१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संस्कृत पढ्दै मुस्लिम

१ सय ७३ जना मात्रै रहेको याज्ञवल्क्य संस्कृत माविमा आधुनिक प्रविधिसहितको पठनपाठनपछि सबै वर्ग, जात र मुस्लिमका गरी ८ सयभन्दा बढी विद्यार्थी
श्यामसुन्दर शशि

जनकपुर — संस्कृत शिक्षणको १ सय १० वर्ष पुरानो इतिहास बोकेको जनकपुर ८ को याज्ञवल्क्य संस्कृत विद्यालयलाई २०७३ सालमा प्रविधि मैत्री बनाउँदा प्रधानाध्यापक संजयकुमार झा तथा तत्कालीन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अनेकौं आरोप खेप्नु पर्‍यो । 

संस्कृत पढ्दै मुस्लिम

तर, पछिल्लो चार वर्षको अभ्यासले व्यवस्थापन समितिको निर्णय सही सावित हुँदै गएको छ । विद्यार्थी संख्यामा उल्लेख्य वृद्धि भएको छ । संस्कृत शिक्षाप्रतिको रुचि पनि बढेको छ ।


प्रअ झाका अनुसार संस्कृत विद्यालय हुँदा बाहुन इतरका बालबालिका विद्यालय भर्ना हुन मानेका थिएनन् । प्राविधिक शिक्षा सुरु भएपछि दलित, जनजाति तथा मुस्लिम विद्यार्थी पनि संस्कृत पढन थालेका छन् । २०७२ सालमा विद्यालयमा कुल १ सय ७३, ०७३ मा ३ सय २०, ०७४ मा ४ सय ४३ तथा चालु शैक्षिक सत्रमा विद्यार्थी संख्या ८ सय नाघेको झाले बताए ।


विद्यार्थी नाकांकन गर्न ठूलै दबाब भए पनि न्यून शिक्षक दरबन्दी तथा भौतिक संरचनाका कारण थप विद्यार्थी भर्ना गर्न सकिएको छैन । एक वर्षअघि वैदिक महर्षी फाउन्डेसनले विद्यालयलाई एक संस्कृत शिक्षक उपलब्ध गराएको छ । आवासीय शिक्षकको अगुवाईमा विद्यालय परिसरभित्र दैनिक वेदपाठ, सन्ध्या वन्दन तथा रुद्राभिषेकआदि धार्मिक गतिविधि सञ्चालन गरिन्छ ।


विसं १९६६ सालदेखि जनकपुर ८ ज्ञानकूपमा सञ्चालित यस विद्यालयमा प्राविधिक विषय थपेपछि, पारम्परिक संस्कृत शिक्षा धाराशायी हुनेमा स्थानीयबासी चिन्तित थिए तर प्राविधिक विषयसँगै संस्कृत शिक्षालाई पनि निरन्तरता दिइएपछि उनीहरू आश्वस्त बनेका छन् ।


विद्यालयका पूर्वविद्यार्थी तथा साहित्यकार अवधेश पोख्रेल संस्कृत शिक्षालाई रोजगारीसँग नजोडिएकाले विद्यार्थी संख्यामा ह्रास आएको बताउँछन् । संस्कृत शिक्षासँगै प्राविधिक शिक्षा पनि दिनुलाई पोख्रेल सकारात्मक मान्छन् ।

प्रअ झाका अनुसार कक्षा १ देखि १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीले अनिवार्य संस्कृत पढ्छन् ।


‘तराई र पहाडका ६५ बाहुन बटुकहरूलाई संस्कृत शिक्षा दिन विद्यालय स्थापना गरिएको थियो । २०३३ सालमा साधारण तर्फको प्राथमिक विद्यालय सञ्चालन गरेपछि थोर बहुत विद्यार्थी बढे । प्राविधिक शिक्षा सुरु गरेपछि विद्यार्थी संख्या हातै बढेको छ,’ प्रअ झाले भने ।


