कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

केराउको तस्करी बढ्यो

महोत्तरी — तेस्रो मुलुकबाट आयात गरिएका पहेंलो केराउ (मटर) भन्सार छलेर भारततर्फ तस्करी हुने क्रम बढेको छ । यसअघि मरीच, सुपारी र पेट्रोलियम पदार्थ भारत पुर्‍याउने गिरोह नै पछिल्लो समय केराउ तस्करीमा लागेका हुन् ।  जलेश्वर भन्सारका अनुसार महोत्तरीमा केराउ तस्करी वैशाख दोस्रो सातादेखि देखा परेको हो ।

असार १५ सम्म भारत प्रवेश गर्न लागेको अवस्थामा भन्सार, सशस्त्र, नेपाल प्रहरी तथा सशस्त्रको भन्सार तथा राजस्व गुल्मका छुट्टाछुट्टै गस्तस्ले ९३ बोरा (साढे ४६ क्विन्टल) केराउ नियन्त्रणमा लिएको छ ।


नेपाली बजारमा बरामद केराउ २ लाख ५५ हजार रुपैयाँबराबर हो । यत्तिकै केराउ भारतीय बजारमा पुगेपछि मूल्य बढेर ३ लाख ३४ हजार ८ सय (भारु २ लाख ९ हजार २ सय ५०) पुग्छ । यही अन्तरले केराउ तस्करी बढेको नेपाली तथा भारतीय व्यापारीको भनाइ छ । कारण भारतीय बजारमा पहेंलो केराउको माग र मूल्य उच्च छ । सीमावर्ती भारतीय बजार भिट्ठामोडका किराना व्यापारी रोहित कुमारका अनुसार अहिले भारतीय बजारमा पहेंलो केराउ प्रतिकिलो ४५ भारतीय रुपैयाँ पर्छ । सीमावारिको नेपाली बजारमा यही केराउ किलोको ५५ रुपैयाँ रहेको नेपाली व्यापारी विमल साहले जनाए ।


‘किलोमा १७ रुपैयाँ अन्तर परेपछि यताको माल उता हुने नै भयो,’ रोहित कुमारले भने । स्रोतका अनुसार तेस्रो मुलुक युक्रेन र क्यानाडाबाट आयात गरिएका केराउको तस्करी विराटनगरलगायतका पूर्वी नाकाबाट हुँदै आएको थियो । उता कडाइ हुन थालेपछि सुरक्षित नाका पहिल्याउँदै तस्करको जालो महोत्तरीसम्म पुगेको हो ।


अहिलेसम्म नैनही, खयरा र मरुवाही नाकाबाट मात्र केराउ तस्करी भएको पाइएको छ । दुवै नाका सदरमुकामसमेत रहेको र जलेश्वर नगरपालिकाका वडा हुन् । जलेश्वर भन्सार प्रमुख केशव भण्डारीका अनुसार अहिलेसम्म सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मले ७, भन्सार गस्तीले ६, नेपाल प्रहरीले २ र सशस्त्र गस्तीले १ गरी १६ पटक केराउ बरामद गरेको छ । तर सबै केराउ नैनही र मरुवाही नाकाबाट साइकल र मोटरसाइकलबाट लाँदै गरेको अवस्थामा बरामद भएको उनले जनाए ।

प्रकाशित : असार २५, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?