कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतीय तरकारी र फलफूल निर्बाध भित्रिँदै

पर्सा — वीरगन्ज नाकाबाट आइतबारदेखि भारतीय तरकारी र फलफूल निर्बाध रूपमा भित्रिन थालेका छन् । यसअघि वाणिज्य विभागको परिपत्रअनुसार भारतबाट हरियो तरकारी तथा फलफूल आयात गर्दा प्लान्ट क्वारेन्टाइन र विषादी अवशेष परीक्षण गर्न अनिवार्य गरिएको थियो । 

भन्सार विभागको आइतबारको परिपत्र प्राप्तपछि पुरानै प्रक्रियाअनुसार तरकारी र फलफूल भित्रिन थालेको वीरगन्ज भन्सार कार्यालयका अधिकृत प्रमोद पौडेलले जानकारी दिए । ‘भारतीय तरकारी र फलफूलको आयातमा पुरानै प्रक्रिया लागू गरिएको छ,’ उनले भने, ‘विभागको निर्देशनको पालना गरिएको हो ।’ यसअघि भारतीय तरकारी तथा फलफूलको आयातमा क्वारेन्टाइन तथा विषादी अवशेष परीक्षणको अनिवार्यता गरिएको थियो । त्यसअनुरूप केही आयातकर्ताले दुवै परीक्षण गराउनसमेत थालिसकेका थिए । प्लान्ट क्वारेन्टाइन परीक्षण वीरगन्जमै हुने गरेको छ । भने विषादी परीक्षण सर्लाहीमा हुने गरेको छ ।’


वीरगन्ज मुलुककै सर्वाधिक तरकारी तथा फलफूल आयात हुने नाका हो । भारतको विहार, उत्तरप्रदेश, पश्चिम बंगाल, गुजरात राज्यसमेतबाट यो नाका हुँदै मौसमी तथा बेमौसमी हरिया तरकारदेखि जम्मु कश्मीर तथा अन्य राज्यमा उत्पादित स्याउलगायत फलफूलसमेत आयात हुने गरेको छ । हाल आँप, लिचीजस्ता मौसमी फल ठूलो परिमाणमा भारतबाट आयात भइरहेको छ ।


यो नाकाबाट दैनिक ७ देखि १० गाडीसम्म तरकारी तथा फलफूल भित्रिने गरेको छ । आलु, प्याज पनि त्यत्तिकै आयात हुने गरेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले एक महिनायता यो नाकाबाट १ लाख २३ हजार ६ सय २४ किलो तरकारी आयात भएको देखाएको छ । भन्सार अधिकृत पवन थापाका अनुसार, जुन ८ देखि जुलाई ८ (सोमबार) सम्मको अवधिमा यत्तिको परिमाणमा तरकारी भारतबाट आयात भएको हो ।


जसबाट २० लाख ८७ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको छ । यसै अवधिमा यो नाकाबाट १२ लाख ११ हजार १ सय ५२ किलो फलफूल आयात भएको छ । जसमा अन्य मौसमी फलफूलका साथ आँप र लिची बढी छ । फलफूल आयातबाट ७ करोड ९३ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । वीरगन्ज नाकाबाट भित्रिने तरकारी वीरगन्ज, नारायणघाट, पोखरा, राजधानीसम्म पुग्ने गर्छ । आयात गरिएको फलफूल अधिकांश राजधानी पुग्छ ।

प्रकाशित : असार २५, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?