स्थापनाकालदेखि नै वेद, व्याकरण, न्याय, दर्शन, साहित्य, ज्योतिषआदि विषयको अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयको स्थापना भने तीन फरक–फरक धारका असंगठित विद्यालयलाई समायोजन गरेर मौनी बाबाले गराएका थिए । मौनी बाबा आधुनिक जनकपुरका निर्मातामध्येका एक थिए ।


उनले तत्कालीन समयमा झुलाघरमा सञ्चालित राष्ट्रिय संस्कृत पाठशाला, ब्रहमचारी आश्रममा सञ्चालित वेदवेदान्त विद्यालय तथा विस १८८५ सालदेखि नै जनकमन्दिरमा सञ्चालित कर्मकाण्ड विद्यालय एउटै छातामुनि ल्याएर याज्ञवल्क्य संस्कृत मावि स्थापना गरेका थिए ।


स्थापना कालदेखि नै राष्ट्रिय संस्कृत विद्यालयका ५४ तथा वेदवेदान्त पाठशालाका ११ गरी कुल ६५ बटुकलाई आवासीय शिक्षा दिने प्रावधान छ । आवासीय शिक्षा भने तराई र पहाडीमूलका बाहुन बटुकलाई मात्र दिने गरिन्छ ।


पूर्वमा आचार्य (प्रवीणता प्रमाणपत्र) सम्मको पठन पाठन हुँदै आएको याज्ञवल्क्य संस्कृत विद्यालयलाई तत्कालीन राजा महेन्द्रले मध्यमा (माध्यमिक) स्तरमा झारेको स्मरण प्रअ झाले सुनाए । २०१९ सालमा जनकपुर भ्रमणमा आएका महेन्द्रमाथि जानकी मन्दिर परिसरमा बम प्रहार गरिएको थियो ।


महेन्द्रले आफूमाथि बम प्रहार गर्नेहरू याज्ञवल्क्य संस्कृत विद्यालयका छात्र भएको आशंकामा आर्चायको पठन–पाठन महोत्तरीको मटिहानी सारेको उनले जानकारी दिए । ‘अहिले पनि मटिहानी संस्कृत महाविद्यालयको नामको अगाडि याज्ञवल्क्य जोडिएको देख्नु हुन्छ ।


जनकपुरको आचार्यको पढाई मटिहानी सारिएपछि यहाँ मध्यमासम्मको अध्ययन अध्यापन मात्र हुन्छ,’ झाले भने । यद्यपि पछिल्लो सत्रदेखि याज्ञवल्क्य संस्कृत विद्यालयले मानविकी संकायमा प्लस टुको अध्ययन अध्यापन पनि सुरु गरेको झाले जानकारी दिए ।


स्थानीयवासीका अनुसार हाल याज्ञवल्क्य संस्कृत मावि रहेको ज्ञानकूपमा सीता पढेकी थिईन् । याज्ञवल्क्य यसै भूमिमा बसेर शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखा लेखेका हुन् । मैत्रेयी, गार्गीलगायतका विद्वान विदुषीको साधना स्थल पनि यही हो ।


प्रअ झाका अनुसार याज्ञवल्क्य संस्कृत माविमा पनि साधारण विद्यालय जस्तै ८ सय पूर्णाङ्कको पढाई हुन्छ । माध्यमिक तहका विद्यार्थीले नेपाली, अंग्रेजी, गणित, विज्ञान , सामाजिक शिक्षा र संस्कृत साहित्य अनिवार्य विषयका रूपमा पढनु पर्छ भने ऐच्छिक विषयका रूपमा ज्योतिष, साहित्य र व्याकरणमध्ये एक विषय रोज्न पाउँछन् । थप ऐच्छिक विषयमा भने कर्मकाण्ड र कम्युटरमध्ये एक रोज्न पाउँछन् । खासमा छात्राले कप्युटर विषय रोज्ने गरेका छन् ।

प्रकाशित : असार १५, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?