साधुको छविमा अपराध

श्यामसुन्दर शशि

जनकपुर — आपराधिक क्रियाकलापमा धार्मिक सहर जनकपुरका साधुहरू मुच्छिने क्रम बढेको छ । हत्या, जग्गा किर्ते र यौन दुर्व्यवहारको घटनामा यहाँका साधुहरू सजाय काटिरहेका छन् । रत्नसागर मठका बर्खास्त महन्थ वैकुण्ठ दास वैष्णवलाई शिक्षा कार्यालय, महोत्तरीका कर्मचारी लालकिशोर झाको हत्या आरोपमा उच्च अदालत जनकपुरले १२ वर्ष जेल सजाय सुनाएको छ । यता, तुलसी स्मारकका पुजारी शिवशंकर दासमाथि बालिकासँग यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । 

नेपाल संस्कृत विश्वविद्यालयको आंगिक कलेज जनक हजारी विद्यापीठ (क्याम्पस) को भोगचलनमा रहेको अढाई बिघा जग्गाको कीर्ते कागज बनाएको र विरख कुटी, राधाकृष्ण मन्दिरलगायतका मठमन्दिरका जग्गा बिक्री गरेको आरोप महन्थ बैकुण्ठमाथि छ ।


जनकपुरधाम ८ बाह्रबिघाभन्दा दक्षिणमा रहेको तुलसी स्मारकका पुजारी शिवशंकर दास बालिकालाई ट्युसन पठाउने नाममा उनीहरूसँग यौन दुर्व्यवहार गरिरहेको खुलेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको नेतृत्वमा गएको साधुहरूको एक टोली जिल्ला प्रहरी कार्यालय धनुषामा पुगी यौन दुराचारको आरोप लागेका तुलसी स्मारकका पुजारी दासमाथि कारबाहीको माग गरेका थिए ।


उच्च शिक्षाप्राप्त तथा रामायणीको नामले चिनिने तुलसी स्मारकका पूजारी शिवशंकर बालिकालाई ट्युसन पढाउने नाममा गत पाँच वर्षदेखि यौन शोषण गर्दै आएको आरोप स्थानीयको छ । साधु रायका अनुसार शिवशंकर दासको बालिकासँगै अन्य महिलाहरूसँग पनि अवैध सम्बन्ध थियो । ‘तर कुनै पीडित अभिभावकले उजुरी गर्ने हिम्मत गरेनन् । हामी अघि सरेपछि पीडित परिवार प्रहरीमा पुगेको हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले भने । आरोपी पुजारी शिवशंकर आइतबारदेखि फरार छन् ।


पाँच वर्षअघि जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन अधिकृत झालाई लक्ष्मीनारायण मठ, मटिहानीको

जग्गा खरिदबिक्री विवादकै कारण हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ । झा लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास वैष्णवका भतिजा थिए र मठको जग्गा बिक्री गर्ने जिम्मेवारी उनकै रहेको अनुसन्धानमा खुलेको थियो ।


यस्तै, मन्दिरको सम्पति विवादकै कारण मटिहानीस्थित लक्ष्मीनारायण मठका तत्कालीन मानमहन्थ देवा दासको सीमावर्ती भारतीय गाउँमा हत्या गरिएको थियो भने ०२९/३० सालमा जनकपुर पेठियागाछीस्थित गिरनारी कुटीका महन्थ रवि गिरी र उनका चेला वीर गिरीलाई एकै राति हत्या गरी मन्दिरकै सन्दुकमा राखिएको अवस्थामा शव फेला परेको थियो । २०३८ सालमा जानकी मन्दिरको उत्तरी ढोकामा रहेको इनारमा स्थानीय जोगी साहको शव फेला परेको थियो । विहारकुण्डका महन्त रामपुकार शरणलाई गोली हानी हत्या गरिनुको कारण पनि सम्पति विवाद नै रहेको थियो ।


गुठीको जग्गामा रजाइँ

गुठी संस्थान ऐन २०३३ को दफा ३५ बमोजिम गुठी संस्थान अधिनस्थ मठ मन्दिरको जग्गा संस्थानको स्वीकृति बेगर कोही कसैले कुनै प्रकारको निर्माण गर्न पाउँदैन । तर, अरूको नाममा रजिस्ट्रेसन पास वा अन्य कुनै रूपले बिक्री–वितरण गर्न नपाउने यस्ता जग्गा मठ मन्दिरका महन्थहरू पुरानो मितिमा मनखप (वार्षिक धानबाली लिने समझौता) को कागज बनाई अवैध रूपमा बिक्री–वितरण गर्दै आएका छन् । रजिस्ट्रेसन पास नभए पनि लाखौंमूल्य पर्ने जग्गा हजारौंमा पाइने भएपछि, टाठा बाठाहरू यस्ता जग्गा खरिद गर्छन् ।


धनुषाका अनेकौं राजनीतिकर्मी, उपल्ला दर्जाका राष्ट्रसेवक, वकिल, डाक्टरआदि पेसाकर्मीले मन्दिरको यस्तो जग्गा हत्याएका छन् । केही भने घर बनाएरै बस्दै आएका छन् । लालपूर्जा, नक्सापास तथा वार्डको सिफारिस बिना यस्ता अबैध घरमा विजुली, खानेपानी, टेलिफोन लगायतका सुविधा नदिने नियम भए पनि सरोकारवाला निकायलाई प्रभावमा पारी उनीहरूले सबै सुविधा प्राप्त गरेका छन् ।


केही महन्तहरूले गुठी तथा स्थानीय प्रशासनको मिलिमतोमा बहुमूल्य जग्गाहरू स्वआर्जन महलमा दर्ता गराएका छन् । यस्तो स्वआर्जन महलको जग्गा भने सामान्य प्रक्रृया अपनाएर बिक्री गर्न सक्छन । लक्ष्मीनारायण मठ, मठिहानीका मान महन्त जगन्नाथ दास वैष्णव स्वआर्जनको नाममा सयौं कित्ता जग्गा बिक्री गरेका छन् ।

प्रकाशित : असार २४, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?