१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मदिराका सट्टा दूध खाऔँ तर कुलतमा नफसौँ : मन्त्री यादव 

अवधेशकुमार झा

राजविराज — उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मदिराको सट्टा दूध खान आग्रह गरेका छन् । सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयार विकास समितिको कार्यालयको बुधबार उद्घाटन गर्दै मन्त्री यादवले भने,‘मदिरा सट्टा दूध खाऔँ तर कुलतमा नफसौँ ।’ 

मदिराका सट्टा दूध खाऔँ तर कुलतमा नफसौँ : मन्त्री यादव 

पछिल्लो समय सप्तरी लगायत तराई मधेसका केही युवाहरू पथभ्रष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘साँझ पर्ने बित्तिकै कुलतमा फसेका युवाहरू बिना फिताकै बाटो नाप्छन्’ मदिरा सेवन गर्नेहरूप्रति लक्षित गर्दै मन्त्री यादवले भने, ‘मदिराको सट्टा दूध खाऔँ, कुलतमा नफसौ ।’ कुलतमा फस्दा शारीरिक दुर्बलता,मानसिक कमजोरी र आर्थिक क्षय समेत हुने भएकाले यसबाट टाढा रहन मन्त्री यादवले आग्रह गरे ।


मन्त्री यादवले विगतमा नेतृत्वमा रहेकाहरूको कमजोरी र गलत नीतिका कारण कारण प्रदेश नम्बर २ मा कुपोषण, मातृ तथा बाल मृत्युदर, शिक्षाको अवस्था निकै दयनीय बनेको आरोप लगाए । उनले प्रदेश २ मा शिक्षाको स्तर उकास्नु अत्यन्त जरुरी रहेको बताउँदै राम्रो शिक्षाका लागि मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपर्ने बताए । उनले सकारात्मक सोचको विकास भएमात्र परिवर्तन हुन सक्ने बताए ।


विकास र समृद्धिका लागि हरेक नेपालीले मानसिकतामा परिवर्तन ल्याउनुपर्ने मन्त्री यादवको भनाइ छ । उनले विकास, समृद्धि र सामाजिक परिवर्तनका लागि सामूहिक प्रयासको खाँचो औँल्याए । मन्त्री यादवले भने, ‘अब राजनीतिक दलका नेताहरूले एक अर्कालाई आरोप प्रत्यारोप गरेर, घोचपेच गरेर समय खेर फाल्नु भन्दापनि हातेमालो गरेर विकास र समृद्धिको पक्षमा अगाडी बढ्नुपर्छ ।’


‘एकअर्कालाई घोचपेच चुनावका बेला गरौँला’ उनले भने, ‘अबको राजनीति सामाजिक, आर्थिक रूपान्तरणका लागि गर्नुपर्ने आवश्यकता छ ।’

प्रकाशित : असार १८, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?