबारदेखि शनिबारसम्म परेको पानीले प्रदेश २ को ८० प्रतिशत भू–भाग डुवानमा परेको छ । निरन्तर भइरहेको वर्षाले राहत र पुनःस्थापनाको काममा ढिलाइ भइरहेको छ । बाढीले महोत्तरीको बर्दिवासस्थित भप्सी खोलाको पुल भत्काएको छ ।  

८० प्रतिशत डुबानमा

पूर्वपश्चिम राजमार्गको भप्सी पुल शुक्रबारको भीषण वर्षाले बीचबाटै भाँचिएको छ । नेपाल प्रहरीका प्रदेश प्रमुख डीआइजी प्रधुम्न कार्कीका अनुसार राजमार्गकै पुल भत्किएपछि रातिदेखि रोकिएका सवारीसाधनलाई डाइभर्ट गरिएको छ । ‘प्राविधिकको टोलीले भप्सी पुलनजिकै डाइभर्सन बनाई साना गाडी पठाउने काम भएको छ,’ डीआइजी कार्कीले भने, ‘दुई–तिन दिनमै भत्किएको पुलमा बेलिब्रिज लगाइनेछ ।’
बाढीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका र वटेश्वर गाउँपालिका जोड्ने औरही खोलामा निर्माणाधीन पुल भत्केको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा निर्माणाधीन पुल बाढीको भेलले भत्काएको हो । रोशन कन्ट्रक्सनले झन्डै ६ वर्षदेखि निर्माण गरिरहेको पुल अझै बन्न सकेको थिएन ।
डीआईजी कार्कीका अनुसार निरन्तर वर्षा भइरहेकाले अवरुद्ध लाइफलाइनलाई सुचारु गर्न र उद्धार तथा पुनःस्थापनामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘कार्यालय कुर्ने १–२ जना बाहेक प्रदेशभरि ५ हजार ५ सय प्रहरी परिचालन गरिएको छ,’ डीआइजी कार्कीले भने, ‘उद्धार र पुनःस्थापनाको काममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त परिचालन गरिएको छ ।’ बाढीले प्रदेश २ मा हालसम्म २ को मृत्यु र ३ बेपत्ता रहेको उनले बताए । वर्षाले रौतहट बढी प्रभावित छ । ‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ,’ सशस्त्र प्रहरी प्रदेश २ का डीआईजी राजु अर्यालले भने, ‘उद्धार र पुनःस्थापनाका लागि ५ हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’
रौतहटको चन्द्रनगर र गरुडाको प्रहरी चौकीबाहेक सुरक्षा निकायका सबै कार्यालय डुवानमा परेका छन् । कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ । कमला सिंचाइ आयोजनाका प्रमुख मनोहर साहका अनुसार शुक्रबार रातिको ठूलो पानीले कमला खोलाको डेफ्थ बैंक ड्यामसमेत भत्काएको छ । कमला खोलाको पुलमा रहेका प्रमुख साहले फोनमा भने, ‘कमलाको पानी तटबन्ध माथिबाट बग्न थालेको छ । स्थिति भयावह छ ।’ रौतहटको गौर क्षेत्रमा डुबानमा फसेकाहरूलाई डुंगाको मद्दतले उद्धार गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले डुंगाको माध्यमबाट उद्धार जारी राखेको बताए ।

हेलिकोप्टर कुर्दै
प्रदेश सरकारले बाढी र डुवान क्षेत्रको अवलोकन र फसेकाहरूको उद्धारका लागि संघीय सरकारसँग हेलिकोप्टर उपलब्ध गराउन माग गरेको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री कार्यालयसित हेलिकोप्टरको बन्दोबस्त मिलाइदिन आग्रह गरेका हुन् । यता, शनिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले बाढी र डुवानमा मृत्यु भएका परिवारलाई ३ लाख रुपैयाँ र उद्दार, राहत र पुनःस्थापनाका लागि ८ वटै जिल्लालाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री राउतले लगातारको वर्षाले प्रदेश २ को स्थिति भयावह बनेकाले यसलाई काबुमा ल्याउन सबैको सहयोगको आवश्यकता रहेको बताए । ‘उद्धार र राहतलाई प्राथमिकतामा राखेका छौं,’ मुख्यमन्त्री राउतले भने, ‘अन्य सबै बन्दोबस्त मिलाउन आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिइएको छ ।’

