१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तालिम खोज्दै न्यायिक समिति प्रमुख

पर्सा — जिल्लाका न्यायिक समितिका प्रमुखले आफूलाई तालिमको खाँचो रहेको बताएका छन् । विगतमा न्यायिक क्षेत्रको कुनै अनुभव नरहेकोमा अचानक आइपरेको जिम्मेवारी सम्हाल्दा थुप्रै व्यावहारिक समस्या भोग्नुपरेको उनीहरू सुनाउँछन् । 

उषा चौधरी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष हुन् । उपाध्यक्षले न्यायिक समितिको प्रमुखको जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले उनलाई न्यायीक ज्ञानको खाँचो परेको छ । चुनौतीलाई अवसरकै रूपमा स्विकारेकी उषालाई विगतमा न्यायिक क्षेत्रको कुनै अनुभव नहुँदाको पीडा छ । समितिमा पर्ने गरेको मुद्दाको छिनोफानो गरे पनि मुद्दा मामिलाको रेकर्ड राख्नेदेखि नयाँ ऐन कानुन निर्माण भएपछि त्यसमा गरिएका व्यवस्था, कानुनी प्रावधान तथा कानुनको व्याख्या आदि विषयबारे समस्या हुने गरेको उनको अनुभव छ । ‘यसो भन्दा हामी आफ्नो जिम्मेवारी वहन गर्न अक्षम छौं भन्न खोजेको होइन,’ उनले भनिन्, ‘तर नयाँ नयाँ नियम कानुन र तिनमा भएका प्रावधान बुझ्न तथा कानुनसम्बन्धी प्रशासनिक कार्यविधिबारे जानकारीका लागि हामीलाई समय समयमा तालिमको आवश्यकता टड्कारो रूपमा देखिएको छ ।’


समितिमा हालसम्म १ सय ३० मुद्दा दर्ता भएकामा ७० वटाको छिनोफानो गरिएको उनले बताइन् । २ वटा मुद्दा सिफारिस गरेर अदालत पठाइएको छ । फूलमती चौधरी सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष हुन् । न्यायिक समितिकी प्रमुख उनले पनि छिमेकी गाउँपालिकाकी उपप्रमुख उषा चौधरीजस्तै समस्या आफूले पनि अनुभव गरेको बताइन् । न्यायिक क्षेत्रका कतिपय विषयवस्तु हाम्रा लागि नौला छन्,’ उनले भनिन्, ‘त्यस कारण हामी समितिका पदाधिकारीलाई समय समयमा तालिमको आवश्यकता महसुस हुन्छ ।’


समितिमा हालसम्म २ सय मुद्दा परेकामा १ सय ५० को छिनोफानो भएको उनले बताइन् । समितिमा बढी लेनदेन, जग्गा किचलो, बस्तुभाउले बालीनाली खाएको, पति–पत्नीको सम्बन्धविच्छेद आदि मुद्दा पर्ने गरेको उनले बताइन् । दुवैले समितिलाइ जिल्ला अदालत वा उच्च अदालतका न्यायाधीशहरूबाट बेला बेलामा तालिम पाए सहज हुने बताएका छन् । समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ मा उल्लेख भएका मुद्दाको मात्र सुनुवाइ गर्दै छ । जसमा आलीधुर, बाँध–पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोगजस्ता विवादमा समितिले मेलमिलापको माध्यमबाट मात्र न्याय निरुपण गर्न सक्छ ।

प्रकाशित : असार २५, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?