जग्गा विवादले विद्यालय तनावग्रस्त

शाहीमान राई

(जनकपुर) — वर्षौंदेखि विद्यालयले खेलमैदानका रूपमा भोगचलन गर्दै आएको जमिन जग्गाधनीले आफै उपभोग गर्ने भन्दै सीमास्तम्भ गाडेपछि विवाद चुलिएको छ । विद्यालय सञ्चालक समिति र जग्गाधनीबीच विवादले चुलिएको हो ।

धनुषाधाम नगरपालिका–९ धारापानीको मूलाबारी भिमानस्थित श्री माविले खेलमैदानको रूपमा उपभोग गर्दै आएको जमिन जग्गाधनी आफैले उपभोग गर्ने भन्दै नापी कार्यालयका सर्वेक्षकद्वारा नापजाँच गरी सीमास्तम्भ गाडेपछि विवादले भएको हो। धनुषाको बटेश्वर–३ की पशुपतिकुमारी लामाले नापी कार्यालयबाट खटिएका सर्वेक्षकद्वारा नापजाँच गरी सीमांकन गरेर सीमास्तम्भ गाडेपछि विद्यालय मैदान तनावग्रस्त बनेको छ । विद्यालयले दानमा पाएको भन्दै लामाको नाममा रहेको जग्गामा स्वामित्व दाबी गरेको छ ।

लामाले आफ्नो नाममा रहेको कित्ता नं ५८८ को ३ धुर, ५८९ को २ धुर, ५९० को २ धुर र ५९२ को ७ कठ्ठा २ धुर गरी सात कठ्ठा २ धुर जमिन उपभोग गर्ने अधिकार आफूहरूको भएकाले विद्यालयले सहज रूपमा छाड्नुपर्ने भन्दै जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा निवेदन दिएकी छन् । प्रशासनले सुरक्षाको व्यवस्था गरी नापीलाई सर्वेक्षक खटाई नापजाँच गराउन निर्देशन दिएअनुसार शनिबार सर्वेक्षक राजेन्द्रप्रसाद साह र धिरेन्द्र ठाकुरसहितको टोलीले नापजाँच गरी सिमाना छुट्याइदिएका थिए । सर्वेक्षकले देखाइदिएको सिमानामा गाडिएको सीमास्तम्भ स्थानीयवासीले केहीबेरमा उखेलिदिएका थिए ।

विद्यालय मैदान जग्गाधनीले उपभोग गर्ने भएपछि आइतबार विद्यार्थीले विरोधमा प्रदर्शन गरे । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण मण्डलले आफूलाई जानकारी नै नगराई प्रहरी प्रशासनको आडमा विद्यालयको खेलमैदान नापजाँच गरेको बताए । तर, नापी कार्यालय विद्यालय, वडा कार्यालय र धनुषाधाम नगरपालिका लगायत साँधसधियारलाई पत्र पठाएको नापी कार्यालय प्रमुख शत्रुघ्न यादवले जनाए । जिल्ला प्रशासनले समेत संविधानमा व्यक्तिको सम्पत्ति सुरक्षाको प्रत्याभूति दिएकाले नगरपालिकालाई आवश्यक समन्वय गरी जग्गाको खिचलो समाधान गर्न पटक पटक पत्राचार गरेको थियो । ०२० मा स्थापित विद्यालयले ०३३ मा दान स्वरूप पाएको जमिन नछाड्ने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मण्डलले बताए । उनले सोमबार प्रशासन , नापी कार्यालयको ध्यानाकर्षण गराएको जनाए । तर प्रशासनले जग्गा खिचलो मिलाउने काम स्थानीय तहका जनप्रतिनिधिको भएकाले स्थानीय तहमै जान सुझाव दिएको मण्डलले बताए । उनले उक्त जग्गा लामाकै मावली हजुरबुबा करनबहादुर स्याग्बोले दान स्वरुप प्रदान गरेको भर्पाइ सुरक्षित रहेको बताए । मण्डलका अनुसार करनबहादुरले ०३३ कात्तिक १३ मा भर्पाइ गरी कित्ता नं ६० को जमिन दानस्वरूप प्रदान गरेको कागज विद्यालयसित सुरक्षित छ ।

