नक्कली नोटको अनुसन्धान फितलो

लक्ष्मी साह

बारा — प्रहरीले गत जेठ १६ मा हजार दरका १० नेपाली नक्कली नोटसहित रौतहट जिल्ला मौलापुर नगरपालिका–९, सोनरनियाँ घर भएका २७ वर्षीय शिवदयाल महतोलाई बाराको कोल्हवी नगरपालिका–२, झुरझुरेबाट पक्राउ गर्‍यो ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ बजारबाट कोल्हवी व्यापारिक बजार हुँदै घरतर्फ जाँदै गर्दा प्रहरीले जाँचका क्रममा उनलाई नोटसहित पक्राउ गरेको थियो । उनी ना९प ५४५२ नम्बरको बाइकसहित पक्राउ परेका हुन् । प्रहरीले उनीमाथि खोटा चलनअन्तर्गत मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो । अदालतले उनलाई मुद्दाको थप पुष्टिका लागि अनुसन्धान गर्नुपर्ने भन्दै थुनछेक आदेश गरेपछि उनी जेलमा छन् ।

‘प्रहरीले उक्त नक्कली रकम शिवदयालले कहाँबाट ल्याए ? कहिलेदेखि यो धन्दा गर्दैछन् ? भन्ने अनुसन्धानबाट खुलाउन सकेन,’ अपराध अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरबाट परिचालित सादा पोसाकका एक प्रहरी अधिकृतले भने, ‘तीन सातासम्म प्रहरी हिरासतमा रहेका शिवदयालले उक्त नक्कली नोटबारे न भित्री पोल खोले न अनुसन्धान अधिकृतले खुलाउन सके ।’

शिवदयालले प्रहरी समक्ष मेलामा लंगुरबुर्जा खेल्ने क्रममा आफूले उक्त नक्कली रकम हात पारेको बयान दिएका छन् । प्रहरी उनले दिएको बयानसम्म मात्र सीमित भएकाले आरोपितले नक्कली नोटको धन्दा गर्ने सञ्जालबारे बयानमा विस्तृत नबताएको ती अपराध अनुसन्धान अधिकारीको भनाइ छ ।

‘भित्री कुरा खुलाउन गहिरो अनुसन्धानतिर गएनन्,’ उनले भने, ‘सुराकीको सूचनाले पक्राउ गर्‍यो । मुद्दा चलायो, सक्कियो । योबाहेक थप अनुसन्धान नै गर्दैनन् ।’ यसैगरीे यो घटनाको पाँच दिनपछि जेठ २१ मा रौतहटको गरुडा प्रहरीले कटहरिया नगरपालिका–५ कटहरिया मुख्य बजारबाटै सोही नगरपालिका–७ वगहीका ६१ वर्षीय जियालाल महतो १ लाख नेपाली नक्कली नोटसहित पक्राउ परे ।

उनीसँगै कटहरिया नगरपालिकाको छिमेकी मौलापुर नगरपालिका–७ पिपरिया गाउँका ४० वर्षीय विहारी साह तेली १ लाख नेपाली नोटसितै सोही ठाउँबाट छुट्टाछुट्टै पक्राउ परे । दुवैले प्रहरीसमक्ष अरू अपरिचित व्यक्तिले नोट थमाएर गएको बयान दिएका छन् ।

तिनीहरूबाटसमेत प्रहरीले अनुसन्धानबाट नक्कली नोटको सञ्जालबारे खासै खुलाउन सकेको छैन । उनीहरूमाथि समेत खोटा चलन मुद्दा चलाइएको छ । प्रहरीले उनीहरूलाई सोमबार सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा पेस गरेको छ ।

बारा जिल्लामा पक्राउ परेका शिवदयाल र रौतहट जिल्लाको कटहरियामा पक्राउ परेका विहारी रौतहटको मौलापुर नगरपालिकाका हुन् । यसैगरी रौतहट कटहरिया बजारबाट पक्राउ परेका जियालाल मौलापुर नगरपालिकाको छिमेकी कटहरिया नगरपालिका निवासी हुन् ।

