२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

घाइतेको उपचारमा प्रदेश सरकारको सहयोग

पर्सा — मधेस आन्दोलनका घाइते वीरगन्ज– २८ बगहीका ३३ वर्षीय मुन्सी राउतको थप उपचारका लागि प्रदेश–२ सरकारले ५० हजार रुपैया सहयोग गरेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा मंगलबार सहयोग रकमको चेक राउतकी पत्नी शान्ति देवीलाई हस्तान्तरण गरियो । 

प्रदेशसभा सदस्यद्वय प्रल्हाद गिरी, जन्नत अन्सारी, जिसस पर्साका सभापति नेकमहम्मद अन्सारीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए । मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादव, समाजवादी पार्टी नेपालका नेता रामनरेश यादव, सुन्दर कुर्मी, सामाजिक अभियन्ता प्रकाश थारुसमेतको सहभागिता थियो । शान्तिले सहयोगबाट राजधानीको ट्रमा सेन्टरमा उपचारार्थ पतिको उपचारमा ठूलो मद्दत मिल्ने बताइन् । बिहीबार राउतलाई थप उपचारका लागि वीरगन्जबाट राजधानी लगिएको हो ।


मुख्यमन्त्रीका स्वकीय सचिव यादवले राउतलाई थप उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले गरेको र त्यसै अनुसार रकम परिवारलाई उपलब्ध गराइएको बताए । सोमबार राजधानीको ट्रमा सेन्टरमा पुगेर मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले बताए ।


शान्तिले हाल राउतको स्वास्थ्य सुधारोन्मुख रहे पनि घाउ भने अझै निको भइनसकेको बताइन् । मलद्वार नजिक पुठ्ठामा भएको घाउ बल्झिएर सिकिस्त भएपछि राउतलाई उपचारार्थ जेठ २६ मा वीरगन्जको एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट जेठ २८ मा थप उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा लामो समय भर्ना गरी उपचार गर्दा पनि घाउ निको नभएपछि उनलाई राजधानीको ट्रमा सेन्टरमा उपचारार्थ पठाइएको हो ।


२०७२ असोज ३ मा मुलुकले पहिलो गणतान्त्रिक संविधान पाएको ऐतिहासिक दिनमै राउतलाई वीरगन्जमा गोली लागेको थियो । त्यस दिन तत्कालिन मधेसी मोर्चाको आह्वानमा संविधानको विरोध गर्दै मधेस आन्दोलनमा उनी होमिएका थिए । वीरगन्जको गीता मन्दिर रोडमा प्रहरीले चलाएको गोली उनको मेरुदण्डमा लागेको थियो ।


राजधानीमा सुरुमा वीर अनि जनगालको अर्थोपेडिक अस्पताल र त्यसपछि सुष्मा कोइराला मेमोरियल अस्पतालमा गरी त्यहा उनको ६ महिना उपचार भएको थियो । मधेसी मोर्चाले उनको उपचारमा करीब १ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्‍यो । उनी हाल आधा शरिर नचल्ने स्पाइनल कर्ड इन्जुरीको पीडा भोगेर बाँचिरहेका छन् । उनको कम्मरमुनिको भाग चल्दैन । दिसापिसाब चुहिएको भेउ पाउँदैनन् । हात चल्छ तर खुट्टा चल्दैन ।

प्रकाशित : असार ११, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?