विद्यालय तोडफोडले विद्यार्थीको रुवाबासी

शंकर आचार्य

(पर्सा) — नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसौनी विर्ताको कक्षा ६ की छात्रा सरिनाकुमारी पासवान बुधबार विद्यालय पुग्दा मन थाम्न सकिनन् । कक्षा कोठाको डेक्स–बेन्च भाँच्चिएको देखेपछि उनी रुन थालिन् । 

विद्यालय तोडफोडले विद्यार्थीको रुवाबासी

विद्यालयमा अज्ञात समूहले विध्वंश मच्चाएको देखेर उनी भक्कानिएकी थिइन् । ‘ससाना नानी पढ्ने विद्यालयको कसैले के नै बिगारेको छ र ?,’ उनले भनिन्, ‘हाम्रो कक्षाको डेक्स–बेन्च भाच्ने गरी कसले रिस पोख्यो होला ?’


कक्षा ४ की छात्रा १२ वर्षीया रुपा कुमारी दासको आँखा पनि आफ्नो कक्षाको कन्तविजोग देखेर रसाएका थिए । विद्यार्थी बस्ने डेस्क बेन्च कामै नलाग्ने गरी भाँचेको देख्दा उनको मनमा डर पनि पसेको बताइन् ।


वीरगन्ज महानगरपालिका वडा नं २३ मा रहेको यो विद्यालयमा मंगलबार राति अज्ञात समूह पर्खाल नाघेर माथिल्लो तल्लामा रहेका कक्षा कोठाका ३ दर्जनभन्दा बढी डेस्क बेन्च भाँचेपछि बुधबार विद्यालयको पठन पाठन प्रभावित भयो । यस घटनाले विद्यार्थीहरू त्रस्त मानसिकतामा थिए । कोही रुने कोही टोलाउने गरिरहेका देखिन्थे ।


भौतिक पूर्वाधारको चरम अभाव रहेको यो विद्यालयमा यसै वर्ष माथिल्लो तल्लाका कक्षामा डेस्क र बेन्चको व्यवस्था गरिएको थियो । भुइँमा बसेर पढने विद्यार्थीहरू बेन्चमा बसेर पढन पाएका थिए । विद्यालय व्यवस्थापन समितिले यसै वर्ष आफ्नै लगानीमा उक्त डेक्स बेन्च बनाएको थियो । अर्थ अभावका कारण माथिल्लो तल्लाका कक्षामा ढोका समेत हालिएको थिएन ।


विना कुनै विवाद र झैझगडा विद्यालयको भौतिक सम्पत्ति नष्ट गरिएको यो घटनाले सबैलाई चकित बनाएको छ । स्थानीय अनिशकान्त कुशवाहाले विद्यालयमा गरिएको आक्रमणले स्थानीय अभिभावकलाई चिन्तित बनाएको बताए ।


‘कल्पनै गर्न नसकिने घटना हुन पुग्यो,’ उनले भने, ‘सभ्य र शिक्षित समाजमा आफ्ना नानी पढ्ने विद्यालयलाई सक्दो संरक्षण गरिन्छ, तर यहाँ त ठीक उल्टो पो हुन पुग्यो ।’ यो विद्यालयमा अधिकांश विपन्न, दलित तथा सीमान्तकृत समुदायका बालबालिका पढ्ने गरेको उनले बताए ।


वडाध्यक्ष अवधकिशोर कुशवाहाले घटनाको प्रकृति हेर्दा एक दुई जना मात्र नभई आठ दश जनाकै समूह विद्यालयमा प्रवेश गरेको जस्तो देखिएको बताए । ‘काठले बनाइएका महगा डेस्क बेन्च कक्षा कोठामा तोडफोड गरेर बर्बाद मात्रै गरिएको छैन माथिबाट विद्यालयको चौरमा समेत फालिएको छ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा आक्रमणको यो घटना केवल आतंक मच्चाउने काम मात्र हो ।’


प्रकाशित : असार २६, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?