१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कुटेरै हत्या

अवधेशकुमार झा

राजविराज — युवाहरूको एक समूहले सप्तरी सदरमुकाम राजविराजमा एक युवकलाई कुटेरै हत्या गरेका छन् । तिरहुत गाउँपालिका ३ पिपराहीका २५ वर्षीय जयकृष्ण विराजी यादवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भावेश रिमालका अनुसार राजविराज ७ मा केही व्यक्तिले मंगलबार राति उनलाई राजविराज ७ मा निर्घात कुटपिट गरेका थिए । 

‘बासको भाटा, रड लगायत वस्तुले प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी रिमालले बताए । कुटपिटबाट गम्भीर घाइते भएका विराजीलाई प्रहरीले उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याएको थियो । त्यहाँ उपचार हुन सम्भव नभएपछि थप उपचारका लागि नावेल अस्पताल विराटनगर लगिएकोमा बुधबार दिउँसो उनको मृत्यु भएको थियो ।


‘८–१० जनाको समूहमा रहेकाहरूले उनलाई कटेरै मारेका हुन्’ डीएसपी रिमालले भने, ‘कुटपिटका कारण भने अझैसम्म स्पष्ट हुन सकेको छैन ।’ जयकृष्णको मृत्युपछि आक्रोसित उनका आफन्तहरूले बुधबारै साँझ आरोपीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा गर्न गए पनि दर्ता नगरेको भन्दै आफन्त तथा स्थानीयले बिहीबार शवसहित प्रदर्शन गर्दे जिल्ला प्रशासन कार्यालय अगाडि शवसहित प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूका कारण बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनकारीले आरोपी पक्राउ गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए ।


जिल्ला प्रहरी कार्यालय सप्तरीले भने बिहीबार प्रदर्शन चलिरहेका बखत कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गरेको छ । ‘जाहेरी दर्ता नगर्ने कुनै मनसाय होइन, प्रक्रिया नमिलेर एक दिन ढिलो मात्र भएको हो,’ डिएसपी रिमालले भने, ‘बुधबार दिउँसो विराटनगरमा उपचारको क्रममा मृत्यु भईसकेपछि पोष्टमार्टम नभएको तथा मोरङ प्रहरीसित समन्वय गरी मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले जाहेरी दर्ता हुन नसकेको हो ।’ ‘कर्तव्य ज्यानको मुद्दा नचलाई हुन्छ र ?’ डीएसपी रिमालले भने । जाहेरी दर्तापछि उनको शव अन्तिम संस्कार गर्न लगेका थिए ।


हत्यामा संलग्नहरूको पहिचान भइसकेकाले उनीहरूको खोजी तिब्र बनाइएको डिएसपी रिमालले बताए । स्थानीय बासिदाले भने, जयकृष्णको हत्यामा भने प्रेम सम्बन्धको विषय कारण रहेको बताएका छन् । यद्यपि प्रहरीले भने अझै कारण स्पष्ट भई नसकेको बताएको छ ।


हत्या गरिएका विराजी राजविराजस्थित पिसजोन स्कुलका छात्रावास प्रमुख थिए भने सोही विद्यालयमा अध्यापनको काम समेत गर्दै आएका थिए ।


६ महिनामा तीन घटना

कुटपिटबाटै हत्या गरिएको यो घटना पछिल्लो ६ महिनामा तेस्रो हो । यसअघि राजविराज नगरपालिका १ का युवा प्रेम यादवको केही युवाको समूहले धारिलो हतियार प्रहार गरेर राजविराजमा हत्या गरेका थिए ।


यसै गरी तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालयमा रात्रिकालीन सुरक्षा गार्डका रूपमा कार्यरत परसुराम मिश्रलाई समेत कुटेर तथा फलामले हानेर हत्या गरिएको थियो । ती हत्या काण्डमा प्रहरीले भने केही आरोपीहरूलाई पक्राउ गरिसकेको छ ।


महिलाको हत्या

सर्लाही– सदरमुकाम मलंगवामा बिहीबार एक महिलाको हत्या भएको छ । मलंगवा नगरपालिका ९, स्थित सर्लाही आँखा केन्द्रका चिकित्सक दिपेन्द्र रजकको श्रीमती २७ वर्षीय सुप्रिया भारतीको हत्या गरिएको हो ।


अस्पतालको दोस्रो तल्लामा रहेको निवासमा बस्दै आएका रौतहट जिल्ला यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीका रजककी पत्नी भारतीको हत्या भएको प्रहरीले जनाएको छ । अस्पतालमै अप्टिकल अस्टिेन्टका रूपमा काम गर्दै आएका ३० वर्षीय अमित बैठा निवासमा गई भारतीको टाउकोमा हतौडा प्रहार गरेका थिए ।


टाउकोमा गहिरो चोट लागेको भारतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैठाले भारतीसँगै ४ वर्षीय छोरा दिवसकुमार रजकको टाउकोमा समेत प्रहार गरेको छ । बालक दिवसको टाउँकोमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि वीरगन्ज रिफर गरिएको छ ।


नातामा आफन्त पर्ने रौतहटका बौधिमाई नगरपालिका सरमुजबाका बैठा घटना पछि फरार छन् । उनको खोजी भइरहेको उपरीक्षक प्रतीत सिंह राठौरले बताए ।

प्रकाशित : असार १३, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?