उक्त भर्पाइ कागजमा तत्कालीन सञ्चालक समितिको तर्फबाट साक्षीका रूपमा छे दोर्जे लामा र विषबहादुर कार्कीको औंठाछाप छ । तर, करनबहादुर आफ्नो हजुरबुबा नभएको र जग्गा दान गरेको समेत थाहा नभएको जग्गाधनि लामाले बताइन् । उक्त जग्गा दान प्राप्त गरेको दाबी गरे पनि विद्यालयसित लालपुर्जा छैन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मण्डलले विद्यालयसित लालपुर्जा नहुनु कमजोरी रहेको बताए । पूर्वपश्चिम राजमार्गमा पर्ने तत्कालीन यज्ञभूमी–९ का कर्णवीर स्याङ्बोले भोगचलन गर्दै आएको कित्ता नं ५८ मा १३ कठ्ठा ८ धुर, कित्ता नं ५९ मा एक विघा २ कठठा १२ धुर जमिन ०२३ को नापीमा आफ्नो नाममा नापजाँच गराएका थिए । त्यसमध्येबाट छोरी स्यामकुमारीलाई कित्ता नं ५८८, ५८९, ५९० र ५९२ पास गरिदिएका थिए । उक्त जग्गा स्यामकुमारीले समेत छोरी पशुपतिकुमारीको नाममा रजिस्ट्रेसन पास गरिदिएकी छन् । जग्गाको लालपुर्जा लामासित रहेको र मालपोत रकम समेत बर्षेनी तिर्दै आएकाले आफ्नो जग्गा विद्यालयले अतिक्रमण गरी संरचना निर्माण गरेको बताइन् । जग्गामा विद्यालयको खेलमैदान, दुई वटा शौचलाय, भान्छा घर र भण्डार कोठा छ । विद्यालयले ४५ बर्षदेखि उपभोग गर्दै आएकाले कुनै हालतमा पनि नछाड्ने विद्यालयका प्रधानाध्यापक प्रदीप सिंहले बताए ।

प्रकाशित : असार १८, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

रोकिएन भैंसी तस्करी

कान्तिपुर संवाददाता

अछाम — जिल्लाका ग्रामीण बस्तीमा पाइने रैथाने र गड्डी जातका भैंसी लोप हुने अवस्थामा पुगेका छन् । केही वर्षअघिसम्म प्रायः सबैका घर पालिने यी भैंसी अहिले लोपोन्मुख भएका छन् ।

सहरबाट भैंसी खरिद गर्न पुग्नेले विभिन्न प्रलोभन देखाएर बझाङबाट ठूलो संख्यामा भैंसी खरिद गरेपछि अहिले लोप हुने अवस्थामा पुगेका हुन् । पछिल्लो समय बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटीबाट दुहुना र ब्याउने भैंसीसमेत काट्नकै लागि तस्करी हुने क्रम बढेको छ । अछामबाट तुर्माखाँद गाउँपालिकाको जंगलघाट नाका हुँदै महिनामा दर्जनौं भैंसी सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत सहर पुगिरहेका छन् । ठूला होटल व्यवसायीले मासुबाट बन्ने परिकारका लागि भैंसी खोज्ने गरेकाले जिल्लामा लोप हुन लागेका हुन् ।

८ वर्षदेखि जिल्लाका भैंसी बाहिरिन थालेपछि प्रत्येक वर्ष हुने जिल्ला परिषदमा रोक्ने निर्णयसमेत हुने गरेको थियो । तत्कालीन अवस्थामा बाजुराबाट भैंसी लिन पाउने अनुमति लिएर ठेकेदारहरूले अछामका भैंसीसमेत लैजान थालेपछि जिल्लामा त्यसको विरोध भएको थियो । भैंसी तस्करीको आरोप केही ठेकेदारलाई लाग्दा उनीहरूले इजाजतपत्र लिएरै लैजान थालेका हुन् । दूध दिने भैंसी बाहिरिँदा जिल्लामा दूधजन्य पदार्थको मूल्य पनि बढेको छ । केही वर्षअघि १ केजी घिउको ३ सय पर्थ्यो भने अहिले ७ सय रुपैयाँसम्म पुगेको छ । ‘हामीले यताबाट १२ हजारदेखि २० हजार रुपैयाँमा भैंसी किन्छौं । फाइदा ठीकै हुन्छ,’ मंगलसैनमा भैंसी जम्मा पार्ने उदय भाटले भने ।

पहिले अधिकांशका घरमा भैंसी पालिन्थे । अहिले अवस्था फेरिएको छ । पालेका भैंसी न्यूनतम मूल्यमै बेचेर कामका लागि भारत जानेको संख्या भने घटेको छैन । ‘अहिलेका मान्छे सेवा सुविधाभोगी हुन थालेका छन् । आफ्नै ठाउँमा मिहिनत गर्नुभन्दा भारत जान ठीक मान्छन्,’ मंगलसैन ५ का खगेन्द्र ढुंगानाले भने । चुनावताका नेताहरूले स्वदेशमा रोजगारीको व्यवस्था गर्ने भन्दै लगाएका नाराले केही प्रभाव पार्न नसकेको उनी बताउँछन् । भन्छन्, ‘महिनैपिच्छे जिल्लाबाट भैंसी बाहिरिँदा सबै चुप रहनु दुखद हो ।’ जिल्लाबाट बाहिरिने भैंसी रोक्न स्थानीय तहलाई जिम्मेवार बनाउनतर्फ ध्यान दिने जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवरले बताए ।

प्रकाशित : असार १८, २०७६ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्