१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नगरसभा : पूर्वाधार विकासमै जोड

सडक, नाला र विद्यालय निर्माणलाई विगतजस्तै प्राथमिकतामा राखेर स्थानीय तहले बजेट ल्याएका छन्
पवन यादव

सिमरा — जिल्लाका स्थानीय तहले प्रस्तुत गरेको बजेट सिलिङमा पूर्वाधार विकासमा जोड दिएका छन् । ०७६/०७७ का लागि पनि नगरसभामा पुरानै ढर्रा र शैलीमा बजेट प्रस्तुत गरिएको देखिएको छ ।

नगरसभा : पूर्वाधार विकासमै जोड

पूर्वाधार विकासमा पछाडि परेको नगर क्षेत्रको सडक, नाला, विद्यालयको भौतिक संरचना निर्माण लगायतका लागि ठूलो परिमाणमा बजेट छुट्याइएको छ । जितपुरसिमरा उपमहानगरपालिकाले यस वर्ष झन्डै १ अर्ब २९ करोड रुपैयाँको अनुमानित आयब्यय प्रस्तुत गरेको छ ।


उपमहानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख सरस्वती चौधरीले चालु र पुँजीगत तर्फ गरी १ अर्ब २८ करोड ८५ लाख ६६ हजारको बजेट प्रस्तुत गरिन् । बजेटअनुसार चालु खर्चतर्फ १६ करोड ९५ लाख र पुँजीगत खर्च तर्फ एक अर्ब ८९ करोड ६६ हजार रुपैयाँको बजेट तयार पारिएको छ ।


यसमा पूर्वाधार विकासतर्फ १३ करोड २९ लाख, सामाजिक विकासतर्फ ७ करोड ९८ लाख, आर्थिक विकासतर्फ ४ करोड ५१ लाख ५० हजार, सुशासन तथा सेवा प्रवाहतर्फ १ करोड ४३ लाख ५० हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ४० लाख, भूमि व्यवस्थापनतर्फ १ करोड, बाटो मर्मततर्फ १ करोड रकम विनियोजन गरिएको छ ।


उपप्रमुख चौधरीले प्रस्तावित योजना तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने बताइन् । यस वर्ष पनि सडक सञ्जाल र शिक्षालाई प्राथमिकतामा जोड दिइएको जितपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख कृष्ण पौडेल बताए । बहुआयामिक विकासको पहिलो प्राथमिकतामा रहेको सडकलाई फराकिलो बनाउने र स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखिएको उनले जिकिर गरे ।


त्यस्तै निजगढ नगरपालिकाले नगरसभाबाट ०७६/०७७ का लागि ७६ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चौथो नगर सभामा निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछाने खनालले गरपालिकाको बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय सरकारबाट ५६ करोड १४ ला, प्रदेश सरकारबाट ४ करोड ३३ लाख ४० हजार, मालपोत रजिस्ट्रेसनबाट १ करोड ५० लाख र आन्तरिक आयबाट ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन् ।


प्रस्तुत बजेटमा पूर्वाधार विकास तर्फ १५ करोड ८८ लाख, आर्थिक विकासतर्फ ३ करोड १६ लाख, सामाजिक विकास तर्फ ४ करोड १७ लाख, विपद व्यवस्थापन तर्फ १ करोड र संस्थागत विकास तर्फ २ करोड १५ लाख र चालु खर्च तर्फ ११ करोड ५० लाख ४० हजारको बजेट विनियोजन गरिएको जनाइएको छ ।


कृषि र पर्यटनका लागि सडक सञ्जाल अतिमहत्त्वपूर्ण रहेकाले यसपालि पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेशकुमार खनालले बताए । ‘पर्यटनको प्रचुर सम्भावना हामी कहाँ छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धन गर्न नगरपालिका लागेको छ ।’ त्यसैले नगरसभाबाट पर्यटनमा सघाउ पुर्‍याउने पूर्वाधार विकासलाई जोड दिइएको उनले जानकारी दिए । त्यस्तै कलैया उपमहानगरपालिकाले ०७६/०७७ का लागि १ अर्ब २० करोड ६४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।


नगरसभामा बजेट प्रस्तुतीकरण गर्नु अगाडि उपप्रमुख रहिमा खातुन सहित केही वडाध्यक्ष, कार्यपालिका सदस्यले असन्तुष्टि जनाउँदै नगरसभाबाट बाहिरिएका थिए ।


उदघाटन सत्र सकेर उनीहरू नगरसभाबाट बाहिरिएपछि नगर सभा हाललाई स्थगित गर्नु परेको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेलवासेले बताए । ‘नगरसभा उदघाटन भइसकेको छ,’ उनले भने, ‘प्रस्तुत बजेटलाई क्रमशः छलफलमा लगेर २५ गते सम्म नगरसभा टुंग्याइन्छ ।’ स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार कोरम पुर्‍याएर प्रस्तुत बजेट पारित गरिने उनले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?