यसरी छुट्टाछुट्टै तीनवटा घटनामा प्रहरीले तीन जनालाई नक्कली नोटसहित पक्राउ गर्दा नक्कली नोटको छपाई र यसको सञ्जालबारे गहिरो अनुसन्धान गर्न सकेको छैन् । ‘नक्कली नोटबारे गहिरो अनुसन्धान गर्न खोज्यौं । तर थुप्रै तहबाट यो कारोबार हुने गरेकाले जरोसम्म पुग्न अप्ठयारो भयो,’ बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले भने, ‘यसबारे प्रहरीको विभिन्न अनुसन्धान टिमबाट थप अनुसन्धान भइरहेको छ ।’

केही समययतादेखि तराईका विभिन्न ठाउँमा नेपाली नक्कली नोट छ्याप्पछ्याप्ती पाइएको छ । केही वर्षअघि भारतीय नक्कली नोटको बजारमा बिगबिगी हुँदा भारत सरकारले नोटबन्दी गरेपछि भारतीय नक्कली नोट बरामदका घटना कम हुन थालेका छन् । तर, नेपाली नोट छुयाप्पछ्याप्ती पाइने गरेका छन् । मेला, हाटबजार र स्थानीय बजारमा नक्कली नोट पाइने गरिएको छ ।

प्रकाशित : असार १७, २०७६ ०९:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विवादबीच नगरसभा

शिव पुरी

रौतहट — ‘आर्थिक विकासतर्फ निःशुल्क बिउ, निःशुल्क पानी, खेतीमा मनग्य आम्दानी’ भने नारालाई विशेष जोड दिँदै मौलापुर नगरपालिकाको तेस्रो नगरसभा सुरु भएको छ । जिल्लाभरिका स्थानीयतहमा विवादबीच सभा सुरु भइरहेको छ ।

यो नगरपालिकामा भने यस वर्ष पनि समयमा नगरसभा सुरु गरिएको छ । जिल्लाका दस स्थानीयतहले नगरसभा सुरुगरेका छन् । आठ वटाले सुरसार गरेको छैनन् ।

नगरपालिकाका प्रशासकीय अधिकृत सिकेन्द्र साहले ०७६/७७ का लागि ३१ करोड, ६८ लाख ५७ हजारको बजेट सार्वजनिक गरेका छन् । प्रत्येक किसानलाई नगरपालिकाद्वारा बीउ र पानी उपलब्ध गराइने बजेटको प्राथमिकतामा राखिएको छ । त्यसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ शिक्षा तथा खेलकुद, प्रत्येक हातमा सीप, स्वास्थ्य, खानेपानी तथा सरसफाई अन्तर्गत एक घर एक चर्पी, स्वच्छ सहर हाम्रो नगर, मौलापुर नगर हरित सहर बनाउन विशेष जोड दिइएको नगरप्रमुख रिनाकुमारी साहले बताइन् ।

‘लैंगिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकासतर्फ सडक, पुललाई प्राथमिकतामा राखिएको छ,’ उनले भनिन, ‘सडक सञ्जालको विस्तार, समग्र नगर विकासको आधार सिँचाईतर्फ हर खेतमा सिंचाई, भवन तथा सहरी विकास, सञ्चार, ऊर्जा, वातावरण संरक्षण, संस्थागत विकास, सेवा प्रवाह, वितीय व्यवस्थापन र सुशासनलाई बजेटमा समावेस गरेका छौं ।’

जिल्लाको मौलापुर, गरुडा, चन्द्रपुर, गौर, राजपुर, परोहा, देवाही गोनाही, माधवनारायण नगरपालिका र यमुनामाई, दुर्गा भगवती गाउँपालिकाले पनि आव ०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेर योजना माथि छलफल अघि बढाएको छ । देबाहीमा चालु वर्ष र आगामी वर्षको एकै चोटी परिषद् गर्न लागेको छ ।

आगामी आवका लागि ३६ करोड बजेटसहित नगरसभा सुरु गरिएको मेयर धर्मेन्द्र पटेलले जानकारी दिए । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य रूपमा देशभरिका स्थानीयतहले तेस्रो नगरसभा सम्पन्न गरी सक्नुपर्ने परिपत्र गरेको छ । गौर, गरुडा र चन्द्रपुरले प्रदेशमा सबैभन्दा पहिलो नगरअधिवेशन गरेको छ ।

गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले ५५ करोड ५२ लाख ६७ हजार बजेट सहित नगरपालिकाको नगरसभा सुरु भएको जनाए । नेपाल सरकारद्वारा तोकिएको मापदण्डको परिधिभित्र रहेर जनताको आवश्यकता भएको स्थानमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका योजनालाई प्राथमिकतामा पारेको पन्थीले सुनाए । यो नगरपालिकामा अधिल्लो आवमा मेयर इन्दुराय र उपमेयर रंगीलादेवी जैसवाल बीच ठूलो विवाद थियो ।

अहिले सम्पन्न नगरसभामा दुवैबीच कुनै विवाद देखिएन । ‘युवाहरूलाई स्वरोजगार बनाउन, सीपविकास कार्यक्रम, बजार व्यवस्थापन लगायत प्रमुखताका साथ आपसी समझदारीका आधारमा जनहित बजेट तयार पारिएको अधिकृत पन्थीले सुनाए ।

परोहा नगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीमा विगत दुई वर्षमा निकै लगानी गरे पनि आउँदो वर्षमा कृषि, बेरोजगार युवाहरूलाई सिपमुलक तालिम, जेहन्दार एवं मेहनती विद्यार्थी, एमबीबीएसमा नेपाल सरकारबाट छात्रवृतिमा नाम निकालेलाई ३ लाख दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । इन्जिनियरिङमा २ लाख दिने लक्ष्यका साथ वर्ष ०७६/७७ को नगरअधिवेशन सम्पन्न भएको मेयर शेखवकिलले बताए ।

इशनाथ नगरपालिकामा असार १० गते नगरअधिवेशनमा उपस्थित भएका पालिका सदस्यमाआफ्नो बहुमत नपुग्ने भएपछि मेयर सन्तोष मेहता र निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले माइनुटबुक नै गायब गरेपछि सभा हुन नसकेको पालिकाको बोर्ड सदस्य गृषनन्दन सिंहले आरोप लगाए ।

यो नगरपालिकामा पनि मेयर महतो र उपमेयरबीच विवाद चर्को छ । एकले अर्कालाई आर्थिक अनियमितता गरेको आरोप लगाउँदै आएको छ । कटहरिया नगरपालिकाले नगरसभाको सुरसार नै गरेको छैन । मेयर सियाराम कुशवाहा र उपमेयर नुरजहा खातुनबीच यहाँ पनि विवाद छ ।

एकले अर्कालाई देखी सहँदैनन् । गुजरा नगरपालिकामा मेयर सन्तलाल चौधरी र उपमेर रौशना खातुन बीचको विवादले नगरसभा हुन सकेको छैन । चालु आर्थिक वर्षमा पनि यो नगरपालिकामा अन्तिम समयमा आएर परिषद सम्पन्न गरेको थियो । गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले मेयर अजय गुप्ताले नियम मिचेर नगरसभा सुरु गरेको भन्दै बहिष्कार गरिन् ।

उनको अनुपस्थितिमा मेयर गुप्ताले परिषद सम्पन्न भएको घोषणा गरे । पछि विवाद मिलाइएको थियो । राजदेवी नगरपालिमा मेयर धिरेन्द्र सिंहले एकलौटी गरेको भन्दै उपमेयर अन्सु सिंहले विरोध जनाउँदै आएकी छन् । उनले नगरसभा नहुनुमा मयेर सिंहको कमजोरी रहेको औल्याइन् ।

बौधीमाई, फतुवा विजयपुर, कटहरिया, गुजरा, वृन्दावन, गढीमाई, राजदेवी, इशनाथ नगरपालिकामा जनप्रतिनिधिबीचको विवादले १० गतेभित्र अधिवेशन हुन सकेन । यी नगरपालिकामा मेयर र उपमेयरबीच विवाद चर्किएको छ । नगरसभामा नगरपालिकाकोबजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिन्छ । त्यसपछि बन्दसत्रमा योजनाहरूका बारे व्यापक छलफल र संशोधन गरिन्छ । त्यसपछि मात्र आर्थिक वर्षको बजेट पास हुन्छ ।

प्रकाशित : असार १७, २०७६ ०९:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×