२४ घण्टापछि एयरलिफ्ट
पुलको अनुगमनमा इन्जिनियरसहित कमला खोलामा बाँधमा फसेका ९ जना प्राविधिकको टोलीलाई शनिबार साँझ हेलिकोप्टरबाट उद्धार गरिएको छ । शुक्रबारदेखि बाँधमै अलपत्र परेका उनीहरूको उद्धारका लागि हेलिलिफ्ट गराउने शनिबारको प्रयास मौसममा केही सुधार आएपछि साँझ मात्र सम्भव भएको थियो ।हुलाकी सडक आयोजनाका इन्जिनियर जामुन साहसहित ९ जनाको प्राविधिक टोली सिरहा–धनुषाको सीमामा पर्ने बसपिट्टामा बाढीले घेरिएका थिए । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार कमला खोलाको पानीले चारैतिरबाट घेरिएका उनीहरूलाई उद्धार गर्न हेलिकोप्टर मगाइएको बताए ।हुलाकी राजमार्गमा निर्माण भइरहेको पुलको निरीक्षण गर्न इन्जिनियर साहसहित ९ जनाको प्राविधिक टोली शुक्रबार कमला खोलाको तटीय क्षेत्र पुगेको थियो । धनुषाका सिडिओ प्रदीप कँडेलले सुर्खेतबाट आएको हेलिकोप्टरले ९ जनालाई एयरलिफ्ट गरेर सुरक्षित स्थानमा ल्याइएको बताए ।

बारामा ७ सय विस्थापित
खोलामा पानीको सतह बढेसँगै जिल्लाको अधिकांश ठाउँ डुबानमा परेपछि सयौं परिवार विस्थापित भएका छन् । खोला छेउछाउका बस्तीमा बाढीको पानी पसेर आधा दर्जन पालिकाका स्थानीय बासिन्दा विस्थापित भएका हुन् । खोला छेउका सात सय परिवार घर छाडेर अन्यत्र बसाइँ सरेका छन् । तिनीहरू विद्यालयलगायत अग्ला ठाउँमा पुगेर ओत लागेका छन् । ‘बाढीले करिब सात सय परिवार विस्थापित भएका छन्,’ प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले भने, ‘ती सबै बाढी पीडितलाई सुरक्षित स्थानमा पुर्‍याउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
कलैया उपमहानगरपालिकाको सखुई, निजगढ, जितपुरसिमरा, फेटा, विश्रामपुर, महागढीमाई, करैयामाई नगरपालिकाको वडा ८ बेलाही गाउँ बाढीको घेराबन्दीमा परेको छ । त्यहाँका दर्जनौं घर भत्केका छन् । लालबकैया, बंगरी, दुधौरा, पसाहा, तियर, थलही, जमुनीलगायतका खोलाबाट उनीहरू प्रभावित भएका हुन् । वर्षासँगै जिल्लाका विभिन्न खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि विपद् व्यवस्थापन समितिले क्षतिको लगत संकलन सुरु गरेको छ ।

