२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रमुख–उपप्रमुख विवादले जनता मारमा

सुनिता बराल

महोत्तरी — जनतालाई न्याय दिलाउने न्यायिक समिति संयोजक नै न्याय खोज्न अदालत धाउन थालेपछि जनताले न्याय खोज्न जाने ठाउँ नपाउँदा महोत्तरीको औरही नगरपालिकाका जनता मारमा परेका छन् ।

नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक रेणु झाले आफैँ अन्यायमा परेको दुखेसोसहित जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी छन् । विगत २ वर्षदेखि नगरपालिकाको हरेक गतिविधिमा आफूलाई सहभागी नगराएको र आफ्नो अधिकार खोसिएको भन्दै नगरपालिकाका मेयर सुनिल कुमार यादवको कार्यप्रति उपमेयर झा असन्तुष्ट बन्दै आएकी थिइन् ।


गत असार ७ गते शनिबार साँझ ७ बजेसम्म मेयर कार्यालयमा बसेर काम गर्दा कागजपत्र मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै राजपाका समर्थक तथा नेता कार्यकर्तासहित उपमेयर कार्यालयमा पुगेपछि सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किदै जाँदा कार्यालयमा तोडफोडसमेत भएको थियो । सोहि घटनामा उपमेयर झाले आफूमाथि मेयरले अभद्र व्यवहार गरेको भन्दै जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएकी छन् ।


यता नगरपालिकाका प्रमुख सुनिल कुमार यादवले भने नगरपालिकाका कामकाजमा उपप्रमुखको सहयोग र समर्थन नपाएकाले काम गर्न निकै समस्या भएको बताए । आफूले उपमेयरलाई कुनै दुर्व्यवहार नगरेको पनि मेयर यादवले स्पष्टीकरण दिँदै आएका छन् ।


आफ्नो नगरपालिकामा कर्मचारीको चरम अभाव रहेको बताउँदै मेयर यादवले आर्थिक वर्षको अन्त्यमा शनिबार पनि काम गर्नुपरेको बताए । भ्रष्टाचार गरेको कसैले भन्छ भने प्रमाण देखाए कारबाही भोग्न तयार रहेको यादब बताउँछन् । २ वर्षदेखि नगरपालिकामा मेयर र उपमेयर बीच कुरा नमिल्दा जनताका काम प्रभावित बन्दै आएको स्थानीय बताउँछन् । नगरपालिकामा लामो समयदेखि विवाद रहेकाले औरहीका जनता अन्यायमा परेका स्थानीय सरोज यादवले बताए ।


नगरपालिकाको न्यायिक समिति एक वर्ष अगाडि नै गठन गरिएको भए पनि नगरपालिकाले आवश्यक व्यवस्था नमिलाएका कारण अहिलेसम्म न्यायिक समितिले काम सुरु गरेको छैन । मुद्दा दर्ता गर्ने कर्मचारी, वकिल, अमिनलगायत आवश्यक प्राविधिक कुराका लागि पटक–पटक तागेता गर्दा पनि नगरप्रमुखले बेवास्था गरेपछि न्यायिक समितिले काम सुचारु गर्न नसकेको संयोजक तथा उपमेयर झाले बताइन् ।


न्यायको माग गर्दै निवेदन लिएर नगरपालिका पुग्ने नगरबासीलाई प्रहरी समक्ष र पञ्चायतीतर्फ फर्काउने गरेको औरही ५ का सिया साहाले बताए । ‘नगरको झगडाले नगरबासीमा निराशा छाएको छ स्थानीय श्रवण कुमारले भने, विवाद चर्किंदै गएपछि नगरपालिकाबाट सञ्चालन हुने योजना पनि अन्योलमा पर्ने होकि भन्ने चिन्ता नगरबासीमा थपिएको छ ।


नगर प्रमुख यादव र उपप्रमुख झा भने एकअर्कालाई नै दोषी देखाइरहेका छन् । प्रमुख यादव उपप्रमुखको सहयोग र समर्थन नपाएकाले काम गर्न समस्या भएको भन्दै उपप्रमुख नै विकासको बाधक बनेको बताउँछन् भने उपमेयर झा पनि प्रमुख यादवले आफूसँग कुनै पनि विकासे योजना का विषयमा छलफल सम्म नगरेकाले नगरभित्र भष्ट्राचार मौलाउदै गएको दाबी गर्दै आएकी छन् ।

प्रकाशित : असार १६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?