राजमार्ग अस्तव्यस्त
पूर्व–पश्चिम राजमार्गसँगै प्रदेश २ भरिकै सडक डुवान र कटानमा परेका छन् । बाढीले केही स्थानको सडक डुबानमा पारेका छन् भने राजमार्गसहित केही स्थानमा पुल बगाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्ड अन्तर्गत बाराको निजगढ बजार क्षेत्रको लचकामा पानीको बहाव बढेर शुक्रबारदेखी डाइभर्ट गरिएको सवारीसाधन पानीको बहाव कम भएसँगै शनिबार बिहानदेखि सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ ।चन्द्रनिगाहपुर–बागमती खण्डको लचकमा शुक्रबारदेखि अवरुद्ध सडकमा शनिबार अपराह्नदेखि ठूला सवारीसाधन सञ्चालन गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । महोत्तरीको बर्दिवासस्थित भप्सी पुललाई बाढीले बगाउँदा त्यहाँ पनि सवारीसधान डाइभर्ट गरिएको छ । पूर्वतर्फ जाने सवारीसाधनलाई पथलैयामै व्यवस्थापन गर्न थालिएको प्रदेश २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालले जानकारी दिए । ‘अवरुद्ध राजमार्गलाई सुचारु गराउन प्रयास भइरहेको छ,’ उनले भने, ‘प्रभावित क्षेत्रमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको ।’ सडक संजाल बिग्रेका कारण बीच बाटोमा पुगेर सवारी चालक, यात्रीले दुःख नपाउन भन्ने उद्देश्यले चालकलाई समयमै पथलैयामै सचेत गराउन थालिएको उनले जानकारी दिए ।

सप्तरीमा १५ घर बगे
बाढीले सप्तरीका विभिन्न स्थानका २ हजार ५ सय घर डुवानमा परेका छन् । घरबाटै अत्यधिक पानी बग्न थालेपछि १ हजार ५ सय परिवार विस्थापित भएका छन् । सप्तकोसी र हनुमाननगर कंकालिनी र राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका बाढीका कारण सबभन्दा बढी प्रभावित भएका हुन् । सप्तरीका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार त्रियुगा नदीको तटबन्ध तीन ठाउँमा भत्किँदा सप्तकोसी नगरपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ का गरी ७ सय परिवार विस्थापित भएका छन् । उनीहरूको घरमा बस्न सक्ने अवस्था छैन । सुरक्षाकर्मीले डुवानमा परेका ती घरका मानिसलाई डुङ्गाका माध्यमबाट उद्धार गरिरहेका छन् । शनिबार दिउँसोबाट सुरु भएको उद्धार कार्य साँझसम्म जारी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । एसपी यादवका अनुसार सप्तकोसी नगरपालिका भित्र विस्थापित भएकालाई राष्ट्रिय आधारभूत विद्यालय सखुवनी, गोबैज मावि फत्तेपुर र ओद्राहा माविमा राखिएको छ । सप्तकोसी र महुली नदीको बाढीका कारण हनुमाननगर कंकालिनी नगरपालिकाका ६ सय घरमा पानी पसेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साहका अनुसार कोसीको बाढीका कारण वडा नम्बर ७, ११, १२ र १४ का ३ सय परिवार विस्थापित भएका छन् । महुली खोलाको बाढी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिकाको पोर्ताहामा पुलमाथिबाट बग्न थालेपछि पुल भत्किने खतरा बढेको छ । पुल नजिकै महुली खोलाको बाढी ओभरफलो भई बस्ती तर्फ सोझिएको छ । त्यहाँ नेपाली सेना र सशस्त्र प्रहरीले मर्मतको सुरु गरेका छन् । वडा नम्बर १४ को गोबरगाढा गाउँ कोसीको पानीले घेरिएको छ भने घर घरमा पानी पसेको छ । पानी पसेका घरका सर्वसाधारण गोबरगाढास्थित विद्यालयमा शरण लिइरहेका छन् । गोबरगाढा गाउँको सम्पर्क अहिले अन्य स्थानबाट विच्छेद भएको छ । कोसीमा उच्च बहाबका कारण डुंगाको सहारामा पनि गोबरगाढा पुग्न जोखिम रहेको छ ।

प्रकाशित : असार २९, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?